अफगानिस्तानका राष्ट्रपतिका सल्लाहकारको कोभिड–१९ संक्रमणबाट मृत्यु
काबुल । अफगानिस्तानका राष्ट्रपतिका आर्थिक विकास, व्यापार तथा गरिबी नियन्त्रणमामिला विशेष सल्लाहकार मोहम्मद यूसुफ गाजनफारको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राष्ट्रपतीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । गजानफारको शुक्रबार टर्कीको एक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई हालै कोरोना भाइरस संक्रमण भएको र स्वदेशमा उपचार सम्भव नदेखिएपछि टर्की लगिएको थियो । अफगानिस्तानमा गत फेब्रुअरीमा पहिलो पटक कोभिड–१९ संक्रमण पुष्टि भएको र शनिबारसम्ममा ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । अफगानिस्तानमा कोभिड–१९ सङ्क्रमणका कारण ८ सय १९ व्यक्तिको मृत्यु भएकाे छ । रासस/सिन्ह्वा
जापानमा व्यापक बर्षा र बाढी, १३ भन्दा बढी व्यक्ति बेपत्ता
टोकियो । जापानको दक्षिणी क्षेत्रमा भएको व्यापक बर्षासँगै आएको बाढीका कारण दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार बर्षासँगैको बाढी, पहिरो र डुवानका कारण अरु सयौँ व्यक्तिहरु प्रभावित भएका छन् । कतिपय व्यक्तिहरु घर डुवानमा परेकाले घरको छतमा उद्धारका लागि पर्खिरहेको पनि अधिकारीहरुले जनाएका छन् । रातभरीको बर्षाका कारण जापानको दक्षिणी क्षेत्रका झण्डै ७५ हजार मानिस बसोबास गर्दै आएको कुमामोटो र कागोशिमा डुबानमा परेर पोखरी जस्तो भएका छन् । डुवानमा परेकाहरुलाई अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । माटोसहितको बाढीले रुखलाई जरैदेखि उखेलेर बगाएका दृष्यहरूले स्थानीयहरू त्रसित बनेका प्रत्यक्षदर्शीहरुले बताए । स्थानीय एनएचके टेलिभिजनले कम्तीमा १३ जना मानिस हराइरहेको विवरण प्राप्त भएको जनाएको छ । अधिकारीहरुले खोजी तथा उद्धार कार्य जारी रहेकाले मानवीय तथा भौतिक क्षतिको विवरण एकिन गर्न नसकिएको बताएका छन् । प्रधानमन्त्री सिन्जे आवेले घटनास्थलमा खोजी तथा उद्धार गर्न र उनीहरुलाई राहतको व्यवस्था गर्न विशेष टोली खटाइएको बताए । रासस/एपी
कोरोनाकाे बीचमै खुल्यो सुनै सुनले बनेको होटल (तस्वीरसहित)
काठमाडौं । विश्वभरी कोरोना भाइरसको महामारी भइरहेको बेला भियतनाममा भने सुनै सुनले बनेको होटल निर्माण भएको छ । सन् २००९ बाट निर्माण सुरु गरिएको होटलको सुभारम्भ बिहिबार गरिएको हो । भियतनामको राजधानी हनोईमा संसारको पहिलो सुनै सुनले बनेको होटल खुलेको हो । बिहीवार डोल्चे हनोई गोल्डन लेक नामको फाइभ स्टार होटलको शुभारम्भ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । सो होटलको भत्ता, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनले नै बनेका छन् । २५ तले सो होटलमा ४ सय वटा कोठा रहेका छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ । होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छ । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ । सो होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ । होटलका कोठाहरूको सबभन्दा कम मूल्य नै लगभग ३० हजार रुपैयाँ छ । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । यो होटललाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ ।