युरोपेली संघको विना सम्झौता ब्रेजिक्टले ६ लाख रोजगारी सङ्कटमा, जर्मनी प्रभावित
काठमाडौं । युरोपेली संघकाे सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै ६ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ । सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनले विना सम्झौता युरोपेलीसँगबाट बेलायत बाहिरिएमा सबैभन्दा धेरै जर्मनीको रोजगारी प्रभावित हुने जनाएको छ । जर्मनीको पूर्वी क्षेत्रमा पर्ने हाल्लेमा रहेको आइडब्लुएच इन्स्टिच्युटका अध्ययनकर्ताहरुले यस्तो निस्कर्ष निकालेका हुन् । उनीहरुका अनुसार युरोपको सवैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा १ लाख ३ हजार रोजगारीलाई चुनौती हुनेछ भने दोस्रोमा फ्रान्सको ५० हजार रोजगारी खतरामा पर्नेछ । यसले युरोपेली मुलुकहरुमा मात्रै नभई अन्य मुलुकहरुमा पनि असर पर्ने अर्थशास्त्रीहरुको अध्ययनले देखाएको छ । चीनका ६० हजार र जापानका ३ हजार जनाको रोजगारीमा पनि समस्या पर्न सक्ने बताएका छन् । रासस/एएफपी
फुटबलप्रेमीका लागि दुःखद खबरः ब्राजिलका १० फुटबल खेलाडीको मृत्यु
रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ । रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो । रासस/एएफपी
विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, १३ सरकारी र ४ प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन
नयाँ दिल्ली । भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन् । उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ । “हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने । उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । उत्तराखण्डको स्थानीय सरकारले १३ जना सरकारी अधिकारी र चार जना प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन दिएको छ । विषाक्त मदिरा सेवनकै कारण उत्तर प्रदेशको सहरानपुरमा भने ६ जनाको मृत्यु भएको छ । त्यहाँ पनि केही उपभोक्ता बिरामी भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन् । संवाददाताका अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय पसलबाट लगेको मदिरा सेवन गरेका थिए । बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन् । रासस/सिन्ह्वा