क्यानाडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको हत्या

टोरन्टो । क्यानाडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको वेशमा आएका एक बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् । प्रहरीका अनुसार कोरोनाभाइरसका कारण लकडाउन गरिएकाले मानिसहरु घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगो समेत लगाइदिएका थिए । क्यानाडाको इतिहासमा सबैभन्दा विभत्स मानिएको यस घटनामा संलग्न व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको प्रहरीले जनाएको छ । मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दुरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर सबैभन्दा बढी मानिसका शव भेटिएका थिए । घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो । क्यानाडा सहित यो ठाउँ पनि कोरोनाभाइरस महामारीका कारण लकडाउनको अवस्थामा छ । प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए । ‘यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,’ नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनीलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्धका अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टी गरे । क्यानाडामा सामूहिक गोलीकाण्डका घटना कमै हुने गरेका छन् । सन् १९८९ मा मोन्ट्रियलको इकोल पोलिटेक्निक कलेजमा बन्दुकधारी मार्क लेपिनले १४ जना महिलाको हत्या गरेपछि क्यानाडाले आफ्नो बन्दुक नियन्त्रण कानुनमा संशोधन गरेको थियो । क्यानाडामा अहिले दर्ता नभएका ह्यान्डगन (हाते बन्दुक) वा एकै पटक धेरै गोली हान्न सक्ने (आरपिडब्लु) स्वचालित हतियार राख्न अवैध बनाइएको छ । हतियार किन्नुअघि पर्याप्त प्रशिक्षण, व्यक्तिगत जोखिम मूल्याँकन, दुई जनाको सिफारिस, पति वा पत्नीलाई पूर्व जानकारी तथा फौजदारी रेकर्डको जाँच गरिन्छ । उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले एउटा हस्तलिखित विज्ञप्ति प्रकाशन गरी ‘एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं’ भनेका छन् । प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिए । उनले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताए । उक्त घटना लगत्तै पुगेको प्रहरी र संदिग्ध व्यक्तिबीच गोली हानाहान भएको पनि लिथरले बताए । (रासस–एपी)

दक्षिण कोरिया कोरोना सँगको लडाइँ जित्दै, २४ घण्टामा ८ जनामा मात्र देखियो

काठमाडौं ।दक्षिण कोरियामा विगत २४ घण्टामा केवल आठ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिएको विवरण प्राप्त भएको छ। दुई महिनायता सङ्क्रमितको सङ्ख्या एकोहोरो अङ्कमा मात्रै थपिएको यो पहिलो पटक हो। सङ्क्रमणको दर उल्लेख्य रूपमा घटेपछि सरकारले भेला र जमघटमा लगाइएका प्रतिबन्धहरू फुक्का गर्ने घोषणा गरेको छ। आठ सङ्क्रमितमध्ये पाँच जना विदेशबाट फर्किएका व्यक्ति भएको बताइएको छ। कुनै बेला चीनपछि एशियामा सर्वाधिक सङ्क्रमण फैलिएको दक्षिण कोरियाले लकडाउन नलगाईकनै कोभिड-१९ महामारी उल्लेखनीय रूपमा नियन्त्रणमा लियो। त्यहाँ सङ्क्रमितको सङ्ख्या १० हजार ७ सय पुगेको छ भने २ सय ३४ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्। आक्रामक कदम फेब्रुअरी महिनामा एशियामा चीनपछि धेरै सङ्क्रमित हुनेको सङ्ख्या दक्षिण कोरियामा थियो। कोरोनाभाइरस प्रकोप नियन्त्रणमा ल्याउन दक्षिण कोरियाले सम्भावित सङ्क्रमित व्यक्तिको परीक्षण र पहिचान गर्न उपायहरू व्यापक रूपमा अवलम्बन गरेको थियो। राष्ट्रपति मुन जे-इनले आफ्नो देशले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको प्रगतिले कोभिड-१९ लाई परास्त गर्न सकिने आशा विश्वका अन्य भागमा पनि दिने बताए। अब गिर्जाघर, मदिरालय र व्यायामशालाहरू खुल्नेछन्। तर तिनले आगामी महिनाको आरम्भसम्म व्यक्तिगत दूरीसम्बन्धी नियम पालना गर्नुपर्नेछ । यसअघि कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि उदाहरणीय काम गरेको भन्दै प्रशंसा पाएको दक्षिण कोरियाले एप्रिल ४ तारिखमा दुई साताका लागि सामाजिक दूरी कायम गर्ने समयसीमा थपेको थियो। उक्त समयसीमा आइतवार सकिँदैछ। व्यक्तिगत दूरी कायम गर्नका लागि दक्षिण कोरियालीहरूलाई सार्वजनिक स्थलमा एकअर्काभन्दा दुई मिटर पर उभिन सुझाव दिइएको छ। उनीहरूलाई गिर्जाघर र अन्य भेलामा नजान सल्लाह दिइएको छ। एक महिनाका लागि बन्द गरिएका विद्यालयहरूले अनलाइनमार्फत् पढाउन थालिसकेका छन्।

नयाँ दिल्लीमा आठ स्वास्थ्यकर्मी संक्रमित, छलफलकाे लागि अस्पतालले बाेलायाे बैठक

सांकेतिक तस्विर नयाँ दिल्ली । भारतको नयाँदिल्लीमा रहेको एउटा अस्पतालका चिकित्सक र नर्सहरुलाई नै कोरानाभाइरसको संक्रमण भएको छ । नयाँदिल्लीस्थित लेडी हार्डिङ्ग हस्पिटलमा कार्यरत २ चिकित्सक, ६ नर्स र १ जना दश महिने बच्चा संक्रमित भएका हुन् । अग्रपंक्तिमा रहेर काम गर्ने आठ जना स्वास्थ्यकर्मी कोरोनाभाइरसबाट प्रभावित भएको अस्पतालले आइतबार पुष्टि गरेको छ । उनीहरुलाई अहिले क्वारेन्टाइनमा राखिएको र उनीहरुले को को सँग सम्पर्क गरेका थिए भन्ने बारेमा विवरण संकलन भइरहेको पनि अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी नै संक्रमित भएपछिको योजनाका बारेमा छलफल गर्न अस्पतालले उच्च अधिकारीहरुको बैठक बोलाएको छ । यसैबीच, भारतको दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना विरुद्धको लडाईंमा मृत्यु हुनेको परिवारलाई एक करोड भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । कोरोनाभाइरस विरुद्ध काम गर्ने क्रममा कुनै व्यक्तिको मृत्यु भएमा उनीहरुका परिवारलाई प्रतिव्यक्ति भारु एक करोड दिइने उनले शनिबार घोषणा गरेका हुन्। नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यदि कुनै चिकित्सक, नर्स, सरसफाई कर्मचारी, प्रयोगशालाका प्राविधिक वा यस्तै कोही व्यक्ति उपचारका लागि खट्दा निधन हुनसक्छ, उनीहरुका परिवारलाई राहत स्वरुप भारु एक करोड दिइने छ ।’ मुख्यमन्त्री केजरीवालले ६० ओटा सेनिटाइजेसन मेसिन मार्फत् सहर बजारमा सरसफाई गर्ने कार्य भइरहेको पनि जानकारी दिए । उनले सामाजिक दुरी कायम गर्न आम नागरिकलाई आग्रह गरेका छन् । शिविर बनाइएका क्षेत्रमा सामाजिक दुरीको अलि बढी ख्याल गर्नु पर्ने उनको भनाई छ । शहरी क्षेत्रमा ७१ ओट शिविर बनाइएको उनले जानकारी दिए । अलपत्र परेका तथा खान बस्न नपाएकाहरुलाई त्यस्ता शिविरहरुमा राखिएको मुख्यमन्त्री केजरीवालले जानकारी दिए। (रासस/एएनआई)