संकटबाट गुज्रिरहेको हुवावेको आम्दानीमा २४ प्रतिशतले वृद्धि

शाङ्घाई । चीनको विशाल प्रविधि कम्पनी हुवावेको आम्दानीमा अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ । अमेरिकी सरकारको चौतर्फी दबाबका कारण संकटबाट गुज्रिरहेको हुवावेको आम्दानी नौ महिनाको अवधिमा वृद्धि भएर करिब ८६ अर्ब डलर पुगेको छ । कम्पनीले आफ्नो नाफामा पनि ८७ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । सुरक्षाको कारण देखाउँदै अमेरिकी प्रशासनले हुवावेका टेलिकम उपकरण प्रयोग नगर्न यसवर्ष विश्वव्यापी पहल र प्रचार गरेको थियो । गत मे महिनामा हुवावेलाई अमेरिकी बजारमा कालोसूचीमा राख्नुका साथै अमेरिकी कम्पनीका उच्च प्रविधियुक्त सामान हुवावेलाई बिक्री नगर्न दबाब दिएको थियो । संयुक्त राज्य अमेरिकाले हुवावेका सामान मार्फत चीनले गोप्य सूचनाहरु संकलन गर्न सक्ने भन्दै गम्भीर चासो र चिन्ता व्यक्त गरेको थियो । अमेरिकाले हुवावेका उत्पादनमा व्यापक कमी कमजोरी रहेका र ती भरोसायोग्य नरहेको बताउँदै आएको छ । तर हुवावेले भने अमेरिकी दाबीको निरन्तर खण्डन गरिरहेको छ । कम्पनीले जारी गरेको पछिल्लो विज्ञप्तिमा भनिएको छ, हुवावेले केबल सूचना प्रविधिको पूर्वाधार र स्मार्ट उपकरण निर्माणमा ध्यानकेन्द्रित गरेको छ, र त्यसलाई अझ गुणस्तरीय एवं परिस्कृत गर्नेतर्फ विशेष जोड दिइरहेको छ । यिनै कारणले कम्पनीले सन् २०१९ को नौ महिनाको अवधिमा निकै उचाई प्राप्त गरेको छ र निरन्तर विश्वको विश्वास जित्दै गएको छ ।

विश्वव्यापी आर्थिक वृद्धिदर तीन प्रतिशत हुने आइएमएफको प्रक्षेपण

वासिङ्टन । वित्तीय सङ्कटका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप कमी आउने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले मङ्गलबार गरेको छ । निरन्तरको व्यापार विवादले गर्दा व्यवसायिक विश्वास र लगानीमा कटौति आउँदा विश्वव्यापी वित्तीय सङ्कटको अवस्था देखिएकाले सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशत रहने कोषले बताएको छ । मुद्रा कोषले सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर ३।४ प्रतिशत कायम रहने अनुमान गरेको थियो, तर कोषको ‘वर्ड इकोनोमिक आउटलुक’को मङ्गलबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा यो दर तीन प्रतिशत रहने बताइएको छ । प्रतिवेदनले विश्वको अर्थतन्त्रमा क्रमशः एकरूपमा कमी आएको र सुधारको अनिश्चितता रहेको चेतावनी दिएको छ ।कोषका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भन्नुभयो, “विश्वव्यापी नतिजा जोखिमपूर्ण रहेको र यसमा नीतिगत कमजोरीहरू नभएको देखिएको छ ।” कोषले सन् २०१९ मा अमेरिकाको आर्थिक वृद्धिदर २।४ रहने बताएको छ । यो प्रक्षेपण जुलाईमा गरिएको अनुमानको दुई दशांशले कमी भएको जनाएको छ । व्यापार तनावले आर्थिक वृद्धिदरमा आएको न्यूनताका कारण अमेरिकी कुल ग्राहस्थ उत्पादन २.१ प्रतिशतमा विस्तार हने पनि कोषले बताएको छ । अमेरिकाका लागि व्यापारसम्वद्ध अनिश्चितताले गर्दा लगानीमा नकारात्मक प्रभाव छोडेको तर रोजगारी र उपभोग भने मजबुत रहने कोषका प्रमुख अर्थशास्त्री गोपीनाथले बताए । रासस/एएफपी

अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार विश्वविद्यालयका प्रा. डा. लुइँटेललाई

काठमाडौं । अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार यसवर्ष त्रिभुवन विश्वविद्यालयका प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई प्रदान गर्ने भएको छ । पुरस्कार छनौटका लागि बोर्ड अफ ट्रस्टिज कार्य समितिको बैठकले पुरस्कार समितिको सिफारिसमा तीन सदस्यीय समिति गठन गरेका थिए । सो समितिले उक्त पुरस्कारका लागि यही अक्टोबर ९ मा प्रा.डा. लुइटेलको नाम सिफारिस गरेको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणका साथै अनेसासको बृहत्तर विकासमा विशिष्ट योगदान गरेका व्यक्तिहरूमध्ये एकजनालाई हरेक दुई वर्षमा प्रदान गर्दै आएको छ । नेपाली भाषा साहित्यको विकासमा अनवरत रूपमा लागेर आप्रवासमा नेपाली भाषा साहित्यको विस्तार, संवर्धन र संरक्षणमा दिएको योगदान र नेपाली भाषाको अन्तर्राष्ट्रियकरण र मानकीकरणमा गरेको भूमिकाका आधारमा छनौट गरिएको समितिले जनाएको छ । अमेरिकाको क्यालिफोर्निया निवासी राम लामा अविनाशीले प्रायोजन गरेको सो पुरस्कारको राशी हाल २५ सय अमेरिकी डलर रहेको छ । यसअगि सन् २०१७ मा यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई प्रदान गरिएको थियो । त्यसबेला सो पुरस्कारको राशी २ हजार अमेरिकी डलर थियो । आगामी नोभेम्बर १० तारिकमा अमेरिकाको वासिङ्टन डिसीमा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहका अवसरमा प्रा. डा. लुइटेललाई यो पुरस्कार प्रदान गरिनेछ । यो अनेसासबाट प्रदान गरिने हालसम्मको सबैभन्दा ठूलो राशीको पुरस्कार हो ।