मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हुँदै गएको सरोकारवालाको भनाइ छ । सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गरेका छन् । पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उनले बताएका छन् । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ । मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो भनेका छन् । पत्रकार हत्याको यस घटनाप्रति उनले दुःख व्यक्त गरे । पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । सो प्रहारबाट सख्त घाइते भएका उनलाई अस्पताल पु¥याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उनी ४७ वर्षका थिए । ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए । ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो । पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् । उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन । प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ । यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन । रासस/एएफपी

मोदीले शुरु गरे ‘म पनि चौकीदार’ अभियान, यो चुनावमा पनि पुरानै ‘फण्डा’

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गरेका छन् । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उनले अभियानको सुरुवात गरेका हुन् । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै चौकीदार हुन्,” उनले भनेका छन् । प्रधानमन्त्री मोदीले देशको प्रगतिका लागि कडा मिहनेत गर्नेहरुलाई पनि चौकीदारको संज्ञा दिँदै आज भारतका सबै नागरिकले म पनि चौकीदार हुँ भन्ने गरेको बताए । अघिल्लो पटक सन् २०१४ मा भएको निर्वाचनमा आफू चौकीदार बन्न चाहेको बताउनु भएका मोदीले अहिले फेरि त्यही चौकीदारको विषयलाई अभियानको रुपमा सुरु गरेका हुन् । चौकीदारले पैसा र सम्पत्तिको सुरक्षा गरे झैं आफूले देशको संरक्षण गर्न चाहेको उनको भनाई छ । काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले “चौकीदार चोर भयो” भन्ने टिप्पणी गरेपछि बिजेपीले त्यसको सर्वेक्षण गर्दा धेरै मान्छे चौकीदारको पक्षमा देखिएकाले “म पनि चौकीदार” अभियान उनले सुरु गरेका हुन् । सर्वेक्षणले चौकीदारलाई होच्याइएकामा धेरै जना रिसाएको पनि देखाएको अधिकारीहरुले जनाएका छन् । यसअघिको निर्वाचनमा प्रधानमन्त्री मोदीलाई “चियावाला” को रुपमा पनि यसैगरी प्रचार गरिएको थियो । त्यो पनि सकारात्मक र प्रभावकारी भएको थियो । भारतमा यही मार्च ३१ देखि निर्वाचन हुन लागेकाले निर्वाचनको दिन नजिकिदै जादा प्रचार प्रसार पनि तिव्र हुन थालेको छ । रासस/एएनआई

व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र ७ अर्ब ८० करोड डलरमा खुम्चियो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी विश्वविद्यालयका अर्थशास्त्रीहरुले गरेको एक अध्ययनले लक्षित मुलुकहरुबाट अमेरिकातर्फ भएको आयातमा ३१.५ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ । अमेरिकी निर्यातमा पनि ११ प्रतिशतले कमी आएको छ । आयातमा भएको लागत वृद्धिले उपभोक्ता र उत्पादकलाई वार्षिक करिब ६९ अर्ब डलर नोक्सान भएको छ । आयात र निर्यातको गणनाबाट गत वर्ष कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को शून्य दशमलब शून्य ४ प्रतिशत अर्थात् करिब ७ अर्ब ८० करोड डलर नोक्सान भएको अनुसन्धाताहरुले बताएका छन् । आर्थिक अनुसन्धान राष्ट्रिय ब्यूरोले प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनले राष्ट्रपति ट्रम्पले चीन समेतका कतिपय मुलुकसँग रहेको व्यापार घाटा कम गर्न जस्तोसुकै कदम चाल्ने ट्रम्पको घोषणाले अमेरिकी र विश्व अर्थतन्त्र खुम्चिने देखिएको जनाएको छ । अमेरिकी म्यानुफ्याक्चरिङ क्षेत्रलाई बचाऊ गर्ने नाममा राष्ट्रपति ट्रम्पले संरक्षणवादी व्यापार नीति अबलम्बन गरेको आरोप लाग्दै आएको छ । वासिङ्टन र बेइजिङबीच एकअर्का मुलुकका सामानमा करवृद्धि गरिएको भएपनि अन्ततः व्यापार विवाद सुल्झाउन हाल वार्ता जारी छ । अमेरिकाले चीन मात्र नभई युरोपेली युनियन र अरु प्रमुख व्यापारिक साझेदार मुलुकमाथि करवृद्धि गर्ने तथा आयात रोक्नेजस्तो कठोर कदम चालेको छ । “अमेरिकाकै रिपब्लीकन पार्टी विजयी भएकै राज्यहरुमा व्यापार युद्धले बढी असर पारेको छ,” अनुसन्धानमा देखिएको छ । रासस/एपी