सस्तो मूल्यमा चिया बेच्नु पर्दा पश्चिम बंगालको चिया उद्योग संकटमा
सिलिगुडी । भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ । भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो । भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ । अहिले उत्पादन लागतभन्दा सस्तो मूल्यमा चिया बेच्नु परेको यहाँका उद्योगहरुले जनाएका छन् । चिया बगानमा कार्यरत एक जना व्यवस्थापक प्रेमकुमार शर्माले चियाको मूल्य प्रतिकेजी भारु २० मा आइपुगेको छ र यसको प्रमुख कारण नै माग र आपूर्तिको असन्तुलन हो भन्दै हाल मागभन्दा आपूर्ति बढी रहेको बताए । उनले सरकारले तत्कालै चियाको न्यूनतम मूल्य तोक्नुपर्ने बताए । भारतीय टी एसोसिएसनका सचिव सुमित घोषले पनि यस्तै धारणा राखे । उनले भने– चियाको उत्पादन लागत बिक्री मूल्यभन्दा बढी भइसकेको छ । उत्तरी बंगाल क्षेत्रमा करिब पाँच लाख मजदूर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चियामा आश्रित छन् । भारतीय चिया बोर्डले यस समस्याको समाधानका लागि तत्कालै चियाको न्यूनतम मूल्य तोक्नु पर्दछ । सन् २००३ मा भारतमा करिब ८७ करोड ८० लाख केजी चिया उत्पादन भएको थियो । तर सन् २०१८ मा चिया उत्पादनमा व्यापक वृद्धि भई एक अर्ब ३३ करोड ८० लाख केजी पुगिसकेको छ । करिब ५२ प्रतिशतले चिया उत्पादन बढेकै कारण बजारमा चियाको मूल्य घट्न थालेको घोषले बताए । रासस/एएनआई
नक्कली लाइसेन्स भए पाँच वर्ष गाडी चलाउन प्रतिबन्ध
हनोई । भियतनामले नक्कली सवारी चालक अनुमतिपत्र बनाए वा परीक्षा अनुत्तीर्ण भई सवारी चलाएको पाइए पाँच वर्ष सवारी साधन चलाउन प्रतिबन्ध गर्नेगरी नयाँ नियम लागू गरेको छ । स्थानीय संचारमाध्यमका अनुसार नयाँ नियम आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । भियतनाम सडक विभाग तथा गृह मन्त्रालयले नक्कली सवारी चालक प्रमाणपत्र बिक्री गर्ने गिरोहलाई पक्राउ गर्न देशव्यापी अभियान सञ्चालन गरिने जनाएको छ । सवारी चालक अनुमतिपत्र लिनेक्रममा गरिने परीक्षा प्रणालीलाई थप व्यवस्थित गरिनेछ । भियतनाममा नक्कली लाइसेन्स र स्वास्थ्य परीक्षण प्रमाणपत्र अनलाइनबाटै बिक्री गर्नेक्रम बढेको छ । लाइसेन्स लिनेक्रममा हाल ४५० वटा प्रश्नको साटो ६०० वटा प्रश्न सोध्ने नयाँ नियम बनाइएपछि नक्कली लाइसेन्स लिनेक्रम ह्वात्तै बढेको अध्ययनले देखाएको छ । यसै वर्षको पहिलो पाँच महिनामा भियतनाममा ६ हजार ७७९ वटा सवारी दुर्घटना भएका छन्, जसका कारण तीन हजार १२८ जनाको मृत्यु हुनुका साथै दुई हजारभन्दा बढी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा
दक्षिण सुडानमा तलब विवादले रोकियो बजेट
काठमाडौं । कर्मचारीको तलब विवादका कारण दक्षिण सुडानको संसदमा बिहीबार आर्थिक वर्ष सन् २०१९–२०२० को बजेट प्रस्तुत हुन सकेन । सांसदहरुले सेना र कर्मचारीको वक्यौता तलब भुक्तानी नहुँदासम्म नयाँ बजेट ल्याउन नदिने बताएपछि बैठक स्थगित भएको हो । सभामुख एन्थोनी लिनो मकानाले सांसदहरुले उठाएका मागका बारेमा सुनिसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गरेको हो । दक्षिण सुडानका अर्थमन्त्री साल्भाटोर गाराङ माबियोर्डिटले बिहीबार आगामी आर्थिक वर्ष सन् २०१९–२० का लागि संसदमा करिब एक अर्ब ३० करोड अमेरिकी डलरको बजेट प्रस्तुत गर्ने कार्यक्रम थियो ।दक्षिण सुडानमा विगत छ महिनादेखि निजामती र सैनिकले तलब पाउन सकेका छैनन् । दक्षिण सुडानमा राजश्वको मुख्य स्रोत तेल उत्पादन र विक्री हो । सन् २०१८ मा सुडानले दैनिक करिब १ लाख ७५ हजार ब्यारेल कच्चा तेल उत्पादन गर्दछ । रासस