भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिन्छ: पाकिस्तानी प्रधानमन्त्री
इश्लामावाद, पाकिस्तान । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै भने, “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ । शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ ।” उनले भने, “भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम बर्षाका कारण कुनै मानवीय क्षति वा भौतिक संरचना भएको सूचना पाएका छैनौँ । त्यसैले बदलामा आक्रमण गर्ने सोच राखेनौ ।” पाकिस्तानी प्रधानमन्त्री खानले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आउँदै गरेको निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावी गरे । प्रधानमन्त्री खानले भने, “भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न राजनीतिक नेतृत्वले पटक पटक समस्या ल्याएको जानकारी मैले पाएको छु ।” उनले भारतले पाकिस्तानी भूमिमा धावा खेलेको आफूहरूले हेर्न नसक्ने बताउँदै भने, “यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय हो ।” उहाँले सदनलाई सम्बोधन गर्ने क्रममा भने, “म यसै प्लेटफर्मबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई आह्वान गर्न चाहन्छु कि विवादलाई अगाडी नबढाऊँ । तर यसलाई भारतले पाकिस्तानको कमजोरी नसोचोस् ।” उनले पाकिस्तानी क्षेत्रमा प्रबेश गरेका दुई विमान खसालेको र यो आफ्नो सार्वभौम मुलुकका लागि मजबुरी भएको सोही क्रममा भारतीय विमान चालक पाकिस्तानी नियन्त्रणमा पुगेका उनले बताए । रासस/सिन्ह्वा
हनोई वार्ता विना सम्झौता टुङ्गियो, उत्तर कोरियाको प्रस्ताव अस्वीकार
हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन । उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि राष्ट्रपति ट्रम्पले बताए ।तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।” रासस/एएफपी
भारत पाकिस्तानबीच तनाव : भारतीय शेयर बजारमा गिरावट
मुम्बई । भारत र पाकिस्तानबीच देखिएको तनावका कारण बुधबार बिहान भारतीय शेयर बजारमा एक्कासी गिरावट आएको छ । लगानीकर्ताहरूले सीमाना क्षेत्रमा भएको तनाव लामो नरहने विश्वास गरेका छन् । बुधबार दिउसो पाकिस्तानी विमानले भारत प्रशासित काश्मिरको आकाशमा छिरेको भन्दै भारतीय लडाकू विमानले प्रतिरक्षा गरेपछि पाकिस्तानी विमान फर्केको भारतीय अधिकारीको दावी गरेका छन् । तनावका कारण बुधबार बिहान ११ बजे बम्बई स्टक एक्सचेन्ज एस एण्ड पी सेन्सेक्स कारोबारमा ३६ हजार ३६२ अङ्कको हाराहारीमा रहेकोमा मध्यान्न १२ः१५ सम्ममा व्यापक गिरावट देखिएको थियो । मध्यान्हसम्ममा ६१५ अङ्कको भारी गिरावट आई ३५ हजार ७४७ मा भरेको थियो । यद्यपि भारत र पाकिस्तानबीचको तनाव लामो समयसम्म नरहने बिश्लेषकहरूको भनाइसँगै बुधबार अपरान्ह्सम्ममा कारोबारमा सुधार आई ३५ हजार ९०५ अङ्कका साथ कारोबार बन्द भएको छ । त्यसैगरी राष्ट्रिय स्टक एक्सचेन्ज निफ्टी ५० मा २९ बुधबार २९ अङ्कले गिरावट आई कारोबार १०,८०७ अङ्कसाथ बन्द भएको छ । बुधबार शेयरमा खास गिरावट आएका प्रमुख कम्पनी तथा फर्महरूमा विप्रो, इन्फ्रेटर, भेन्दाता, भारती पेट्रोलियम कर्पोरेसन लिमिटेड र टाटा मोटर्स देखिएका छन् । व्यवसायीहरूले भू–राजनीतिक तनाव थप केही दिन जारी रहेमा स्टक बजारमा पनि अनिश्चितता देखिनसक्ने बताएका छन् । यदि भारत पाकिस्तानको नकारात्मक मनोभाव कायम रहेमा बैंक, वित्तीय संस्थान, आधारभूत संरचना, धातु र गाडी कम्पनीहरूको शेयरमा प्रभाव पर्ने अनुमान गरिएको छ । यसैबीच, एशियाली स्टक बजारमा भने बढ्दो भू–राजनीतिक विवादको खतराको प्रभाव मिश्रित देखिएको छ । प्रायः एशियाली बजारले भारत–पाकिस्तान विवादलाई गौण देखेका र अमेरिका–चीन व्यापारमा विवादको निश्कर्षलाई नै हेरेका बजार विश्लेशकहरूको भनाई छ । बजार विज्ञहरूले बुधबार भियतनामको राजधानी हनोइमा भइरहेको अमेरिका–उत्तर कोरिया शिखर सम्मेलन र यसले दिने परिणामलाई पनि एशियाली बजार सूचकका रूपमा हेरेका छन् । यदि अमेरिकाले उत्तर कोरियालाई आणविक निशस्त्रीकरण गराउन सफल बनेमा एशियाली बजारमा यसको उल्लेख्य लाभ हुने बताइएको छ । रासस/एएनआई