जर्मनीको एक चर्चमा ४० जनामा देखियो कोरोना, अब अनलाइनबाट प्रार्थना
काठमाडौं । जर्मनीको एक चर्चको प्रार्थना सभामा उपस्थित भएका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जर्मनीमा लकडाउनको नियममा राहत पाएपछि चर्चमा गरिएको प्रार्थनामा उपस्थित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चर्चमा सामाजिक दुरीका नियमहरु पालना गरेका भनिएता पनि उक्त संक्रमण देखिएसँगै चर्च बन्द गरि अनलाइनबाट प्रार्थना सभा आयोजना गरिएकाे छ । लकडाउनकाे पुन पालना तथा संक्रमण नफैलियाेस् भनि अनलाइनमार्फत प्रार्थना शुरू गरिएकाे चर्चमा एक अधिकारीकाे भनाइ छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट जर्मनीमा १ लाख ८० हजार संक्रमित छन् भने ३ सय ६६ जना मानिसको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ५९ हजार उपचारपछि निको भएका छन् । (बीबीसी हिन्दी)
पाकिस्तानमा पनि कोरोना भाइरसका संक्रमित बढ्दै
काठमाडौं । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमितको संख्या ५२ हजार ४ सय ३७ पुगेको छ भने विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७ सय ४३ संक्रमित थपिएका बताइएको छ । पछिल्लो समय दक्षिण एसियाली मुलुकमा भारत पछि पाकिस्तानमा कोरोना संक्रमण फैलिएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार १ सय १ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ । वल्डोमिटरको तथ्यांक अनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये १६ हजार ६ सय ५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् भने विभिन्न अस्पतालमा ३४ हजार ६ सय ८३ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् ।
अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो- अनुसन्धान
अमेरिका । संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ । अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको भए अमेरिकाका कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बचाउन सजिलो हुने सो अध्ययनले देखाएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयको मेलम्यान स्कुल अफ पब्लिक हेल्थ साइन्सले हालै मात्र गरेको एक अनुसन्धानमाा यस्तो तथ्य पत्ता लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकामा गत मार्च महिनाको पहिलो र दोस्रो हप्तामा धेरै मानिसमा यो कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ । यदि त्यति नै बेला लकडाउन या अरु नै केही नीति बनाएर नागरिकका बीचमा सामाजिक दुरी कायम गर्ने वातावरण बनाउन सकेको भए अहिले भएको अमेरिकीहरुको मृत्युमा कम्तीमा पनि ३६ हजार कमको मृत्यु हुने अनुमान गरिएको पछिल्लो यो अनुसन्धानले देखाएको छ । अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो तथ्यांकअनुसार हाल अमेरिकामा १५ लाख ७७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यस्तै यहाँका ९४ हजार ७०० भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा सामाजिक दुरी कायम गर्ने खालको सतर्कता अपनाउन र त्यस्तै लकडाउनजस्तै नीति सम्बन्धमा निर्णय गर्न दुई हप्ता ढिलो भएका कारण त्यहाँ बढी क्षति हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएनआई