इटालीमा कोरोना संक्रमण बढ्दाे, २४ घण्टाभित्र ३६८ जनाको मृत्यु

रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ । – अमेरिकी विमानस्थलमा भिडभाड संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाई गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन । उनी अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए । अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही “मन्दी” उत्पन्न भएको बताएका थिए तर उनले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन् । आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ – विशेष गरी एयरलाइन्स । चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोनाभाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ । धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन् । अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ । अष्ट्रेलिया र न्युजील्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन् । अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन् । “कोरोनाभाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन् । दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ । रासस

चीनबाहेक सबै देशका एप्पलका स्टोरहरु बन्द

वासिङ्टन । चीनबाहेक अन्य मुलुकको एप्पल स्टोर बन्द भएको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर झण्डै ६ हजार व्यक्तिको मृत्यु भएसँगै अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पल कम्पनीले चीनबाहेक अन्य मुलुकमा रहेका आफ्ना स्टोरहरु (बिक्री केन्द्रहरु) आगामी मार्च २७ सम्म बन्द गरेको छ । एप्पलका प्रमुख कार्यकारी टिम कूकले ट्वीट गर्दै चीन बाहेक एप्पलका स्टोरहरु मार्च २७ सम्म बन्द गरिएको र कोरोनाको सङ्क्रमण रोकथाममा सघाउन एक करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका थिए । कम्पनीले चीन बाहेकका अन्य मुलुकमा रहेका आफ्ना कार्यालयका कर्मचारीलाई खुकुलो कार्यस्थलको व्यवस्था गरिएको जनाएको छ । कूकले अनलाइन स्टोर भने खुलै रहने बताए । कम्पनीले घरबाटै काम गर्न सक्ने भएमा त्यसै बमोजिमको व्यवस्था गर्ने तथा कार्यालयमै आएर काम गर्नु पर्ने कर्मचारीका लागि निर्देशिका बमोजिम आवश्यक सजकता अपनाइने बताएको छ । सिन्ह्वाका अनुसार चीनमा कोरोना सङ्क्रमणमा नाटकीय रुपमा सुधार आएका कारण एप्पलका सबै स्टोर खुला गरिएको छ । अमेरिकामा रहेका ठूला बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्ना कार्यालयको व्यवस्थापनमा नयाँ व्यवस्था गरेका छन् । रासस /एएनआई

इरानमा कोरोना कारण मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघ्यो

काठमाडौं । इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या पाँचसय नाघेको छ । इरानी स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु हुनेको सङ्ख्या ५ सय १४ पुगेको हो । बिहीबारसम्म ४ सय २९ रहेकोमा बढेर सो सङ्ख्या नाघेको हो । यसैगरी सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय ६४ पुगेको छ । तीमध्ये तीन हजार ५ सय २९ जना निको भएर घर फर्किएको छन् । कोरोनाको सम्भावना देखिएकी इरानका सर्वोच्च नेता प्रमुख सल्लाहकार अली अक्बर बेलायतीलाई आफ्नो निवासमा अलग राखिएको छ । मध्यपूर्वी देशमध्ये इरानमा कोरोनाको सङ्क्रमण सबैभन्दा बढी देखिएको छ । इरानमा मन्त्री, सांसद र स्वास्थ्य अधिकारीसहित २५ जना विशिष्ट व्यक्ति पनि कोरोनाको सङ्क्रमण देखिएको छ । इजरायलमा १ सय ४३ जनाका सङ्क्रमण पुष्टि भएको छ भने साउदी अरबमा ८६ जनामा कोरोनाको सङ्क्रमण भएको साउदी अरवका कुल बिरामीमध्ये १४ जना इजिष्ट नागरिक भएको जनाएको छ । कुवेतमा कूल सयजना बिरामी भएका छन् ।लेवनानमा थप छसहित कूल ७७ बिरामी भएका छन् । मध्यपूर्वका अन्य देशमा पनि सङ्क्रमित छन्, तर थोरै छन् । रासस/सिन्ह्वा