उत्तरी नाइजेरियामा भिषण सैनिक कारबाहीमा, ७० जना बन्दुधारी मारिए

अबुजा । नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन् । सेना प्रवक्ता जोन एनिचेले डाकु समूहमा आबद्ध हतियारधारीहरु लुकेर बसेको कासिया जंगलमा सेनाले गरेको कारबाहीमा ती व्यक्ति मारिएको बताए । कडुनाको ठूलो क्षेत्रमा बन्दुकधारीहरुले स्थानीय गाउँलेको सम्पत्ति र गाईवस्तु लुटपाट गर्नुका साथै प्रतिरोध गर्ने स्थानीयवासीको हत्या गर्ने गरेका छन् । लगातार त्रासको वातावरण सिर्जना गरेको भन्दै नाइजेरियाली सेनाले सो क्षेत्रमा अहिले अपरेशन एकर्ड नामको सैनिक अभियान सञ्चालन गरेको छ । सेनाले पैदल सहित हेलिकप्टरबाट बन्धुकधारीहरु लुकेका स्थानमा कारबाही गरेको प्रवक्ताले जानकारी दिए। कारबाहीमा अरु धेरै घाइते व्यक्ति फरार भएको पनि सेनाको भनाई छ । सेनाले अझै पनि जंगल क्षेत्रमा कारबाही जारी राखेको जनाएको छ । एक साता अघि नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले कुडुना क्षेत्रमा सक्रिय बन्दुकधारीलाई पूर्ण रुपमा निर्मूल गर्नेगरी सैन्य कारबाही तिब्र बनाउन आदेश दिएका थिए ।  रासस–सिन्ह्वा

लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग

वासिङ्टन । कोरोना भाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ । अमेरिकाका सबैजसो शहरहरुमा टेन्टको माग अत्यधिक बढेको एक अध्ययनले देखाएको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसको त्रासका कारण त्यसबाट बच्नका लागि व्यापार व्यवसाय संचालन गरेको ठाउँलाई फराकिलो बनाउनका लागि टेन्टको माग बढेको बताइएको छ । रेस्टुरेन्ट, होटल, खुद्रा पसललगायतले आफ्ना ग्राहकका लागि टेन्ट लगाएर ठाउँ विस्तार गरेको पाइएको छ । व्यापार व्यवसाय संचालन गर्दा कामदारका लागि र ग्राहकहरुका लागि पनि सामाजिक दुरी बढाउन पहिले प्रयोग गर्दै आएको ठाउँ साघुँरो भएकाले टेन्ट लगाएर फराकिलो बनाउनु परेको व्यवसायीहरुले बताएका छन् । माग अत्यधिक बढेकाले देशभरका टेन्ट उत्पादक तथा विक्रेताहरुलाई अहिले भ्याई नभ्याई देखिएको वाल स्ट्रीट जर्नलले जनाएको छ । जर्नलमा प्रकाशित विवरण अनुसार एकै पटक धेरै उत्पादन, वितरण वा सेवा प्रवाह गर्नु पर्ने भएकाले पनि व्यवसायीहरुले टेन्टको माग गरेको पाइएको छ । उनीहरुले आफ्ना मेसिन तथा अन्य सामानहरु, कामदार र उपभोक्ताका लागि थप टेन्टको आवश्यकता परेको बताउने गरेका छन् । अध्ययनकर्ताहरुले सबै सेवा तथा उत्पादनको मुल्य बृद्धि पनि अत्यधिक भएको पाइएको जानकारी दिएका छन् । टेन्ट बिक्री वितरण गर्दै आइरहेको डेल्टा कम्पनीले पाँच बर्ष यताकै सबैभन्दा धेरै टेन्ट बिक्री वितरण भएको जनाएको छ । म्याक किन्नीका सहप्रवन्धक अम्बेर्ली स्लाभेन्सले पहिलाभन्दा अहिले झण्डै तेब्बर व्यापार भएको जानकारी दिए । व्यापार व्यवसायका लागि मात्रै नभई कलेज तथा विद्यालयमा समेत विद्यार्थीहरुका लागि टेन्टको माग बढेको उनीहरुले बताएका छन् । साविकको ठाउँ सामाजिक दुरी कायम गर्दा साँघुरो हुने भएकाले टेन्ट मार्फत् कक्षा कोठालाई फराकिलो बनाइएको वा नयाँ कक्षा कोठा बनाइएको उनीहरुको भनाई छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण अहिलेसम्म १९ लाख ९८ हजार ५ सय बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको संख्या १ लाख १२ हजार नाघेको छ ।    रासस/एएनआई

अमेरिकाको राष्ट्रपति पदका लागि जो बाइडेनको उम्मेदवारी सुनिश्चित, ट्रम्पलाई टक्कर

वासिङटन । अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्ने छ  । कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उनले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहे भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती भएको हो । निर्णय भएपछि उनले भने, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिएकाेमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” उनले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताए । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उनका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् । उनको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् । डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गरे । बाइडेनसँग अहिले १ हजार ९ सय ९५ जना डेलिगेडट्स रहेका छन् भने उनले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताए । तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उनलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उनले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ । वर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ । ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ । ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहेका थिए । उनी अहिले ७७ बर्षको भए । उनलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ । रासस/एपी