व्यापार वार्तामा ‘धैर्य नगुमाउन’ ट्रम्पको चीनलाई आग्रह

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार वार्तामा धैर्य बन्न आग्रह गरेका छन् । अमेरिकाले चिनियाँ उत्पादनमा मूल्य वृद्धि गरेको र चीनले पनि यसको उचित जवाफ दिने बताइरहँदा अमेरिकी राष्ट्रपतिले व्यापार विवादबारे हतार गर्नु आवश्यक नरहेको बताए । अमेरिकाले चीनबाट आयात गर्ने सामानमा २ खर्ब अमेरिकी डलर बराबरको भन्सार करलाई १० प्रतिशतदेखि २५ प्रतिशतसम्म बढाएपछि चीनले शुक्रबार अमेरिकाको सो कारवाहीसम्बन्धी वक्तव्य प्रकाशित गरेको छ । सो वक्तव्यमा अमेरिकाले यस्तो कारवाही गरेकोमा चीनलाई अफसोस लागेको र चीनले बाध्य भएर जवाफी कदम चाल्ने जनाइसकेको छ । ११ औं चीन–अमेरिका आर्थिक उच्चस्तरीय वार्ता हालै अमेरिकी वासिङ्टनमा चलिरहेको छ । अमेरिकाले चीनसँगै एउटै दिशातिर अघि बढ्दै साझा प्रयासमार्फत सहयोग तथा छलफलका माध्यमबाट विद्यमान समस्याको समाधान गर्ने आशा चीनले लिएको सो वक्तव्यमा उल्लेख गरिएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच एक बर्षदेखि व्यापार वार्ता चलिरहेकोमा बिहीबार रातिदेखि उनीहरूबीच सौदाबाजी चलिरहेको छ । अमेरिकामा चलिरहेको वार्तामा चिनियाँ उप-प्रधानमन्त्री लिउ हे, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजर र अमेरिकी वित्तमन्त्री स्टेभेन मनुचिनले दुईपक्षीय वार्ताको नेतृत्व गरिरहेका छन् । चीनसँगको वार्ता निकै सौहाद्रपूर्ण ढङ्गबाट अघि बढिरहेको छ । निश्चयपनि हतारमा दगुर्नु आवश्यक छैन । किनकी चीनले अमेरिकालाई कर बुझाइरहेको छ,” ट्रम्पले शुक्रबार गरेको ट्वीटर सन्देशमा बताए । तर उनले करबारे व्यापारबार्ताबाट सम्झौता हुनुपर्ने बताए । रासस/एएफपी

ट्रम्पको एक ट्वीटले खस्कियो एसियाली शेयर बजार

हङकङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि तार्किक निष्कर्षमा पुग्न सकेको छैन । तर, व्यापार वार्ता निकै सुस्त किसिमबाट अघि बढेको भन्दै राष्ट्रपति ट्रम्पले चीनमाथि थप दबाब दिन चाहनु भएको केही विश्लेषकको भनाई छ । शाङ्घाई शेयर बजार एकै दिन ५ प्रतिशतले घटेको छ भने एसियाका अन्य शेयर बजारमा पनि मन्दी छाएको छ । “विगत १० महिनादेखि चीनले ५० अर्ब डलर बराबरका उच्च प्रविधिका सामग्रीका लागि २५ प्रतिशत कर तिर्दै आएको छ, र २०० अर्ब डलर बराबरका सामानमा थप भएको १० प्रतिशत कर तिरिरहेको छ,” राष्ट्रपति ट्रम्पले स्थानीय समयअनुसार आइतबार राति ट्वीट गर्दै भने, “अब आगामी शुक्रबारदेखि त्यो १० प्रतिशत करलाई २५ प्रतिशत बनाइनेछ ।” राष्ट्रपति ट्रम्पको ट्वीटसँगै अर्को चरणको वार्ता हुने वा नहुने भन्नेमा अन्यौल बढेको छ । यसैसाता चिनियाँ व्यापार वार्ताकारहरु वार्ताका लागि अमेरिका प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । ब्लुमबर्ग न्यूजका अनुसार चिनियाँ पक्षले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अमेरिका र चीनले गतवर्ष एकअर्का विरुद्ध ३६० अर्ब अमेरिकी डलर बराबरका सामानमा करबृद्धि गरेका छन् । तर, राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच थप करबृद्धि नगर्ने र वार्ताद्वारा समस्याको समाधान निकाल्ने सहमति भएपछि गतवर्ष डिसेम्बर १ तारिख व्यापार वार्ता जारी छ । उक्त सहमति भएपछि शेयर बजारको गिरावट रोकिएको थियो । हङकङको शेयर बजार पनि ३.३ प्रतिशत घटेको छ । सिंगापुरको शेयर बजार ३.३ प्रतिशत र ताइपेईको शेयर बजार १.८ प्रतिशतले घटेको छ । सिड्नी र वेलिङ्टनको शेयर बजारमा एकएक प्रतिशत घटेको छ । रासस/एएफपी

बेइजिङमा अमेरिका–चीन व्यापार वार्ता शुरु, यसपटक निर्णायक हुन सक्ने

बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच उत्पन्न व्यापार तनाबलाई सम्झौता मार्फत सहज तुल्याउने उपाय खोज्न दुबै मुलुकबीच व्यापार वार्ता बेइजिङमा बुधबार पुनः शुरु भएको छ । व्यापार वार्तामा सहभागी हुन अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङमा छन् । उनीहरुलाई चिनियाँ प्रतिनिधिमण्डलका नेता एवं उपप्रधानमन्त्री लिऊ हेले स्वागत गरेका थिए । अमेरिकी प्रतिनिधिहरुले यसपटकको वार्ता निर्णायक हुन सक्ने बताएका छन् । दुवै देशका व्यापार प्रतिनिधिबीच वासिङ्टनमा गत शुक्रबार पनि वार्ता भएको थियो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले केही महत्वपूर्ण विषयमा सहमति हुन अझै बाँकी रहेको प्रतिक्रिया दिएका थिए । अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पुर्याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ । चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ । चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ । रासस/एएफपी