अब निगमको ओसाका उडान सातामा दुई दिनमात्रै

काठमाडौं । यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो । निगमले अव सातामा मङगलबार र शनिबार मात्र उडान गर्नेछ । यसअघि सातामा तीन दिन मङलबार, आइतबार र शनिबार उडान गर्ने कार्यतालिका थियो । ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो । त्यसयता जम्मा तीन उडान भएका छन् । पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले राससलाई जानकारी दिएका छन् । उनका अनुसार दसैँ, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पुर्याइनेछ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यसताका निगमले काठमाडौँदेखि चीनको साङ्घाई हुदैँ ओसाका उडाउने गरेको थियो । निगमको ध्यानाकर्षण नेपाल वायुसेवा निगमले आफ्नो संस्था र कार्यकारी अध्यक्ष मदन खरेलसँग जोडी विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेल हाल अस्वस्थ्य भएकाले चिकित्सकको सल्लाह बमोजिम उपचारको सन्दर्भमा आराम गरिरहेको स्पष्ट पारेको छ । चिकित्सकका अनुसार अध्यक्ष खरेललाई मौसमी भाइरल र टाइफाइडबाट सङ्क्रमित भएकाले कम्तीमा पाँच दिन आराम गर्नुपर्नेछ । कार्यकारी अध्यक्ष विश्राममा रहेको प्रशङ्गलाई अतिरञ्जित समाचारको रुपमा आएकोमा सोको खण्डन गर्दै निगमले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । रासस

जापानले नर्सिङ केयर गिभरमा नेपाली कामदार लैजाने, कात्तिकमा परीक्षा

काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्र्याउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत नौ देशबाट विदेशी कामदार भित्र्याउने घोषणा गरेको थियो । पहिलो चरणमा जापानले केयर गिभरमा कामदार लैजाने तयारी गरेको हो । जापानमा रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप परीक्षा उतीर्ण गर्नुपर्ने छ । ‘स्पेसिफाइड स्किल्ड वर्कश’ अन्तर्गत जापानमा नर्सिङ केयर गिभरमा जान चाहनेले नर्सिङ केयर र जापानी भाषा परीक्षा उतीर्ण गर्नुपर्ने जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ । नर्सिङ केयर गिभरमा जापान जान चाहनेले ‘नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्ट’ अन्तर्गत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्नेछ । जसमा ‘फन्डामेल्टल अफ केयर’को १०, ‘मेकानिज्म अफ द माइन्ड एण्ड बडी’ को ६, ‘कम्युनिकेशन स्किल’ को ४, ‘फिजिकल केयर’ को २० र प्रयोगात्मक अभ्यास अन्तर्गत पाँच वटा प्रश्नको उत्तर दिनुपर्नेछ । प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सिबिटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले ‘नर्सिङ केयर जापानीज ल्याङ्ग्वेज इभ्यालुएसन टेस्ट’ अन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा ‘टेक्निकल टम्र्स अफ केयर’ ५, ‘कम्युनिकेशन अफ केयर’ ५ र ‘डकुमेन्ट अफ केयर’को ५ गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षाका लागि एक हजार जापानी येन दस्तुर बुझाउनुपर्ने उल्लेख गरिएको छ । परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुनेछ । कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने परीक्षामा उतीर्ण हुने जापानी श्रम मन्त्रालयले जनाएको हो । कात्तिक १० देखि १२, १९ देखि २१ र २६ देखि २८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि कसरी आवेदन गर्ने भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउने सम्बन्धी ‘सहयोग समझदारी’ (एमओसी)मा हस्ताक्षर भएको थियो । जापानले १४ वटा कार्यक्षेत्रमा विदेशी श्रमिक भित्र्याउने नीति अख्तियार गरेको छ । जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मतसम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिने जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग हुने हो भन्ने विषय निश्चत हुनु बाँकी रहेको श्रम मन्त्रालयले जनाएको छ । रासस

चीनको औद्योगिक उत्पादन घट्यो, आर्थिक वृद्धि ६.२ प्रतिशत मात्र

बेइजिङ । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९.९ विन्दुबाट ५०.४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अंक रहेको यस सूचकले पछिल्लोपटक कारखाना उत्पादनमा सामान्य वृद्धि भएको देखाएको छ, तर वार्षिक विन्दुगत उत्पादनमा कमी आएको देखिएको छ । अखबारका अनुसार कारखानबाट उत्पादित वस्तुको मागमा व्यापक कमी आएको छ । शनिबार नै चिनियाँ औद्योगिक समूह “चाइना फेडेरेसन अफ लजिस्टिक एन्ड पर्चेजिङ”द्वारा प्रकाशित अर्को सर्भेक्षणमा बजार माग “सापेक्षित रुपमा कमजोर” रहेको देखाएको छ । अध्ययनमा जुलाईको ४९.७ अंकको तुलनामा पछिल्लो अगस्टमा ४९.७ विन्दुमा आइपुगेको छ । चिनियाँ निकासीकर्ताहरु अमेरिकी करवृद्धिका अघिल्तिर संघर्षरत देखिएका छन् । जुलाईमा चिनियाँ सामानको अमेरिका निकासीमा ६.५ प्रतिशतले कमी आएको छ । चीनको सबैभन्दा ठूलो बजार अमेरिका हो । अमेरिका र चीनले आइतबार मात्र एकअर्का मुलुकका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । चीनले निर्माण क्षेत्रमा सरकारी लगानी बढाएर आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रयत्न थालेको छ । चीनमा अघिल्लो वर्षको तुलनामा यस वर्षको जुन महिनासम्म आर्थिक वृद्धि ६.२ प्रतिशत मात्र रहेको छ । विगत २६ वर्षमा चीनको यो सबैभन्दा न्यून आर्थिक वृद्धि हो । रासस/एपी