जर्मनमा २१ औँ गैरसरकारी संस्थाको सम्मेलन हुँदै

काठमाडौं । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन लागेको सो सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्नु आवश्यक भएको भन्दै यसका लागि बाह्य लगानी, प्रविधि र ज्ञान भित्र्याउन सकिने सम्भावनाका बारेमा छलफल हुने सङ्घका अध्यक्ष रामप्रताप थापाले बताएका छन् । उक्त सम्मेलनमा नेपालका लागि जर्मनीका राजदूत रोलाल्ड सेफरले विशेष मन्तव्य दिनेछन् भने नेपालका लागि जर्मनीका महावाणिज्यदूत समेत रहेका अध्यक्ष थापा र गोटिङ्गेनका डा. वियाट्रिस क्लिरको पनि विशेष प्रस्तुति रहने सङ्घले आज जनाएको छ । सो अवसरमा नेपालमा प्राविधिक शिक्षा चुनौती र अवसर तथा गैरसरकारी संस्थाको वर्तमान अवस्थाका बारेमा पनि कार्यपत्र प्रस्तुत हुनेछ । हरेक वर्ष आयोजना हुने यस सम्मेलनमा नेपाललाई सहयोग गर्दै आएका जर्मनीका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहने आयोजकले जनाएको छ । रासस

ओलीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् । गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका हुन् । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायतका सदस्यहरु रहेका छन् । रासस

चीनभन्दा ठूलो ‘दुश्मन’ फेडका प्रमुख पावेल, राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै प्रमुख पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइएका छन् । फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “उनले राजिनामा दिए, मैले रोक्ने छैन ।” राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो “दुश्मन” पावेल रहेको बताए । हाल चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाेड्डेका छन् । फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए । रासस /एएफपी