जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुने, विशेष दर्जा खारेज

नयाँ दिल्ली । भारत सरकारले सोमबार जम्मु काश्मिरका लागि संविधानमा गरिएको विशेष दर्जा खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो । मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिए । अबका दिनमा जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ । यस राज्यमा नागरिकले अबका दिनमा दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । संविधानको धारा ३७० खारेजसँगै जम्मु काश्मिरबाट लद्दाखलाई अलग गरिएको छ । राष्ट्रपतिको आदेशमा लद्दाखलाई केन्द्र शासित प्रदेश बनाइएको छ । काश्मिर मामिलामा सरकारले गरेको निर्णयका प्रति पक्ष र विपक्षमा भारतीय जनमत उभिएको छ । केहीले सरकारको पक्षमा खुलेर समर्थन गरेका छन् भने केहीले काश्मिर समस्या अझ विकराल हुने बताएका छन् । सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै सिंगो काश्मिर क्षेत्र विभाजित भएको थियो । काश्मिरको केही भूभाग भारतमा र केही भूभाग पाकिस्तानमा छ । अलग्ग काश्मिर मुलुक बनाउने भन्दै काश्मिरमा लामो समयदेखि स्वतन्त्रता आन्दोलन चलिरहेको छ, र यसक्रममा हजारौंको ज्यान गइसकेको छ । काश्मिरकै विषयलाई लिएर भारत र पाकिस्तानबीच दुई देशबीच चार पटक युद्ध भइसकेको छ । सरकारको नयाँ घोषणासँगै जम्मु काश्मिरमा सुरक्षा व्यवस्था अझ कडा बनाइएको छ । आइतबार रातिबाट विकसित यस घटनाक्रममा नेसनल कन्फरेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष मेहबुबा मुफ्ती र जम्मु काश्मिर पिपुल्स कन्फरेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरूकै घरमा नजरबन्द गरिएको छ । श्रीनगरमा भारतीय संविधानको धारा १४४ लागू गरिएको छ । यो आदेशअनुसार मानिसहरूको स्वतन्त्र आवतजावतमा बन्देज लगाइएको छ र सबै शिक्षण संस्थाहरू बन्द भएका छन् । श्रीनगरमा मोबाइल फोन र इन्टरनेटको सेवा पनि बन्द गरिएको छ । रासस/एएफपी

बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसर कटौति गर्ने

लण्डन, बेलायत । बेलायती बैंक एचएसबीसीले चार हजार रोजगारीका अवसरलाई कटौति गर्ने सोमबार सार्वजनिक एक घोषणामा उल्लेख छ । एचएसबीसीका प्रमुख कार्यकारी अधिकृत जोन फ्लिन्टले बैंकलाई नयाँ आर्थिक सङ्कटबाट जोगाउन बैंकले आफ्नो सेवाका लागि उपलब्ध गराउँदै आएका चार हजार जागिरका अवसरलाई घटाउने बताएका छन् । “हामीले बैंकलाई पुनः संरचना गर्ने उद्देश्यले हाम्रो सम्पूर्ण श्रमशक्तिको दुई प्रतिशत अर्थात् चार हजार पदलाई हटाउन लागेका छौँ,” बैँकका प्रमुख आर्थिक अधिकृत एवेन स्टेभेनले बताए । उनले रोजगारी कटौति अन्तर्गत बैंकले उच्च पदलाई व्यवस्थापन गर्न लागेको पनि बताए । बेलायतले यूरोपेली यूनियन (इयू)बाट बाहिरिने तयारी गरिरहेका समय बैँकले उक्त निर्णय गरेको छ । रासस÷एएफपी

अमेरिकाको ओहायोमा फेरि गोली चल्यो, ९ जनाको मृत्यु

वासिङ्टन । अमेरिकाको ओहायो राज्यस्थित डेटनमा आइतबार बिहानीपख भएको गोलीकान्डमा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको मृत्यु भएको बताएको छ । गोलीकान्डमा अरु १६ जना घाइते भएका र उनीहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ । यस घटनाको विस्तृत विवरण आउन बाँकी छ । अमेरिकाको टेक्सासमा शनिबार भएको अर्को गोलीकान्डमा कम्तीमा २० जनाको मृत्यु भएको थियो । रासस/एएफपी