अमेरिकामा दैनिक एक लाख कोरोना संक्रमित थपिने चेतावनी

काठमाडाैं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा एन्थोनी फाउचीले बताएका छन् । विशेषज्ञसमेत रहेका फाउचीले आगामी दिनमा अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् । पछिल्लो समय अमेरिकामा प्रत्येक दिन करिब ४० हजार जनामा कोरोना पुष्टि हुँदै आएको छ । ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन’ फाउचीले भने । मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब अवस्था आउने फाउचीको भनाइ छ । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । वल्डोमिटरका तथ्यांक अनुसार अमेरिकामा हालसम्म अमेरिकामा २७ लाख २७ हजार ८ सय ६० जना कोरोना संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या १ लाख ३० हजार पुगिसकेको छ ।  त्यस्तै ११ लाख ४३ हजारभन्दा बढी उपचार पछि निको भएका छन् । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख ८५ हजारभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख १३ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

इरानकाे एक क्लिनिकमा विष्फोट हुँदा १३ जनाको मृत्यु

काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । दर्जनौं मानिसहरु घाइते भएका छन् । इरानको सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भइ उक्त घटना भएकाे हो । साे विष्फाेटनमा मृत्यु हुने अधिकांश महिलाहरू रहेका छन् । विष्फोटपछि क्लिनिकमा आगो लागेर आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको बीबीसीले जनाएकाे छ । यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो ।

भारत सरकारकाे थप राहत प्याकेज: ९० हजार करोड भारुमा ८० करोडलाई निःशुल्क रासन

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बरसम्म ८० कारोडभन्दा बढी मानिसलाई निःशुल्क रासन वितरण गरिने बताएका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् । उनले कोरोना भाइरसको रोकथामका लागि भारतीय सरकारले सही कदम चालेको पनि बताएका छन् । उनले सही समयमा गरेको लकडाउनको कारण लाखौं मानिसहरुको ज्यान जागिएको बताए । उनले कानुनभन्दा माथि कोही नभएकोले सबैले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी मार्गनिर्देशनहरू पालना गर्न अनुरोध गरे । उनले हालसम्म जनताको राहतका लागि धेरै खर्च गरेको बताउादै अझै पनि नोभेम्बरसम्म गरिब नागरिकहरूलाई पाँच किलो गहुँ र पाँच किलो चामल पाँच महिनासम्मका वितरण गर्ने बताएका हुन् । उनले यसका लागि सरकारले ९० हजार करोड रुपैयाँ खर्च गर्ने उनको भनाई छ ।