कोरियामा काेराेनाकाे कहरमा निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था

काठमाडौं । कोरोना सङ्क्रमण महामारीकै बीच राष्ट्रियसभाका ३ सय सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन भइरहेको छ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १ सय २० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत आउनेमा ढुक्क छ । सदनमा युटाइटेड फ्युचरको पार्टीको १ सय १२ सिट भए पनि २० सांसदले छुट्टै युनाइटेड पार्टी खोलेर चुनावी मैदानमा होमिएका छन् । उनीहरु पनि आफ्नो बहुमत आउने दाबी गरिरहेका छन् । मजदुरको पक्षधर मानिने राष्ट्रपति मुनको तीनवर्षे कार्यकाल पूरा भएको छ । आफूले सत्ता सम्हाल्नासाथ मजदुरको ज्याला प्रतिघण्टा १० हजार वन पुर्याउने उनको महत्वकाङ्क्षी योजना अझै पूरा हुनसकेको छैन तर पनि अन्य योजनाहरु चुस्तगतिमा अगाडि बढाउनाका साथै कोरोना माहामारीलाई घटाउन उनको सरकारले गरेको कदमको विश्वव्यापीरूपमा प्रशंसा भइरहेको छ । मुनको पार्टी डेमोक्रेटिकले निर्वाचनमा बहुमत पाए मुनलाई बाँकी दुई वर्ष आफूले चाहेअनुसारका काम गर्न, नीति नियम बनाउन र योजना पूरा गर्ने अवसर हुनेछ । जोखिम हुन नदिन तयारी कोरियाली निर्वाचन आयोगका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । मतदाताले लाइनमा उभिँदा एक मिटर दूरी कायम राख्नुपर्ने, सबैले मास्क लगाउनुपर्ने, मतदान केन्द्र प्रवेश गर्नुअघि स्यानिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने छ । हातमा स्यानिटाइजर लगाएपछि निर्वाचन आयोगका प्रतिनिधिले दिएको प्लास्टिकको पञ्जा लगाउनुपर्ने व्यवस्था गरिएको छ । मतदानस्थलमा सबै मतदाताको विशेष यन्त्रमार्फत ज्वरो नापिने र ३७.५ भन्दा बढी तापक्रम भएका मतदातालाई छुट्टै लाइनको व्यवस्था गरिनेछ । चुनावमा कोरोना सङ्क्रमितले पनि भोट हाल्न पाउनेछन् । उनीहरु बिहान ९ बजेभन्दा अघि र बेलुकी ६ बजेपछि मात्र मतदान केन्द्र जान सक्ने व्यवस्था मिलाइएको छ । साथै विदेशमा रहेका कोरियाली नागरिकका लागि पनि मतदानको व्यवस्था गरिएको थियो । उनीहरुले दुई साताअघिदेखि नै भोट हालिसकेका छन् । कोरोना माहामारीका कारण कोरियाली सरकारले सभा सम्मेलन तथा भेला गर्न रोक लगाएको छ । सङ्क्रमण पुष्टि भएपछि गत जनवरी २० बाटै सभा सम्मेलन गर्न रोक लगाइएको छ । दुई वा तीन जना प्रतिनिधिहरुले सामान्य घरदैलो कार्यक्रम गरी प्रचारप्रसार तथा सामाजिक सञ्जाल र फोन म्यासेन्जरबाटै प्रचार भए भने कता कति गाडीबाट माइकिङमार्फत उम्मेदवारले आफ्नो योजना भने र ब्यानर टाँस्ने काम पनि गरेका थिए । निको भएका १ सय १६ मा पुन सङ्क्रमण कोभिड–१९ बाट सङ्क्रमण भई उपचारपछि निको भएर घर फर्किएका १ सय १६ जनामा पुनः सङ्क्रमण देखिएको छ । यससँगै यहाँका स्वास्थ्य अधिकारीले भाइरस पुनः सक्रिय भएको हुनसक्ने र यदि पुनः सक्रिय भएको हो भने यो विश्वका लागि नै चिन्ताको विषय हुनसक्ने आशय व्यक्त गरेका छन् । पछिल्लो समय दक्षिण कोरियामा नयाँ सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लागिरहेको छ । यसले कोभिड–१९ रोकथामका लागि कोरिया विश्वभर प्रशंसित हुँदैछ । तर पुनः सङ्क्रमितको सङ्ख्या देखिनु दुखद् कुरा भन्दै यहाँका स्वास्थ्य अधिकारीले यो सङ्ख्या अझै बढ्न सक्ने अनुमानसमेत गरेका छन् । यसका साथै यो भाइरस कसरी पुनः सक्रिय भयो भन्नेबारेमा पनि वैज्ञानिक कारणको अध्ययन जारी नै रहेको जनाएका छन् । तर केही विज्ञहरुले भने गलत परीक्षणका कारण यस्तो भएको हुनसक्ने पनि शङ्का गरेका छन् । चीनको वुहान शहरबाट कोरोनाको माहामारी फैलिएपछि लगत्तै सङ्क्रमण उच्च भएको मुलुक दक्षिण कोरियाले नेपालमा जस्तो लकडाउन नगरेरै कोभिड–१९ सङ्क्रमण रोक्न सफलता प्राप्त गरेको देखिन्छ । यहाँ हालसम्म १० हजार ५३७ जनाको सङ्क्रमण देखिएको छ भने २ सय १७ ले ज्यान गुमाइसकेका छन् । रासस

भारतमा कोरोना संक्रमितकाे संख्या बढ्दाे, २४ घण्टामै १ हजार २११ थपिए

भारत । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् । भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसैगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (रासस/एएनआई)

मुद्राकोषले नेपालसहित विभिन्न देशको ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ । कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेका विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ । उनले भनेका छन् , “कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ ।” मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए। जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्राष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए । “संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ ।” (रासस-एपी)