पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, साठी भन्दा बढी यात्रुको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा बिहीबार बिहान गुडिरहेको एउटा रेलमा आगलागी हुँदा साठी भन्दा बढी यात्रुको मृत्यु भएको छ । यस दुर्घटनामा अरु कैयौँ घाइते भएका स्थानीय यातायात अधिकारीहरुले जानकारी दिएका छन् । पाकिस्तानको कराँची शहरबाट रावलपिण्डीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ । रेलमा रहेका यात्रुको सिलिन्डर विस्फोट भएका कारण उक्त आगलागी हुन पुगेको अनुमान गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन् । तर यसको आधिकारिक पुष्टि भने भएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आगलागीको क्रममा रेलका ३ वटा डब्बा जलेका छन् । आगो नियन्त्रणमा आएकाले अन्य डिब्बा भने जल्न नपाएको बताइएको छ । यस घटनामा घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या थप बढ्न सक्ने आशङ्का गरिएको पनि समाचारमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा

करिब छ अर्ब लगानीमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो । राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले  १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो । भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ । ८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस

राष्ट्रपतिको राजिनामा माग्दै चिलीमा दशौँ हजारको प्रदर्शन

सान्टीयागो । चिलीमा राष्ट्रपतिको राजिनामा माग्दै दशौँ लाख व्यक्तिले सडकका प्रदर्शन गरेका छन् । राष्ट्रपति सेबास्टेन पिनेराले राजिनामा दिनु पर्ने, आर्थिक पुनसंरचना हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनकारीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन कानकारीहरुका नेताले परिवर्तनका लागि प्रदर्शन गर्दै आएकाले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरेका छन् । सहभागीहरुले जातीय र राष्ट्रिय झण्डाका साथै लोकप्रिय र स्वदेश गानहरु समेत गाउने र प्रदर्शन गर्ने गरेका थिए । ल्याटीन अमेरिकी यस मुलुकमा केही समयदेखि हिंसात्मक आन्दोलन भइरहेको छ । सान्टीयागोका गभर्नर कार्ल रविलारले ट्वीट गर्दै, “यो ऐतिहासिक दिन हो, शान्तिपूर्ण प्रदर्शन भएको छ भने नयाँ चिलीको सपना पुरा गर्ने आधार तयार हुदैछ ।” देशभरीमा दश लाखभन्दा बढी प्रदर्शनकारी आन्दोलनमा सहभागी भएका थिए । प्रदर्शन चर्किदै गएपछि सान्टियागो राज्यमा अघिल्लो शुक्रबार संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलिपल्ट चिलीका राष्ट्रपतिले अहिलेलाई १५ दिनका लागि संकटकालको घोषणा गरे । संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको अधिकारीले बताएका छन् । अघिल्लो शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनमा आक्रमण गरेर क्षति पुर्याएका थिए । रासस/एएफपी