भारतमा एकैदिन २९ हजारभन्दा बढीमा कोरोना पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८ लाख ७९ हजार ४ सय ४७ रहेको छ । गएको २४ घण्टाभित्र यहाँ २९ हजार १ सय ५ जना कोरोना संक्रमित भेटिएका छन् । भारतमा २४ घण्टाभित्र भेटिएको कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि जुलाई ११ मा सबैभन्दा धेरै २७ हजार ७ सय ५४ संक्रमित भेटिएका थिए । भारतमा आइतबार १८ हजार १ सय ३९ बिरामी निको भएको छ । पछिल्लो २४ घण्टामा पाँच सय व्यक्तिको ज्यान गएको छ । भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार १ सय ८७ रहेको छ भने ५ लाख ५४ हजार ३ सय ७० बिरामीहरु निको भएका छन् । (वल्डाेमिटरकाे तथ्यांकनुसार)

१०४ वर्षकी वृद्धाले अस्पताल नगई कोरोनालाई जितिन्

काठमाडौं । इङ्ल्याण्डमा १ सय ४ वर्षकी एक वृद्धाले कोरानाविरुद्धको युद्ध जितेकी छिन् । ग्रेस ग्रीनवुडको उपचार उनको घरमा नै भइरहेको थियो । करिब तीन हप्तादेखि आफ्नो ओछ्यानबाट उठ्नसमेत सकिनन् । उनलाई सास फेर्न समस्या भइरहेको थियो । तर सय वर्ष नाघिसकेकी उनी अस्पताल जानै परेन । अब उनी पूर्ण रुपमा स्वस्थ छिन् । ग्रेसको परिवारका अनुसार उनले आफ्नो जीवनमा अत्यधिक समस्याको सामना गर्नुपरेको छ र आफ्नो जीवनको धेरैजसो समय बिरामी भएरै बिताएकी छिन् तसर्थ उनीसँग चुनौतीसँग लड्ने हिम्मत छ । ग्रेसको जन्म म्यान्मारमा भएको थियो । उनले भारतमा नर्सको रुपमा केही समय काम गरिन् त्यसपछि लामो समुद्री बाटो हुँदै सन् १९४६ मा इङ्ल्याण्ड पुगिन् । इङ्ल्याण्डमा मेकअप आर्टिस्टको रुपमा काम गर्ने उनकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘केही हप्ता अघि उनी बिरामी भएकी थिइन् । जब डाक्टरले उनको स्वास्थ्यबारे जानकारी दिए तब हामी अत्यधिक डराएका थियौं । हामी जहाँ बस्छौं त्यहाँ कोरोनाका कारण थुप्रैको मृत्यु भएको छ ।’ ‘तर जब मेरी हजुरआमालाई आफूलाई कोरोना पोजेटिभ भएको थाहा भयो तब उनलाई यो कुराले खासै असर पारेन’ उनी भन्छिन् । क्रिस्टलका अनुसार उनकी हजुरआमा आशाले भरिपूर्ण बलियो इच्छाशक्ति भएकी महिला हुन् र आफ्नौ दैनिकको व्यायाम निरन्तरता दिन चाहन्छिन् । (बीबीसीको सहयोगमा)

अमेरिकाको फ्लोरिडामा एकै दिन १५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

काठमाडौं । अमेरिकी राज्य फ्लोरिडामा कोरोना भाइरस सङ्क्रमितहरूको एकैदिनमा अहिलेसम्मकै उच्च १५ हजार २ सय ९९ पाइएको छ । त्यो सङ्ख्या अमेरिकाभर पछिल्लो चौबीस घण्टामा बढेको सङ्क्रमितको झण्डै एक चौथाइ हो । ७ प्रतिशत अमेरिकी जनसङ्ख्या भएको उक्त राज्यले यसअघि क्यालिफोर्नियामा रहेको दैनिक उच्च वृद्धिको विन्दु तोडेको हो । योसँगै अमेरिकामा यस महामारीको अवस्था थप गहिरिएको ठानिएको छ । फ्लोरिडालाई यदि एउटा देश मान्ने हो भने नयाँ सङ्क्रमितको सङ्ख्याका आधारमा यो यतिखेर विश्वमै चौथो नम्बरमा पर्ने रोयटर्स समाचार संस्थाको एक विश्लेषणले जनाएको छ । यस्तो वृद्धिसँगै उक्त राज्यको स्वास्थ्य प्रणालीमा निकै चाप परेको देखिएको छ । चार दर्जनभन्दा बढी अस्पतालहरूले आफ्नो सघन उपचार क्षमता पूर्ण अवस्थामा चलिरहेको बताएका छन् । यो विवरणले एप्रिल महिनामा न्यूयोर्कमा देखिएका निकै खराब दैनिक वृद्धिका दरलाई छायाँमा पारिदिएको छ । पछिल्लो एकदिनमा थप ४५ जनाले उक्त राज्यमा भाइरसका कारण ज्यान गुमाएका छन् । महामारी सुरु भएयता अमेरिकामा १ लाख ३७ हजारभन्दा बढी मानिसहरूको कोभिड १९ का कारण मृत्यु भएको छ । फ्लोरिडाले मे महिनाबाट कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्न थालेको थियो । जुन त्यहाँको पर्यटन र वृद्धवृद्धाको जनसङ्ख्याका कारण असुरक्षित पाइएको छ । रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने राज्यका गभर्नर रोन देशान्तिसले मानिसहरूलाई मास्क लगाउन निर्देशन नदिनाले यस्तो अवस्था आएको भन्दै आलोचना भइरहेको छ । गभर्नरले त्यस्तो निर्णय लिने काम स्थानीय निकायहरूलाई छोडेका थिए । उनले लकडाउन लगाउन रूचि देखाएका थिएनन् र प्रतिबन्धहरू समेत छिट्टै खुकुलो पारेका थिए । पछिल्लो महिनाबाट उनले पुनस् केही बारहरूमा प्रतिबन्ध लगाउन थाले पनि त्यसले वृद्धिको क्रम रोकेको थिएन । ह्वाइटहाउसका कोरोना भाइरस सम्बन्धी कार्यदलका प्रमुख सल्लाहकार डा एन्थोनी फाउचीले सङ्क्रमित वृद्धिको क्रमले लकडाउन खुलाउन नसुझाएको भन्दै फ्लोरिडाको त्यस्तो कदमको आलोचना गरेका थिए । अमेरिकामा मास्क लगाउने विषयको निकै राजनीतिकरण भएको देखिन्छ । मास्क विरोधी मतले त्यसले व्यक्तिगत स्वतन्त्रतामा हानी गर्ने बताउने गरेका छन् । थुप्रै राज्यमा मास्क र अन्य कोरोनाभाइरससँग जुझ्ने उपायका विरूद्धमा प्रदर्शनहरू भएका थिए । अमेरिकाभर पछिल्ला दिनमा दैनिक ६० हजार जति नयाँ सङ्क्रमितहरू थपिएका छन् । सङ्क्रमितहरू निरन्तर बढिरहेका अन्य राज्यहरूमा एरिजोना, क्यालिफोर्निया र टेक्सस रहेका छन् । (बीबीसीबाट साभार)