अष्ट्रेलियाको अर्थव्यवस्था सुधार हुन दुई बर्ष लाग्नेछ: प्रधानमन्त्री माेरिसन

काठमाडौं । अष्ट्रेलियाको अर्थव्यवस्था सुधार हुन दुई वर्ष लाग्ने प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन् । अष्ट्रेलिया सरकारले सोमबार निर्माण र पूर्वाधार परियोजनाहरूको श्रृंखलाको रूपरेखा प्रस्तुत गरेको थियो । उक्त प्रस्तुत गरिएकाे कार्ययाेजनानुसार काम भए अर्थव्यवस्थालाई फेरि ट्र्याकमा ल्याउन सक्छ प्रधानमन्त्री मोरिसनले भने । ओईसीडीले जारी गरेको आर्थिक अनुमानका अनुसार अष्ट्रेलियाले आउने महिनाहरूमा सबैभन्दा कम गिरावट देख्नेछ, यदि तपाईंले सबै विकसित देशहरूको जीडीपी वृद्धिलाई हेर्नुभयो भने। यहाँ बेरोजगारीको सरकारी आंकडा पनि १० प्रतिशतबाट ८ प्रतिशतमा घटाइएको छ । अष्ट्रेलियाको अर्थतन्त्र अन्य देशहरू भन्दा छिटो सुधार हुँदैछ किनभने यहाँ कोरोना भाइरस सफलतापूर्वक नियन्त्रण गरिएको छ ।

सोमाली सेनाको कारबाहीमा १३ जना लडाकूको मृत्यु

मोगादिशु । सोमालियाको राष्ट्रिय सेनाले जुबा प्रान्तको दक्षिणी क्षेत्रमा गरेको भिषण सैन्य कारबाहीमा अल–शबाबका १३ जना लडाकूको मृत्यु भएको छ । सोमाली सेनाका प्रवक्ता अलि मोहमदले स्थानीयबासीले दिएको सूचनाका आधारमा सैन्य कारबाही गरिएको जानकारी दिए । उनले जुबाको अफमाडाओ शहरमा विद्रोही अल–शबाब विरुद्ध सेनाले कारबाही गरेको स्पष्ट गरे । प्रवक्ता मोहमदले विद्रोहीबाट सेनाले हातहतियार र गोलाबारुद बरामद गरेको पनि बताए । स्थानीयबासीले बान्का जिरा गाउँमा सेना र अल–शबाबका लडाकूबीच भिडन्त भएको बताएका छन् । गत जुन ७ मा सोमाली सेना र अल–शबाबबीच हुदुर नगरमा भएको भिडन्तमा अल–शबाबका ३७ जना लडाकूको ज्यान गएको थियो ।  रासस–सिन्ह्वा

फ्रान्समा लकडाउन उल्लेख्य रूपमा खुकुलो,  क्याफे तथा रेष्टुराँ पनि खुल्ने

काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले कोरोना भाइरस सङ्क्रमणका कारण लागु गरिएका लकडाउन व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुल्ने छन् । अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ । कोभिड-१९ सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ । टेलिभिजनमार्फत्‌ गरिएको सम्बोधनका क्रममा माक्रोँले फ्रान्सले ूपहिलो जितू हात पारेको तर भाइरस फेरि फर्कन सक्ने चेतावनी दिए । यसै महिनाको शुरूवात देखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो । माक्रोँले सङ्क्रमणका सबैभन्दा धेरै घटना पुष्टि भएको पेरिस क्षेत्रमा पनि सोमवारदेखि त्यस्तै हुने पुष्टि गरेका छन् । त्यस्तै जुन २२ तारिखबाट विद्यालयहरू खुल्ने बताइएको छ । सावधान रहन आवश्यक तर राष्ट्रपति माक्रोंले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौं । सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ ।’ मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा आयोजना गरिने माक्रोँले पुष्टि गरेका छन् । ‘भाइरस फैलाउने मुख्य स्थान भन्दैू ठूला सभाहरूको आयोजनामा कडा रूपमा नियन्त्रण गर्नुपर्नेछ’ उनले भने । पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या २९ हजार ४ सयभन्दा बढी छ। त्यस्तै १ लाख ९४ हजारमा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । फ्रान्समा मार्च १७ तारिखदेखि कडा लकडाउन लागु गरिएको थियो जुन मे ११ सम्म कायम थियो । त्यसपछि क्रमिक रूपमा प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्दै लगिएको थियो । (बीबीसीबाट)