जापानमा बुढ्यौली उमेरका व्यक्तिको संख्या बढ्दै, श्रमिक अभाव
टोकियो । जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए । यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन् । श्रम मन्त्रालयद्वारा शुक्रबार प्रकाशित पछिल्लो विवरणमा गत डिसेम्बरमा यो अनुपात अझ बढी थियो । हरेक १०० जनाका लागि औसतमा १६३ वटा रोजगार उपलब्ध थिए । धेरै वर्षदेखि जापानको श्रम बजारमा कामदारको अभाव अनुभव हुन थालेको थियो । जापानमा हाल बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दैछ भने न्यून जन्मदरले पनि समस्या निम्त्याएको छ । मुलुकको बेरोजगारी दर पनि गत डिसेम्बरमा निकै न्यून छ । मन्त्रालयका अनुसार अघिल्लो महिनाको तुलनामा शून्य दशमलब १ प्रशितले बेरोजगारी दर घटेर २ दशमलब ४ प्रतिशत भएको छ । जापानको अर्थतन्त्र गत वर्ष सेप्टेम्बर अघिका केही महिना केही सुस्त देखिए पनि हाल निकै सुधार भएको छ । पटकपटकको प्राकृतिक प्रकोपका कारण उपभोग्य वस्तुको खरिद र निर्यात दुबैमा असर परेको थियो । तर विश्लेषकहरुले विश्व अर्थतन्त्रमै सुधार आएका कारण गत वर्षको अन्तिममा अर्थतन्त्रमा सुधार भएको बताएका छन् । रासस/एएफपी
इटाली पुनः आर्थिक मन्दीतर्फ जाने सङ्केत, यूरो समूह चिन्तित
मिलान, इटाली । इटालीमा चार बर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक वृद्धिदरमा ०.२ प्रतिशतले कमी आएको छ । अघिल्लो तीन महिना अर्थात् जुलाईदेखि सेप्टेम्बरसम्म यहाँको कुल ग्राहस्थ उत्पादनको ०.१ प्रतिशतको सङ्कुचन रहेकोमा यसबाट पनि थप ०.२ प्रतिशतको कमी आएको जनाइएको छ । लगातार दुई त्रैमासिकमा देखिएका आर्थिक सङ्कुचनलाई प्राविधिक मन्दी भनिएको छ । इटालीको मन्दीको एउटा कारण त समग्र यूरो क्षेत्रको आर्थिक वृद्धिदरमा देखिएको कमीको कारण हो । यूरोपको तथ्याङ्क मामिला हेर्ने निकाय, यूरोस्टाटले बिहीबार भनेको छ, यूरो क्षेत्रको आर्थिक वृद्धि गत बर्षको अन्तिम त्रैमासमा निकै कम अर्थात् ०.२ प्रतिशत रहेको छ र अघिल्लो तीन महिनामा पनि सोही अवस्थामा रहेको थियो, जसका कारण सन् २०१८ मा यूरो क्षेत्रको समग्र आर्थिक वृद्धिदर १.८ प्रतिशत कायम भएको छ । यो एक बर्ष पहिले प्रक्षेपण गरिए अनुसार निकै कमी हो । सन् २०१७ मा यूरो समूहको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहेको थियो र अघिल्लो बर्षभन्दा सामान्य कमी आउने प्रक्षेपणभन्दा निकै तल नतिजा आएको छ । विगत केही महिनादेखि इटालीको अर्थतन्त्रले यूरोप लगायत विश्वसमुदायको ध्यान खिचेको छ । इटालीमा नयाँ ‘जनपक्षीय’ सरकारले यूरोपेली संघ (इयू) को कार्यकारी आयोगमा उसको जनपक्षीय बजेट योजनालाई लिएर निकै लामो समय विवाद रह्यो । सरकारले यहाँका जनतालाई सामाजिक सुरक्षा खर्च र पेन्सन सुधारको योजना अघिसार्दै इटालीका जनतालाई आर्थिक रूपमा समृद्ध तुल्याउने योजना इयूमा विवादरहित बन्न सकेन । निकै लामो बहसपछि पनि इटालीले जनतालाई तत्काल राहतको अनुभूति हुने खालको बजेट सार्वजनिक ग¥यो जुन इयूका लागि अस्वीकार्य थियो । आर्थिक मन्दीलाई औपचारिक पुष्टि गरिनुपूर्व इटालीका प्रधानमन्त्री जिसेफे कोन्टेले बुधबार सन् २०१९ को शुरूका केही महिना मुलुकले आर्थिक सङ्कुचन सामना गर्नुपर्ने देखिएको बताउँदै भने, “बर्षको दोस्रो छ महिनामा यसबाट मुक्ति पाउने आशाका लागि प्रशस्त आधारहरू रहेका छन् ।” इयू आयोग भने इयू क्षेत्रकै प्रसुप्त कर्जा सङ्कटकाबीच दोहोरिएर आएको इटालीको आर्थिक मन्दीप्रति चिन्ता व्यक्त गरेको छ । उसले भनेको छ, “इटालीको सरकारले महत्वाकांक्षी योजनामार्फत ल्याएका कार्यक्रमलाई फिर्ता गर्नुपर्ने अन्यथा उसले थप सङ्कटको सामना गर्नुको विकल्प छैन ।” चीन–अमेरिका व्यापार विवाद, ब्रेक्जिटबारेको अन्यौलका कारण इटालीबाहेक जर्मनी, फ्रान्सजस्ता मुलुकको पनि अर्थतन्त्रमा समस्या देखिएको छ । गत बर्षको तेस्रो त्रैमासमा यूरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा पनि हरितगृह ग्यास उत्सर्जन मापदण्डका कारण कार विक्रीमा आएको कमीले यहाँको अर्थतन्त्रमा अनपेक्षित सङ्कुचन आएको थियो । “आर्थिक मनोभावनामा देखिएको निरन्तरको गिरावटले के सङ्केतले आर्थिक वृद्धिका रफ्तार अझै कमजोर बन्ने देखिन्छ,” कमर्ज बैंकका अर्थशास्त्री क्रिस्टोफ वेलले भने । चीनको आर्थिक विकासबारेको अनिश्चितता, अमेरिका–चीन व्यापार विवाद, इयू–बेलायतको वहिर्गमन विवादले यस क्षेत्रको आर्थिक वृद्धिका लागि सन् २०१९ मा ठूलो प्रभाव पार्ने अनुमान गरिएको वेलको भनाइ छ । रासस/एपी
एसियाली सेयर बजारमा चीन-अमेरिका व्यापार वार्ताको प्रभाव, ‘पर्ख र हेर’मा लगानीकर्ता
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका-चीन वार्तालाई पर्खिरहेका समय बुधबार एशियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको शेयर बजारको लेखाजोखा राख्ने निक्के सुचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलब ५४ अङ्क कायम भएको छ भने दक्षिण कोरियाली कोस्पीमा ०.९ प्रतिशतको वृद्धि भई २२ हजार तीन दशमलब १७ कायम भएको छ । हङकङको हाङसेङ सूचकाङ्कमा ०.१ प्रतिशत अङ्कले वृद्धिभई २७ हजार ५६४ दशमलब १९ अङ्क कायम भएको छ । साङघाइ कम्पोजिट सूचकाङ्कमा ०.२ प्रतिशतको ह्रास आउँदा २५ हजार ८९ दशमलब ७० अङ्क कायम भएको छ । अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० मा ०.२ प्रतिशत अङ्कले वृद्धि भई पाँच हजार ८८६ दशमलब ७० कायम भएको छ । ताइवानमा स्टक बजार स्थिर रहेको छ भने थाइल्याण्ड र इन्डिोनेसियामा वृद्धि देखिएको छ । रासस/एपी