अमेरिकी प्रतिबन्धपछि ‘फरक ढङ्गले’ तेल बेचिरहेको इरानको दावी

तेहरान । अमेरिकी प्रतिबन्धपछि पनि इरानले आफ्नो तेल उत्पादनलाई निर्यात गरिरहेको बताएको छ । “अमेरिकी प्रतिबन्धका कारण इरानको पेट्रोलियम पदार्थ खरिदमा विभिन्न मुलुक डराएपछि इरानले आफ्नो उत्पादनलाई ‘फरक ढङ्ग’ ले बजारमा पठाइरहेको छ,” इरानका तेल मन्त्री बिजान नाम्दार जान्गानेहले शनिबार स्थानीय पत्रिकालाई दिएको अन्तवार्तामा बताइएको छ । “हामीले अनाधिकारिक तथा फरक ढङ्गले तेलको विक्री गरिरहेका छौँ र यसबारे सबैकुरा गोप्य राखिएको छ । यदि यो अमेरिकालाई जानकारी भएमा अमेरिकाले यसलाई तत्काल रोक्छ,” इरानको पेट्रोल मामिला हेर्ने मन्त्रालयलाई उद्धृत गरी शाना न्यूज एजेन्सीले समाचार प्रकाशन गरेको छ । जानगानेहले कति मात्रामा तेलको निर्यात भइरहेको छ र कहाँबाट कसलाई तेल बेचिएको छ भन्नेबारे विस्तृत विवरण प्रतिबन्ध फुकुवा भएपछि मात्र बताइने उल्लेख गरे । इरानसँग विश्व शक्ति राष्ट्रहरूले गरेको आणविक सम्झौताबाट संयुक्त राज्य अमेरिका औपचारिक रूपमा फिर्ता भएको घोषणा गत बर्षको मे महिनामा भएको थियो । त्यसपछि वासिङ्टनले इरानलाई नयाँ सम्झौता गर्न दवाब दिन पहिलेका प्रतिबन्धमाथि थप कडाइ गर्दै नयाँ प्रतिबन्धको समेत घोषणा गरेको थियो । इरानको तेल निर्यात गत बर्षको अक्टुबरमा प्रतिदिन १५ लाख ब्यारेल रहेकोमा नयाँ प्रतिबन्धपछि अप्रिलमा ५० प्रतिशत कमी (सात लाख ५० हजार ब्यारेल) आएको ब्लुमवर्गले आफ्नो समाचारमा उल्लेख गरेको छ । रासस/एएफपी

नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने

न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । रासस÷एएफपी

अमेरिकासँग ब्यापार विवाद जारी रहँदा चीनले भन्यो-‘प्रबिधिको सुरक्षाका नयाँ व्यवस्था गर्दैछौँ’

बेइजिङ । चीन–अमेरिका ब्यापार विवाद जारी रहेका समय चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय अवलम्वन गर्ने बताएको छ । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी हुवावेद्वारा विकशित फाइभ–जी प्रबिधिका कारण राष्ट्रिय सुरक्षाको समस्या देखाउँदै यसलाई अस्वीकार गरेको र सहयोगी मुलुकहरूमा पनि यही किसिमको सन्देश फैलाएको हुवावेको दावी रहेको छ । चीनले प्रबिधिको ‘राष्ट्रिय सुरक्षा’ का लागि नयाँ उपाय खोज्न एक शक्तिशाली ‘नेशनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन’ लाई जिम्मा दिएको छ । जसले प्रबिधिको राष्ट्रिय सुरक्षाका लागि आइपर्ने समस्याहरूको अध्ययन गरी प्रभावकारी नीति अवलम्बन गर्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तर यो नयाँ उपाय व्यापार विवादसँग सम्बन्धित छ वा छैन भन्नेबारेमा केही खुलाइएको छैन । यद्यपि यसबारी थप जानकारी निकट भविष्यमा सार्वजनिक गरिने सिन्ह्वाले उल्लेख गरेको छ । रासस/एएफपी