लकडाउनमा दाना खुवाउन कोही नआएकाले एक हजार भन्दा बढि परेवा मरे
काठमाडौं । अफगानिस्तान स्थित मशहूर मजार ए शरीफ मस्जिदमा एक हजारभन्दा बढि परेवाहरु मरेका छन् । हाल जारी लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द रहेको छ र सोही कारण त्यहाँ पालिएका सेता परेवालाई दाना खुवाउन कोहीपनि पुगेका छैनन् । लामो समयदेखि खान नपाएका ती सेता परेवाहरुले भोकै प्राण त्यागेका छन् । सो मस्जिदका कर्मचारीले दैनिक जसो ३० ओटा जति सेता परेवा मरिरहेको र हालसम्म १ हजार भन्दा बढि परेवा मरिसकेको बताएका छन् । अफगानिस्तानमा लकडाउनका कारण सम्पूर्ण धार्मिक स्थलहरु बन्द रहेका छन् । हालसम्म त्यहाँ कोरोना संक्रमित मानिसहरुको संख्या २१ हजार पुगेको बताइए पनि ठिक आँकडा चाहिँ त्यो भन्दा धेरै हुनसक्ने मानिँदै आएको छ ।
कोरोना नियन्त्रण गर्न ट्रान्स हिमालयन सोसाइटीलाई चीनले दियाे स्वास्थ्य सामग्री
काठमाडौँ । चीन सरकारको एक सरकारी संस्था दि इकोनोमिक जोइन्ट कमिटी अफ चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले नेपाली संस्था ट्रान्स हिमालयन सोसाइटीलाई वर्तमान अवस्थामा कोरोना भाइरसका विरुद्ध अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ । नेपालमा जारी कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि सहयोग स्वरुप ठूलो मात्रामा ती सामग्री उपलब्ध गराएको हो । प्राप्त सामग्रीमा ३० हजार थान डिस्पोजेबल मास्क र अरु ५ हजार थान के एन ९५ मास्क रहेको सो संस्थाका अध्यक्ष फान सियाओबोले विज्ञप्ति मार्फत जानकारी गराएका छन् । ती सामग्रीहरु नेपालका विभिन्न स्थान तथा संस्थामा आवश्यकताका आधारमा सहयोग स्वरुप उपलब्ध गराइने ट्रान्स हिमालयन सोसाइटी नेपालका अध्यक्ष प्रा. डा राजीवकुमार झाले बताए । मित्र राष्ट्र चीनले नेपालका कोरोना महामारीको नियन्त्रणका लागि यसअघि पनि विभिन्न सहयोग उपलब्ध गराएको र यो पछिल्लो समयमा उक्त सोसाइटीमार्फत नेपाली नागरिकलाई ती सामग्री सहयोग गरेको बताए । युवा वैज्ञानिक प्रा.डा. झा चीनको सियान विश्वविद्यालयमा प्राध्यापन गर्छन् भने चीन नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका अध्यक्ष पनि हुन् । प्रा.डा. चीन सरकारद्धारा प्रदान गरिने विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि सम्मानित भएका छन् । नेपाल चीन सम्बन्धको विकास र विस्तारका लागि विगत लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका प्रा.डा. झामार्फत सियान महानगरपालिकाले बुटवल उपमहानगरपालिकालाई यस्तै स्वास्थ्य सामग्री सहयोग गरेको थियो । ती सामग्रीहरु नेपाली दूतावास चीनमा रहेका र नेपाल आउने प्रक्रियामा रहेका छन् ।
पछिल्लो दुई हप्तामा जम्मु र काश्मिरमा छ जना उच्च कमाण्डरसहित २२ आतंककारी मारिएको दाबी
श्रीनगर । भारतीय सुरक्षा निकायले जम्मु तथा काश्मिरमा जारी राखेको आतंककारीविरुद्धको कारबाहीका क्रममा गएको दुई हप्तायता मात्र कम्तीमा पनि २२ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । यस अवधिमा यहाँका आतंककारीका विरुद्धमा भारतीय सेनाले व्यापक मात्रामा कारबाही गरिरहेको बताएको छ । साथै भारतीय सेनाले यस दुई हप्ताको समयमा उक्त क्षेत्रमा विभिन्न आतंककारी संगठनका गरी कम्तीमा पनि छ जना उच्च कमाण्डर पनि मारिएको बताएको छ । यसअघि सोमबार मात्र पनि भारतीय सेनाले उक्त क्षेत्रमा गएको छ महिनाभन्दा लामो समयदेखि आतंकारीका विरुद्धमा कडा काराबाही जारी राखेको र त्यस क्रममा कम्तीमा पनि ९३ जना आतंककारीहरु मारिएको बताएको थियो । भारत प्रशासित जम्मु र काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भारतीय सेना र प्रहरीले गरेको यस संयक्त कारबाहीका क्रममा ती आतंककारी मारिएका जानकारी दिए । साथै उनले त्यसमा आतंककारी संगठनका केही उच्च कमाण्डरहरु पनि रहेको जनाएकाे छ । भारतीय सैनिक स्रोतले दिएको जानकारी अनुसार सो क्षेत्रमा अहिले पनि आतंककारी विरुद्धको कारबाही जारी रहेको छ । त्यसैगरी गएको शनिबार यता मात्र यहाँ भारतीय सुरक्षा निकायले गरेको कारबाहीमा नौजना आतंककारी मारिएको पनि बताइएको छ । यस कारबाहीमा जैस ए मोहमद, लस्कर ए तोएबालगायतका आतंककारी संगठनका उच्च कमाण्डर पनि मारिएका बताइएको छ । ती आतंककारी भारतीय तथा विदेशी समेत रहेको पनि सो समाचारमा जनाइएको छ । यस कारबाहीका क्रममा भारतीय सुरक्षा निकायका सदस्यहरुलाई भने कुनै क्षति नपुगेको अधिकारीहरुले जनाएका छन् । रासस/एएनआई