चिनियाँ विदेशमन्त्री स्वदेश प्रस्थान
काठमाडौं । चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले बिदाइ गरेका हुन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बेग्लाबेग्लै भेटेर समसामयिक राजनीतिक परिस्थितिबारे विचार विमर्श गरेका थिए । त्यसअघि दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । मन्त्री ज्ञवालीले विदेशमन्त्री वाङको सम्मानमा रात्रिभोजको आयोजना पनि गरेका थिए । रासस
निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट बाहिरिँदै
योकोहामा, जापान । विश्व प्रसिद्ध जापानी कम्पनी निस्सानका प्रमुख कार्यकारी अधिकृत कार्लोस सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि कम्पनीको नेतृत्वमा रहेका साइकावालाई पनि कम्पनीको पदबाट हटेर कम्पनीलाई सहयोग गर्न अनुरोध गरेको हो । “सञ्चालक समितिको बैठकमा भएको व्यापक छलफलपछि समितिले साइकावालाई कार्यकारी प्रमुखबाट हट्न अनुरोध गरेको र प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको छ,” निस्सानको सञ्चालक समितिका अध्यक्ष यासुसी किमुराले पत्रकारहरूलाई बताए । रासस/एएफपी
नेपाललाई ११ अर्ब ४० करोड अनुदान सहायता
काठमाडौं । प्रदेश तथा स्थानीय शासकीय सहयोग कार्यक्रम (पिएलजिएसपी) कार्यान्वयन गर्न नेपालको विकासका साझेदारले संयुक्त रूपमा रु ११ अर्ब ४० करोड अनुदान सहायता उपलव्ध गराउने भएका छन् । युरोपेली सङ्घ, बेलायत, नर्वे र स्विट्जरल्याण्डले व्यावहारिक, दिगो, समावेशी र उत्तरदायी प्रान्तीय एवं स्थानीय शासन व्यवस्था सुनिश्चित गर्न चार वर्षका लागि उक्त रकम अनुदानस्वरुप उपलब्ध गराएका हुन् । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि बेलायतको सहयोग नियोग (डिएफआइडी)का स्थायी सचिव म्याथ्यु जन रे क्रफ्ट, नेपालका लागि नर्वे र स्विटजरल्याण्डका राजदूतद्वय लासा बियोन जोहानेस्सेन र एलिजाबेथ फ कपेलर ओस्वाल्ड र अर्थ मन्त्रालयका सहसचिव एवम् अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा युरोपेली सङ्घले निकट भविष्यमा हस्ताक्षर गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ । त्यस अवसरमा स्थायी सचिव क्रफ्टले २०३ वर्ष पुरानो बेलायत–नेपाल सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्न आफूहरू क्रियाशील रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भए यता सङ्घीयता कार्यान्वयनका निम्ति भएका नीतिगत एवं संरचनागत सुधारको प्रशंसा गर्दै उनले सङ्घीयतासम्बन्धी सबै विषय शीघ्र टुङ्गिने विश्वास व्यक्त गरेका छन् । राजदूत जोहानेस्सेनले नेपाली जनताका विकासका आकाङ्क्षा पूरा गर्न तथा उनीहरूको जीवनस्तर उकास्न नर्वेले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । राजदूत ओस्वाल्डले स्थानीय र प्रदेश तहका सरकारलाई सशक्त एवम् प्रभावकारी बनाउन आफ्नो देशले सहायता रकम उपलब्ध गराएको बताउँदै संविधान जारी भएपछि प्रगतिको पथमा अग्रसर भएको नेपाललाई सघाउनु आफूहरूको दायित्व भएको बताए । सहसचिव नेपालले सङ्घीयताको अभ्यासलाई क्रमशः सुदृढ तुल्याउँदै अघि बढेको नेपालको सामाजिक–आर्थिक विकासका निम्ति विकासका साझेदारबाट निरन्तर प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरेका छन् । रासस