चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू   

बेइजिङ । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ । घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ । चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो । चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो । “चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।

जुकरबर्गलाई फेसबुकबाट हटाउने प्रयास विफल, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत दुबै जिम्मेवारी

सान फ्रान्सिस्को । मार्क जुकरबर्गलाई फेसबुकको अध्यक्षमा पुनः चयन गरिएको छ । यससँग फेसबुकका कतिपय लगानीकर्ताले उनलाई फेसबुक सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी पदमा रहँदा यसका गतिविधिलाई हेर्न समस्या भएको र यसका कारण फेसबुकको साखमा समस्या आउनसक्ने विचार राख्दै अध्यक्ष पद छाड्न सुझाब दिएका थिए । फेसबुकको वार्षिक साधारणसभामा गत बिहीवार भएको थियो । साधारण सभाल जुकरबर्ग प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहिरहने गरी अनुमोदन गरेको हो । फेसबुकमा जुकरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै हार्ने सम्भावना रहेको थियो । साधारणसभाको परिणामले जुकरबर्ग थप समय पनि दुबै जिम्मेवारी सम्हाल्न तयार रहेको देखिएको छ । जकर्बर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो । “संसारको एउटा विशाल कम्पनीमा अहिले जुकरर्बर्गले दुईवटा महत्वपूर्ण पद ओगट्ने भएका छन् । यदिे प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ,“ ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले भने । तर जुकरबर्गले गत अप्रिलमा आफ्नो नेतृत्वको बचाउ गर्दै भनेका थिए,“हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।” उनले साधारण सभापछि संछिप्त प्रतिक्रिया दिँदै भने “अबका दिनमा फेसबुकले आफ्ना प्रयोगकर्ताहरूको तथ्याङ्कलाई थप गोप्य बनाउने प्रयास गर्नेछ ।” एजेन्सी

तमिलनाडूकी निर्मला सीतारमण भारतको अर्थमन्त्रीमा नियुक्त

काठमाडौँ । नयाँ कार्यकालका लागि प्रधानमन्त्रीको सपथ लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्थमन्त्रीका रुपमा निर्मला सीतारमणलाई नियुक्त गरेका छन् । भारतीय जनता पार्टीकी राष्ट्रिय प्रवक्ता सीतारमण यसअघि रक्षामन्त्री रहेकी थिइन् । उनी सन् २०१७ सेप्टेम्बरमा रक्षामन्त्रीमा नियुक्त भएकी थिइन् । रक्षामन्त्री हुनु अघि उनले भारतको बाणिज्य तथा उद्योग तथा बित्त तथा कर्पोरेट मामिला मन्त्री पद सम्हालेकी थिइन् । कहाँकी हुन् सीतारमण ? तमिलनाडुकी सीतारमणले भारत यूरोप टेक्सटाइल ब्यापारमा पिएचडी गरेकी छिन् भने इन्टरनेशनल रिलेशनमा एमफिल समेत गरेकी छिन् । निर्मलाको जन्म तमिलनाडूको एक सामान्य परिवारमा सन् १९५९ अगस्ट १८ तारिखमा भएको थियो । बुबा रेलवेमा जागिरे थिए । पढाईका अवधिमा उनले धेरै ठाउँमा काम पनि गरिन् । पतिसँगै लन्डन पुगेकी उनले त्यहाँ घरको सजावटको सामान बिक्री गर्ने पसलमा सेल्स गर्लका रुपमा काम गरिन् । उनले लन्डनमा प्राइम बाटरहाउस नामक कम्पनीमा सिनियर म्यानेजरका रुपमा पनि काम गरिन् । केही समय बीबीसी विश्वसेवामा समेत काम गरिन् र पछि उनी भारत फर्केकी थिइन् । जेएनयूमा पढाईका क्रममा निर्मला र डा. परकाला प्रभाकरबीच प्रेम भएको थियो, पछि दुबै जनाले विवाह गरे । २००६ देखि भाजपामा आवद्ध सन् २००६ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी उनी सन् २००३ देखि २००५ सम्म राष्ट्रिय महिला आयोगको सदस्य थिइन् ।