भारतमा भाजपालाई अत्याधिक बहुमत, राहुलले हार स्वीकार्दै मोदीलाई दिए बधाई
नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि भएको निर्वाचनको बिहीबार साँझ ६ः३० बजेसम्मको मत गणना अनुसार भारतीय जनता पार्टीलाई अत्यधिक बहुमत आउने प्रष्ट सङ्केत देखिएको छ । बिहीबार बिहानदेखि मत मतगणना अनुसार सत्तारूढ भारतीय जनता पार्टीले १५ सीटमा बिजय हासिल गरिसकेको छ । भाजपा अन्य २८८ स्थानमा अग्रता कायम गरेको भारतीय निर्वाचन आयोगले जनाएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी भारतीय कङ्ग्रेसले दुई स्थानमा बिजय हासिल गरेको छ भने ५३ स्थानमा अग्रता कायम गरेको छ । भाजपा गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्स (एनडीए) ले ३४६ स्थानमा अग्रता कायम गरेको छ भने कङ्ग्रेस आई निकट यूनाइटेड प्रोग्रेसिभ अलाएन्स (यूपीए) को ९४ स्थानमा अग्रता कायम रहेको छ । अन्य १०२ स्थानमा अन्य साना तथा क्षेत्रीय दलको अग्रता रहेको छ । भाजपाले बहुमत आउनेभएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आगामी प्रधानमन्त्रीका रूपमा हेरिएको छ । उनको गठबन्धनले अत्यधिक बहुमत स्थानमा अग्रता कायम गरेपछि उनलाई नेपालका प्रधानमन्त्री के पी शर्मा ओली, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतले बधाई ज्ञापन गरेको समाचारहरू भारतीय सञ्चारमाध्यमले प्रशारण गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू, आफ्नो दल र आफू नेतृत्वको गठबन्धनलाई मतदान गरी विजयी गराउने भारतीय समर्थक, शुभचिन्तक, कार्यकर्ता तथा जीतका लागि अनवरत लाग्ने नेतृत्वलाई बधाई दिएका छन् । उनले निर्वाचनका लागि तय गरेको नारा सबको साथ, सबको विकास, सबको विश्वासको निष्कर्ष समग्र भारत र भारतीयहरूको विजय भन्ने वाक्यांश दोहोराउँदै भाजपाले आगामी दिनमा सवैलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् । कङ्ग्रेस नेता राहुल गान्धीले भारती प्रधानमन्त्री नरेन्द्र मोदीलाई निर्वाचनमा पाएको सफलताका लागि बधाई दिएका छन् । निर्वाचन परिणाम कङ्ग्रेसका लागि अनपेक्षित रहेको भएपनि कङ्ग्रेसका शुभचिन्तकलाई नआत्तिन राहुल गान्धीले एक पत्रकार सम्मेलनमार्फत् आग्रह गरेका छन् । उनले यस पहिल (सन् २०१४) मा करिब एक लाख मतका साथ विजय हासिल गरेको अमेठी निर्वाचन क्षेत्रमा आफ्नो हार स्वीकार गरेका छन् । यधपी मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन । उक्त क्षेत्रमा प्रतिश्पर्धामा रहेकी विजेपी नेता स्मृति इरानीलाई मतगणनाको अन्तिम परिणाम आउनुपूर्व नै गान्धीले वधाई दिएका छन् । त्यसैगरी गान्धीले निर्वाचनमा कङ्ग्रेसको अपेक्षाकृत नतिजा नआएको भन्दै हारको जिम्मा पार्टीको अध्यक्षका हैसियतले आफूले लिने बताए । भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाको पश्चिम बंगालमा व्यापक सुधार देखिएको छ । पाँच सय ४५ सदस्यीय भारतीय लोकसभामा ५४३ स्थानका लागि चुनाव भएको थियो । दुई स्थान राष्ट्रपतिले चयन गर्ने भारतीय संवैधानिक प्रावधान छ । लोकसभाका साथै उडिसा, आन्ध्र प्रदेश, सिक्किम र अरुणाचल प्रदेशको विधानसभाका लागि पनि चुनाव भएको थियो । अप्रिल ११ मा शुरू भएको निर्वाचन विभिन्न सात चरणमा गरी मे १९ मा सम्पन्न भएको थियो । चुनावको नतिजा आजै सार्वजनिक गर्नेगरी भारतीय निर्वाचन आयोगले तयारी गरेको छ । रासस/एएनआई
यूपी, विहार र बंगालमा उचालिँदा भाजपा चुनावमा बलियो: एक्लैको ३००, गठबन्धनकाे ३४०
काठमाडौं । भारतको लोकसभाका ५४२ सिटका लागि भएको निर्वाचनको नतिजा आउने क्रम चलिरहँदा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी फेरि बलियो देखिएको छ । मतगणना जारी रहँदा भाजपाले करिब ३०० सिटमा अग्रता कायम गर्दा सो दलको नेतृत्वमा रहेको नेशनल डेमोक्रेटिक एलाइन्सले ३५० स्थानमा अग्रता कायम गरेको छ । तुलनात्मक रुपमा मत घट्ने सर्भेक्षण गरिएको उत्तर प्रदेशमा समेत एक्जिट पोलको अनुमानजस्तो सिट नघट्नु र पश्चिम बंगालमा समेत ममता बनर्जीको दलसँग प्रतिस्पर्धामा उत्रिनुले भाजपाको अग्रता उच्च देखिएको हो । ४० वर्षदेखि कम्युनिष्ट शासन रहेको पश्चिम बंगालमा हाल प्रजातान्तिक विचारधाराको भाजपाले १५ सिटमा अग्रता कायम गरेको छ, अघिल्लो चुनावमा ४० सिटमध्ये ३७ सिट ममता बनर्जीको त्रिणमुल कँग्रेसले जितेको थियो । उत्तर प्रदेशमा भाजपाले कुल ८० सिटमध्ये ५८ सिटमा अग्रता कायम गरेको छ । त्यस्तै बिहारमा ४० सिटमध्ये एनडीए गठबन्धनको ३८ सिटमा अग्रता कायम गरेको छ । बिहारमा मुख्यमन्त्री नितिश कुमार र भाजपाको गठबन्धन जमेको छ । करिब ३० ओटा दलसँगको गठबन्धनमा रहेको भाजपाको मुख्य सारथी भनेको बिहारमा जितिश कुमारको जनता दल युनाइटेड र शिवसेना नेपाल हो । शिवसेनाले पनि करिब २५ स्थानमा अग्रता कायम गरिरहेको छ ।
लोकसभा अपडेट : भाजपा १३३, कँग्रेस ४१ सिटमा अगाडी, अरुलाई कति ? (सूचीसहित)
भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टी निकै अगाडी देखिएको छ । २३५ सिटको मतगणना सुरु हुँदा भाजपाले १३३ सिटमा अग्रता कायम गर्दा प्रमुख प्रतिपक्षी कँग्रेस आईले ४१ सिटमा अग्रता कायम गरेको भारतीन निर्वाचन आयोगले जनाएको छ ।