नेपाल भ्रमण वर्ष सफल पार्न काठमाडौँमा त्रिदेशीय पर्यटन मेला आयोजना गरिँदै

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिएसँगै पर्यटन प्रवद्र्धनका गतिविधि बढेका छन् । तीन महिनापछि शुरु हुने भ्रमण वर्षलाई लक्षित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटकीय गतिविधि भइरहेका छन् । अभियानलाई प्रभावकारी बनाउन सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायी लागिपरेका छन् । मुलुकको समग्र पर्यटन प्रवद्र्धनको जिम्मेवारी लिएको नेपाल पर्यटन बोर्डले पनि आफ्नो भूमिकालाई पूर्ण क्षमताका साथ प्रयोग गर्दै निजी क्षेत्रको साझेदारीलाई फराकिलो बनाएर प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिरहेको छ । भ्रमण वर्ष सचिवालयले आफ्ना पर्यटकीय गतिविधि र सरोकारवाला निकायसँगको साझेदारी अभिवृद्धि गर्दै पर्यटन प्रवद्र्धनमा जुटेको छ । स्वदेशमा मात्र नभई विदेशमा पनि भ्रमण वर्षको प्रचार प्रसारले तीब्रता पाएको छ । बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायत मुलुकमा नेपालका पर्यटकीय गन्तव्य झल्कने प्रचारात्मक सामग्रीका साथ प्रवद्र्धन गरिएको छ । हालै बेलायतको लण्डनमा ‘बस ब्राण्डिङ’ गरिएको छ । छिट्टै चीनको बेइजिङ र साङ्घाई तथा अष्ट्रेलियालगायत गन्तव्यमा पनि त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रम गरिने बोर्डका बजार प्रबन्धक श्रद्धा श्रेष्ठले जानकारी दिएका छन् । भ्रमण वर्षलाई लक्ष्य गर्दै काठमाडौँमा त्रिदेशीय पर्यटन मेला नेपाल–इण्डिया–चाइना एक्स्पो (नाइस) आयोजना गरिँदैछ । भ्रमण वर्ष सचिवालय र बोर्डको सहयोग र समन्वयमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नाइस कार्यक्रम आयोजना गर्न लागेको हो । झण्डै एक हजार विदेशी पाहुनालाई एउटै मञ्चमा जम्मा गरेर नेपालको पर्यटन प्रवद्र्धन गरिनेछ । नेपालको सबैभन्दा ठूलो स्रोत बजारका रुपमा रहेका दुई छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले बताए । “हामी दुई ठूला पर्यटकीय स्रोत बजार (भारत र चीन) को बीचमा छौंँ, यसलाई मात्र उपयोग गर्न सक्ने हो भने हामी पर्यटकीय लक्ष्य भेटाउन मुस्किल पर्ने छैन, त्यसैले भारत र चीन लक्षित प्रवद्र्धनका कामलाई प्रभावकारी रुपमा अघि बढाउँदैछौँ”, उनले भने । नाइस एक्स्पो आगामी फागुन ९ देखि १२ गतेसम्म (फेब्रुअरी २१ देखि २४ तारिख) आयोजना हुनेछ । एक्स्पोमा २०० भन्दा बढी क्रेताले भाग लिने जनाइएको छ । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार एक सय बिक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, १५ विज्ञ वक्तालाई आमन्त्रण गरिनेछ । एक्स्पोमा नेपाल, भारत र चीनका एयरलाइन्स, होटल/रिसोर्ट, पर्यटक यातायात, ट्राभल, टूर, बैंक तथा वित्तीय संस्थालगायत पर्यटनसँग सम्बन्धित कम्पनीले सहभागिता जनाउनेछन् । सरकारले नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । मुख्य ठूला पर्यटकीय स्रोत बजार चीन र भारत लक्षित प्रवद्र्धनका गतिविधि अघि बढाइएको छ । ती मुलुकबाट केही प्रतिशत मात्र पर्यटकलाई नेपालमा आकर्षण गर्न सके लक्षित पर्यटकीय आँकडा भेट्टाउन समस्या नहुने पर्यटन व्यवसायीको धारणा छ । संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घको सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार विश्वमा एक अर्ब ३२ करोड ३० लाख पर्यटक पुगेका छन् । तीमध्ये सबैभन्दा धेरै चिनियाँ पर्यटक छन् । सन् २०१८ मा एक करोड ५० लाख चिनियाँ नागरिक विश्व भ्रमणमा निस्केका छन् । त्यस्तै भारतबाट पनि ठूलो संख्यामा पर्यटक घुम्न जाने गरेका छन् । नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ नै छन् । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त अवधिमा भारतबाट दुई लाख ४३८ भारतीय पर्यटक नेपाल आएका छन् भने चीनबाट एक लाख ५३ हजार ६०२ पर्यटकले नेपाल घुमेका छन् । सन् २०१७ मा क्रमशः भारतबाट एक लाख ६० हजार २८३ र चीनबाट एक लाख चार हजार ६६४ नेपाल आएका थिए । भ्रमण वर्षकै सन्दर्भमा आगामी नोभेम्बरमा चीन र भारतमा बेग्लाबेग्लै नेपाल प्रदर्शनी गर्ने भ्रमण वर्ष सचिवालयको तयारी छ । छिमेकी मुलुकबाहेक अन्य सम्भावित स्रोत बजारमा पनि प्रवद्र्धनात्मक गतिविधि गरिने बताइएको छ । बौद्ध धर्मावलम्बीलाई ध्यान दिँदै म्यानमा, कम्बोडियालगायत देशबाट पर्यटक आकर्षण गर्ने कार्ययोजना रहेको छ ।

ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

रियाद । साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणपछि आगलागी भएको थियो । बिहानै लागेको दुवै आगलागी हाल नियन्त्रणमा आइसकेका सरकारी समाचारमाध्यमले बताएका छन् । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर विगतमा भएका यस्ता आक्रमणका लागि इरान निकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाउने गरेको थियो । आगलागीबाट कति क्षति भयाे भन्ने तथ्यांक आउन समय लाग्ने स्राेतले जनाएकाे छ ।  स्थानीय समयानुसार बिहान ४ बजे सुरक्षा टोलीहरूले दुई तेल स्थलहरूमा ड्रोनका कारण शुरू भएको आगो निभाउने प्रयास शुरू गरेका सरकारी साउदी प्रेस एजेन्सीले जनाएको छ । रासस/सिन्ह्वा

चीनद्वारा केही अमेरिकी सामानमा कर छुट, वार्ताको वातावरण बनाउने प्रयास

बेइजिङ । चीनले अमेरिकासँग चाँडै गर्न लागेको व्यापार वार्ताअघि १६ किसिमका अमेरिकी सामानमा लगाइरहेको करमा छुट गरेको घोषणा गरेको छ । दुबै देशबीच अर्को महिना व्यापार वार्ता हुँदैछ । यी कर छुटहरु आगामी सेप्टेम्बर १७ देखि लागू हुने चीनको भन्सार आयोगले जनाएको छ । छुट हुने वस्तुको सूचीमा सामुद्रिक खाद्य सामग्रीहरु र क्यान्सर प्रतिरोधी औषधिहरु समेत रहेका छन् । यो कर छुट एक वर्षसम्म कायम हुनेछ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सर्वाधिक चासोका रुपमा रहेको अमेरिकी सोयाबिन र सुँगुरको मासुको आयातमा लागेका करहरु यथावत छन् । भन्सार विभागले बुधबार जारी गरेको विज्ञप्तिमा अरु अमेरिकी सामानमा कर छुट गर्दै जाने जनाइएको छ । दुबै देशबीच एक वर्षभन्दा बढी समयदेखि जारी व्यापार वार्तामा सहमति नभएपछि दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व व्यापार र विश्व अर्थतन्त्रमै प्रभाव सिर्जना गरिरहेको यस व्यापार युद्धले विश्व बजारमा त्रासको वातावरण सिर्जना गरेको छ । चीनसँग व्यापार सम्झौता हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गतसाता सन् २०१९ को अन्त्यसम्ममा सबै चिनियाँ सामानमा कर वृद्धि गर्ने घोषणा गर्नुभएको थियो । अमेरिकातर्फ निकासी हुने कूल ५४० अर्ब बराबरका चिनियाँ सामानमा यसै वर्षको अन्त्यसम्ममा कर वृद्धि हुनेछ । ट्रम्पको घोषणापछि बेइजिङले पनि अमेरिकी सामानमा कर वृद्धि गरेको थियो । सेप्टेम्बर १ देखि लागू हुनेगरी चीनले ७५ अर्ब अमेरिकी डलर बराबरका अमेरिकी सामानमा कर बढाउने घोषणा गरेको थियो । सयौं अमेरिकी कम्पनी र व्यावसायिक समूहहरुले नयाँ कर घोषणा नगर्न राष्ट्रपति ट्रम्पसमक्ष आग्रह गरेका थिए । उनीहरुको विचारमा कर वृद्धिले रोजगारी गुम्ने र उपभोक्ताले खरीद गर्ने सामान महंगो हुने भन्दै चिन्ता व्यक्त गरेका थिए । तर राष्ट्रपति ट्रम्पले अमेरिकामा चुनावी प्रचारका क्रममा सामानको मूल्य बढ्छ भनेर चिन्ता गर्ने अमेरिकी कम्पनी र व्यवसायीमा दृष्टिदोष रहेको बताउनुभएको थियो । “राम्रोसँग नचलेका र कमजोर कम्पनीले मात्र यस्ता कुरा गरिरहेका छन् । उनीहरुको व्यवस्थापन पनि कमजोर छ ।” चिनियाँ सामानमा कर वृद्धि गर्ने मिति सार्न गरिएको आग्रहलाई बेवास्ता गर्दै राष्ट्रपति ट्रम्पले कर वृद्धिसँगै चीनसँग वार्ता पनि हुँदै जाने बताएका छन् । “हामीले चीनसँग कुराकानी गरिरहेका छौं । वार्ताका लागि मिति तोकिएको छ । एक अर्काबीच फोनमा संवाद भएका छन् । मेरो विचारमा सेप्टेम्बरमा वार्ता हुनेछ । वार्ताहरु रद्द भएका छैनन् । हेरौं के हुन्छ ।” राष्ट्रपतिले चीनसँग व्यापार युद्ध मार्च २०१८ मा आरम्भ गरेका थिए । उनले चीनमाथि अस्वस्थ व्यापार रोक्न, अमेरिकी कम्पनीबाट जबर्जस्ती प्रविधि हस्तान्तरण गर्ने प्रावधान हटाउन तथा चिनियाँ कम्पनीलाई सरकारले दिने सरकारी अनुदान रोक्न दबाब दिइरहेका छन् । चिनियाँ पक्षले व्यापार वार्ता सकारात्मक रुपमा अघि बढेको भने पनि कुनै सम्झौता भएको छैन । दुबै मुलुकले एकअर्का देशका सामानमा करवृद्धि गरेपछि व्यापार वार्ता अबरुद्ध भइरहेको छ । फ्रान्सको बियारिजमा सम्पन्न सात औद्योगिक राष्ट्रहरुको सम्मेलनमा सहभागी हुनुभएका राष्ट्रपति ट्रम्पले “चीनबाट फोन आयो, र उनीहरुको भनाइ वार्ताको टेबलमा बसौं भन्ने छ । त्यही भएर हामी पनि वार्तामा बस्न राजी भएका हौं” भनेका छन् । राष्ट्रपति ट्रम्पले चिनियाँ अधिकारीका भनाइ निकै सकारात्मक रहेका र उनीहरु कुनै सम्झौता गर्न तत्पर रहेको देखिएको बताएका छन् । दुबै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको अध्ययनहरुले देखाएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्षको अगस्टमा चीनमा अमेरिकी सामानको आयातमा २२ प्रतिशतले कमी आएको छ । चिनियाँ भन्सारका अनुसार संयुक्तराज्य अमेरिकातर्फको निकासी पनि १६ प्रतिशतले घटेको छ । गत अगस्ट महिनामा करिब ४४ अर्ब अमेरिकी डलर बराबरका सामान मात्र अमेरिकातर्फ निकासी भएको छ । रासस/एएफपी