सिल्क रोडमा जोडियो इटाली, अमेरिका र युरोपलाई धक्का

रोम । एशियालाई यूरोपसँग जोड्ने यातायात तथा व्यापार सम्बन्ध विस्तारका लागि चीनको नेतृत्वमा अघि बढाइएको नयाँ ‘सिल्क रोड’ मा सहभागी हुन इटालीले शनिबार एक दस्ताबेजमा हस्ताक्षर गरेको छ । यद्यपि उक्त दस्तावेज ‘गैर–बाध्यकारी’ सहमति हो । विश्वलाई जोड्ने बेल्ट एण्ड रोड (बिआरआई) आयोजना अन्तर्गतको आयोजनामा जाने इटालीको निर्णयले संयुक्त राज्य अमेरिका र यूरोपेली संघ (इयू) ले इटाली र चीनलाई हेर्ने दृष्टिकोणमा असहजता ल्याउनसक्ने विश्लेषकहरूले बताएका छन् । किनकि बिआरआई आयोजनामा जोडिने विकशित राष्ट्रहरूको समूह (जी–सेभेन) मध्ये इटाली पहिलो मुलुक भएको छ । इटालीको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र इटालीका प्रधानमन्त्री जिउसेफे कोन्टेको उपस्थितिमा उक्त २९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । इटालीका सञ्चारमाध्यमले जनाए अनुसार उक्त सम्झौता चीन र इटालीबीच ‘सिल्क रोड’ का लागि करिक आठ अर्ब अमेरिकी डलर लगानीका लागि भएको छ । सम्झौतापत्रमा चीनको तर्फबाट राष्ट्रिय विकाश आयोगका हे लाइफेङ तथा इटालीका उप–प्रधान तथा आर्थिक विकासमन्त्री लुइगी दि माइओले हस्ताक्षर गरेका छन् । इटालीको आर्थिक दैनिक ‘सेकेण्ड सोल ट्वन्टी फोर ओर’ का अनुसार तत्काल चीनको यूरोप छिर्नका लागि रणनीतिक महत्व राख्ने जिनिओ र त्रियस्ते बन्दरगाहमा लगानीका लागि सम्झौता भएको भएपनि यसलाई २० अर्ब यूरो पु¥याउने लक्ष्यमा सहमति भएको छ । रासस

रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

नानजिङ्, चीन । पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मृत्यु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् । चीनमा केही वर्षमा यता भएका घातक औद्योगिक दुर्घटना मध्येको यो पनि एक भएको बताइएको छ । आगलागी भएपछि भएको विस्फोटको समयमा भूकम्प मापन केन्द्रले २.२ म्याग्निच्युडको कम्पन मापन गरेको भूकम्प मापन निकायले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे याङ्चेङमा अवस्थित सो उद्योगमा विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोटको यति शक्तिशाली थियो कि कारखानाको भवनहरूको भग्नावशेषहरू परसम्म लागेर कामदारहरू घाइते भएका थिए । विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा लिइएको चिनियाँ सरकारी टेलिभिजनले जनाएको छ । चीनमा यस्ता उद्योगहरुमा सुरक्षा व्यवस्थामा कमजोर भएको कारण औद्योगिक दुर्घटनाहरू भइरहने पाइन्छ । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो । गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योगमा विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो। हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु हुनुका साथै १,००० घाइते भएका थिए। बिहीवारको दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा, उत्तर कोरियालाई सहयोग गरेको आरोप

सियोल । संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ । उत्तर कोरियाबाट उत्पादित कोइला एक जहाजबाट अर्को जहाजमा राखेर अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको अमेरिकी आरोप छ । यस्तो धन्धामा अरु एक दर्जन कम्पनी संलग्न रहेको भन्दै सूक्ष्म अनुसन्धान भइरहेको अमेरिकाको अर्थ मन्त्रालयले जनाएको छ । भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीचको वार्ता विफल भएपछि पछिल्लो प्रतिबन्ध लगाइएको छ । अमेरिकाले उत्तर कोरियामाथि आणविक हातहतियारको उत्पादन र क्षेप्यास्त्र प्रणाली विकास कार्यक्रम स्थगित गर्न एवं आफूसँग रहेका सबै किसिमका आणविक अस्त्र नष्ट गर्न दबाब दिइरहेको छ । उत्तर कोरियाले भने राष्ट्रसङ्घीय प्रतिबन्धहरु तत्काल फुकुवा हुनुपर्ने शर्त राखेको छ । “संयुक्तराज्य अमेरिका र यसको दृष्टिकोणसँग मिल्दाजुल्दा साझेदारहरु उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्ण रुपमा त्यागोस् भन्ने चाहन्छन्,” अर्थ मन्त्री स्टिभेन मन्चिनले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ । सन् २०१७ मा उत्तर कोरियाले आणविक हातहतियार र ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेलगत्तै राष्ट्रसङ्घले उत्तर कोरिया विरुद्ध विभिन्न प्रतिबन्धहरु घोषणा गरिएको छ । उक्त प्रतिबन्धहरुमा उत्तर कोरियाले प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न र कोरियाबाट कोइला निर्यात गर्न नपाइने रहेका छन् । अमेरिकी अर्थ मन्त्रालयका अनुसार गत वर्ष कम्तीमा २६३ ट्याँकर प्रशोधित पेट्रोलियम गैरकानुनी किसिमबाट उत्तर कोरिया भित्रिएको थियो । यदि ती ट्याँकर पूरा भरिएको अवस्थामा रहेका भए कोरियाले करिब ३७ लाख ८० हजार ब्यारेल इन्धन आयात गरेको देखिन्छ । राष्ट्रसङ्घले तोकेको भन्दा यो झण्डै ८ गुणा बढी आयात हो । प्रति वर्ष पाँच लाख ब्यारेल तेल मात्र उत्तर कोरियाले आयात गर्न पाउने गरी राष्ट्रसङ्घले सीमा तोकेको छ । रासस/योनहाप