स्पेनको उत्तर-पश्चिमी क्षेत्रमा पुन: लकडाउनमा कडाई
काठमाडौं । कोरोना भाइरसकाे संक्रमण बढ्न थालेपछि स्पेनले आफ्नो उत्तर-पश्चिमी क्षेत्र गलिसियामा पुनः लकडाउन घाेषणा गरेकाे छ । लकडाउनले त्यहाँका ७० हजार मानिस प्रभावित हुने बिबिसीले जनाएको छ । आइतबारदेखि शुक्रबारसम्म यी क्षेत्रमा कामको सिलसिलामा रहेका मानिसलाई मात्र आवतजावतको अनुमति दिइने भएको छ । एक दिन अघि स्पेनकाे क्याटोलोनिया क्षेत्रमा यसै किसिमको प्रतिबन्धको लगाइएको थियो । काेराेना संक्रमण बढेको भएपनि राष्ट्रिय स्तरमा भने कोरोना नियन्त्रण कार्यमा लागिरहेको छ । स्पेनमा हालसम्म २८ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ, भने २ लाख ९७ हजारभन्दा बढी काेराेना संक्रमित रहेका छन् । (बीबीसीकाे सहयाेग)
अस्ट्रेलियाका अर्थमन्त्रीद्वारा राजनीतिबाट अलग हुने घोषणा
क्यानबेरा । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्र्यानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिने आइतबार घोषणा गरे । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन् । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताए । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको सिनेटरका रूपमा निर्वाचित बन्नुभएका कोम्र्यानले सन् २०१३ पछि बनेका विभिन्न सरकारको अर्थमन्त्रीका रूपमा काम गर्दै आएका छन् । कोम्र्यानले आफ्नो राजनीतिक जीवनबाट विदा लिन लाएको जानकारी गराउँदै जारी वक्तव्यमा भनिएको छ, ‘म यस पद (अर्थमन्त्री) का रूपमा यस वर्षको बजेटलाई तयार गर्दासम्म रहनेछु ।’ कोरोना भाइरस महामारीका कारण अस्ट्रेलियामा वार्षिक बजेट तयार गर्ने मिति आगामी अक्टोबरका लागि सारिएको छ । “मैले यो काम मन पर्छ । मैले हरेक दिन यसैका लागि अर्पण गर्ने गरेको छु । तर यस वर्षको अन्त्यसम्म यो सरकारको आधा कार्यकाल पनि सकिनेछ ।” उनले भने, ‘अर्को निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गर्दै मैले प्रधानमन्त्री स्कट मोरिसनसँग सल्लाह गरिसकेको छु कि सन् २०२० को अन्त्य नै मलाई आफ्नो पदबाट विदा लिन उपयुक्त समय हुनेछ ।’ कोम्र्यानको राजिनामा यति वेला आएको छ जति वेला अस्ट्रेलियाले विश्वव्यापी महामारीका कारण ठूलो बजेट घाटाको सामना गरिरहेको छ । कोम्र्यानको राजिनामासँगै प्रधानमन्त्री मोरिसनले आफ्नो मन्त्री परिषद्मा फेरबदल गर्ने अनुमान गरिएको छ । रासस/सिन्ह्वा
कोरोना असरः एयर फ्रान्सले ७ हजार ५ सय कामदार हटाउने
पेरिस । कोरोना भाइरसका कारण हवाई उड्डयनका क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५ सय कामदार हटाउने निर्णय गरेको छ । तर एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले कम्पनीको घोषणाको विरोधमा प्रदर्शन गरेका छन् । कम्पनी र युनियनका प्रतिनिधिबीच एयर फ्रान्सको प्रस्तावका विषयमा वार्ता पनि शुरु भएको छ । फ्रान्स सरकारले गत मे महिनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदूर निकाल्ने निर्णयमा पुगेको भन्दै मजदूर युनियन आक्रोशित भएका हुन् । मजदूर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन् । सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुपर्नेमा उल्टै मानिसलाई बेरोजगार बनाएको युनियनका नेताहरुको गुनासो छ । एयर फ्रान्सका प्रतिनिधिसँग पहिलो चरणको वार्तापछि कम्पनी व्यवस्थापनले एयर फ्रान्सबाट ६ हजार ५ सयदेखि ४१ हजार कर्मचारी, कामदार हटाउने तथा एयर फ्रान्सको सहायक कम्पनी हपले १ हजारदेखि २ हजार ४ सय मजदूर सन् २०२२ सम्ममा हटाउने घोषणा गरेको थियो । एक अनुमान अनुसार विश्वभर यस वर्ष एयरलाइन्सहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने छन् । एयरलाइन्सको आम्दानीमा झण्डै आधा घट्ने छ । केही विमान कम्पनी बन्द हुनेक्रममा रहेका छन् । अधिकारीहरुले विश्वको एयरलाइन्स व्यवसायलाई बचाउन वा लयमा फर्किन केही वर्ष लाग्ने बताएका छन् । कोरोनाभाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ । कम्पनीले प्रति दिन १ करोड ५० लाख युरो गुमाउनु परेको छ । सरकारले उपलब्ध गराएको वित्तीय सहायता ऋण र ऋणको प्रत्याभूतिका रुपमा दिइएको छ । उड्डयन क्षेत्रमा फ्रान्स सरकारले करिब १५ अर्ब युरोको आर्थिक सहयोगको व्यवस्था गरेको छ । फ्रान्समै रहेको युरोपेली बिमान निर्माता कम्पनी एयरबसले पनि शुक्रबार कम्पनी बचाउन करिब १५ हजार कामदार, कर्मचारी हटाउने घोषणा गरिसकेको छ । रासस–एपी