अफगान शान्ति वार्ताको तयारी शुरु
काबुल । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् । सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो । अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार रहेकाे समाचार आएको छ । उक्त वार्ताको सर्तका रुपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको पनि जनाइएको छ । तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्नुपर्ने सर्त राखेका थिए । तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ । अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएसँगै अव उक्त शान्ति वार्ताको तयारी सुरु भएको बुझिएको छ । अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । त्यसै सम्झौताबमोजिम नै अमेरिका र नेटोका साझेदारहरूले पनि १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताएका छन् । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ । गत फेब्रुअरीमा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार, अमेरिका र तालिबानबीच सो सम्झौता भएको हो । सोही अनुसार नै तालिबानहरु शान्ति वार्तामा आउने भएका हुन् । रासस/एएनआई
युक्रेनः राष्ट्रपतिकी पत्नीमा कोरोना पोजिटिभ
काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना पोजिटिभ पुष्टि भएको छ । परिवारकै परिक्षण गरिएकोमा हिजो शुक्रवार ओलेनालाई कोरोना पोजिटिभ पुष्टि भएको हो भने उनका पति तथा दुवै बच्चाहरुको रिपोर्ट चाहिँ नेगेटिभ आएको छ । पत्नीलाई कोरोना पुष्टि भएसँगै राष्ट्रपतिले आफ्ना सवै बैठकहरु तत्कालका लागि रद्द गरेका छन् । ओलेनाले बताए अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेकोले तत्काल अस्पताल भर्ना हुने छैनन् भने परिवारबाट चाहिँ अलग्गै बस्नेछिन् ।
इराकको ग्रिन जोनमा दुई वटा क्षेप्यास्त्र प्रहार
बग्दाद । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् । उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रिन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ । बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् । अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो । अमेरिकी आक्रमण लगत्तै इराकी संसदले जनवरी ५ मा देशभित्र विदेशी सैन्यबललाई हटाउने एक प्रस्ताव पारित गरेको थियो । इस्लामिक स्टेट्सका लडाकू विरुद्धको संघर्षमा इराकी फौजलाई मद्दत गर्न अमेरिकाले पाँच हजारभन्दा बढी सैनिक पठाएको छ । अमेरिकी सैनिकहरुले हाल मुख्य रुपमा इराकी सेनालाई तालिम र परामर्श सेवा उपलब्ध गराइरहेका छन् । रासस–सिन्ह्वा