कोरोनो भाइरस नियन्त्रणका लागि कोरियाले छुट्यायाे २५ अर्ब अमेरिकी डलर

काठमाडौं । दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसँगै राष्ट्रपति मुन जाइ इनले २५ अर्ब अमेरिकी डलर छुट्याएको छ । पछिल्लो समय कोरोनाका विरामी अत्याधिक बढिरहेको अवस्थामा सरकारले उक्त रकम रोग नियन्त्रणको घोषणा गरेको योन्हाप न्युज एजेन्सीले जानकारी दिएको छ । हालसम्म कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति मुनले २४ घन्टे आकस्मिक कक्ष सबै सरकारी कार्यालयमा निर्माण गर्न आदेश दिएका छन् । एक चर्चबाट भाइरस फैलिएको थियो। अहिले संक्रमित भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ।

कोरोना भाइरसबाट इरानमा २१० को मृत्यु

लन्डन । कोरोना भाइरसको सङ्क्रमणबाट इरानमा कम्तीमा २ सय १० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको सङ्ख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ । शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताए। इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए । हालसम्म विश्वमा ८३ हजारभन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् । रासस/एएफपी

अमेजन र फ्ल्पिकार्डलाई छोड्दै एप्पल कम्पनी, अब भारतमा आफैले अनलाइनबाटै बिक्री गर्ने

काठमाडाैं । एप्पलले अब आफ्ना उत्पादनहरु अनलाइनबाटै बिक्री गर्ने भएकाे छ । अहिलेसम्म अमेजन र फ्ल्पिकार्ड जस्ता तेश्रो पक्षमार्फत आफ्ना उत्पादनहरु बिक्री गर्दै आएको एप्पलले अब भने आफैले बिक्री सम्हाल्ने भएको हो । कम्पनीले यस वर्षदेखि प्रत्यक्ष अनलाइन बिक्री र अर्को वर्ष आधिकारीक रिटेल स्टोरको स्थापना गर्ने रणनीति लिएकाे छ ।  सन् २०२१ मा मोबाइल फोन निर्माता एप्पलले आफ्ना उत्पादनहरुको प्रत्यक्ष बिक्रीका लागि आधिकारीक बिक्री केन्द्रको स्थापना गर्न लागेकाे हाे । प्रसिद्ध अमेरिकी मोबाइल फोन तथा अन्य विद्युतीय सामाग्री निर्माता यस कम्पनीले हालै सेयरधनीहरुसँगको वार्षिक बैठकको क्रममा सो निर्णय सार्वजनिक गरेको हो । भौतिक बिक्री केन्द्रको स्थापना हुनु अघि नै कम्पनीले यसै वर्षको अगष्ट-सेप्टेम्बरदेखि भारतमा अनलाईनमार्फत आफैले बिक्री शुरु गर्ने कम्पनीका सीइओ टिम क्रुकले बताएका छन् । ‘स्थानीय साझेदारसँग साझेदारी नगरी हामी आफैले सामाग्री बिक्री गर्ने हो भने सोका लागि हामीलाई भारतीय सरकारको विशेष स्वीकृति चाहिन्छ,’ सीइओ क्रुकले बैठकमा भने, ‘तर म चाहन्न कि हाम्रो ब्राण्ड कोहि अरुले बेचोस्, न त हामी कसैको राम्रो साझेदार नै बन्न सक्छाैं ।’ अनलाइन बिक्रीको सुरुवात उद्घाटन गर्ने र सोहि बेला आधिकारीक बिक्री केन्द्र स्थापनाको लागि भारतीय सरकारसँग विशेष अनुमति लिने उदेश्यका साथ आउँदो जुलाइदेखि सेप्टेम्बरसम्मको अवधीमा क्रुकले भारतको भ्रमण गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ‘भारत बजारमा रहेका सम्भावना र अवसरहरुबारे म पूर्णरुपमा विश्वस्त छु’, क्रुकको भनाइलाई ऐजेन्सीहरुले उदृद गर्दै भनेका छन्, ‘यहाँको बजारको चलायमानता र भारतीय जनसंख्याको उपभोगको ढाँचा अन्यको भन्दा बिल्कुलै फरक छ ।’ यसै वर्षको दोश्रो छ महिनाभित्र संसारको दोश्रो ठूलो मोबाइल फोन बजार भारतमा पहिलो रिटेल स्टोर खोल्ने योजना बनाएता पनि स्टोर स्थापनाका लागि आवश्यक सामाग्रीको आपूर्तिमा व्यवधान आएको भन्दै सो उद्देश्य अर्को वर्षमात्रै हासिल हुने कम्पनीले केहि समय अघि बताएको थियो । कम्पनीले मुम्बइस्थित म्याक्सिटी मलको तीन तल्ला भाडामा लिइसकेको जसमध्ये पहिलो तल्लामा अनुभव केन्द्र (एक्सपेरियन्स सेण्टर), दोश्रो तल्लामा खुद्रा बिक्री केन्द्र र तेश्रो तल्लामा सेवा केन्द्र राख्ने योजना भएको ऐजेन्सीहरुले उल्लेख गरेका छन । बीबीसीको एक रिपोर्टअनुसार कोरोना भाइरसको प्रकोपअघि देखि नै चीनमा एप्पलका उत्पादनहरुको बिक्री घटिरहेकाले कम्पनीले भारतजस्तो वैकल्पिक उदयीमान बजारहरुमा आफ्नो उपस्थितीलाई बलियो बनाउने रणनीति लिएको छ । त्यसो त कोरोना भाइरसको प्रकोपको कारण आफ्नो विश्वब्यापी व्यापारमा ठुलो धक्का लाग्ने र चालू त्रैमासिकको कुल कमाइको प्रक्षेपण हासिल नहुने एप्पलले स्पष्ट पारिसकेको छ । चीनस्थित उसका विभिन्न सामाग्रीहरुको पाटपूर्जा तथा सहायता हिस्साको उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदा एप्पलको विश्वब्यापी आपूर्ति चक्र प्रभावित बनेको छ । २०१९ को अक्टोबरदेखि डिसेम्बरसम्मको त्रेमासिकमा एप्पलले भारत र ब्राजिलमा दुई अंकको बृद्धि हासिल गरेको थियो । सो अवधिमा भारतमा मात्रै करिब नौ लाख २५ हजारवटा आइफोनको बिक्री भएको थियो । कम्पनीले भारतबाट हुने आफ्ना सामाग्रीहरुको उत्पादनलाई पनि वृद्धि गरेको छ । भारत र छिमेकी बजारको मागलाई सम्बोधन गर्न र आफ्नो उत्पादनको उपलब्धतालाई सहज बनाउन एप्पलले गत वर्षदेखि भारतबाट उत्पादन थालेको छ । आक्रामक मूल्य र सुदृढ वितरण प्रणाली लगायतका रणनीतिको कारण एप्पलका उत्पादनहरुले भारतीय बजारमा ठूलो हिस्सा लिने विश्वास गरिएको छ ।