दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

सउल । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो । कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ । कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ । केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ । रासस

सडक दुर्घटनाः हरेक २४ सेकेन्डमा १ जनाको मृत्यु

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले हरेक २४ सेकेन्डमा कम्तिमा पनि एक जनाको मृत्यु हुने गरेको तथ्यांक पत्ता लागेको बताएका छन् । यससँगै उनले यो दुर्घटनाबाट बच्नका लागि विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन् । विश्वमा हरेक २४ सेकेन्डमा कम्तीमा पनि एक जनाको ज्यान जाने गरेको छ, त्यसैले यस्तो दुर्घटनाबाट बाच्नका लागि विश्वका देशहरुले विशेष सतर्कता अपनाउनुपर्छ, विशेष खालका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ, उनले भने । विश्व सडक दुर्घटना विरुद्धको दिन २१ नोभेम्बरका दिन दिएका एक सन्देशमा महासचिव गुटर्रेसले सो आग्रह गरेका हुन् । उनले सडक दुर्घटनाबाट हुने मृत्यु तथा गम्भीर प्रकृतिको घाइते हुने अवस्थाबाट बच्नका लागि जोखिमपूर्ण अवस्थामा रहेका बाटोहरुको सुधार गर्ने र सडक दुर्घटनाबाट बाँच्नका लागि सवारी साधनमा यात्रा गर्ने व्यक्तिहरु तथा बटुवाहरुलाई पनि आवश्यक मात्रामा सचेतना प्रदान गर्नका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न महासचिव गुटर्रेसले आग्रह गरे । यस्तो सडक दुर्घटनाबाट प्रत्येक वर्ष ज्यान जाने नागरिकको संख्या बढ्दै गएकाले यसतर्फ आफ्ना कार्यक्रमहरु लक्षित गर्न उनले विश्वका देशहरुलाई आग्रह गरेका हुन्। रासस/सिन्ह्वा

अष्ट्रेलियाले डिसेम्बरदेखि पूर्ण खोप लगाएकालाई प्रवेश अनुमति दिने

अष्ट्रेलिया । अष्ट्रेलियाले पूर्ण खोप लगाएका पर्यटकलाई डिसेम्बर १ देखि यात्रा छुटको लागि आवेदन नै नगरी देश प्रवेश गर्न अनुमति दिने जनाएको छ । सोमबार आफ्नो यात्रा नियम थप खुकुलो पार्दै अष्ट्रेलियाले सो जनाएको हो । त्यस्ता योग्य राहादानी धारकमा दक्षजनशक्ति, विद्यार्थी, मानवीय सेवामा काम गर्ने, छुट्टी मनाउने र अस्थायी पारिवारिक राहादानी बोकेका समावेश छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक विज्ञप्तिमा जनाएअनुसार १ डिसेम्बर २०२१ देखि, पूर्ण खोप लगाएका योग्य भिसा धारकले यात्रा छुटको लागि आवेदन नगरी अष्ट्रेलिया आउन सक्नेछन् । ‘योग्य भिसा धारकमा दक्ष र विद्यार्थी समूह, साथै मानवीय, काम गर्ने छुट्टी बनाउने र अस्थायी पारिवारिक भिसा धारक आदि समावेश गरिएका छन् ।’ उनका अनुसार यी परिवर्तनले यो सुनिश्चित गर्नेछ कि ‘हामीले अष्ट्रेलियालीको स्वास्थ्यको रक्षा गर्दै विछोडमा परेका परिवारलाई पुनर्मिलन गर्दै आर्थिक पुनोरोत्थानको कामलाई पनि बढावा दिनेछौं ।’ यी व्यवस्थाहरू अन्तर्गत मोरिसनले यात्रुहरूले अष्ट्रेलियाको थेराप्यूटिक गुड्स एडमिनिस्ट्रेशन त्न्ब्द्वारा स्वीकृत वा मान्यता प्राप्त खोपको पूर्ण मात्रा खोप लगाउनुपर्नेछ । ‘अष्ट्रेलियामा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको फिर्ताले हाम्रो आर्थिक पुनरुत्थानलाई अझ बलियो बनाउनेछ, हाम्रो अर्थतन्त्रलाई आवश्यक पर्ने मूल्यवान् कामदारहरू प्रदान गर्ने र हाम्रो महत्त्वपूर्ण शिक्षा क्षेत्रलाई समर्थन गर्ने छ, मोरिसनले भने, ‘अष्ट्रेलियाले महिनौंको कडा महामारी प्रतिबन्धपछि नोभेम्बर १ मा क्वारेन्टिनमुक्त यात्रुका लागि आफ्नो सीमा फेरि खोलेको छ । गत वर्ष मार्च २० मा, अष्ट्रेलियाले कोरोनाभाइरस महामारीको प्बढ्दो सङ्क्रमण नियान्त्रण गर्ने उद्देश्यले विश्वको सबैभन्दा कडा सीमा प्रतिबन्ध अपनाएको थियो । अष्ट्रेलियाले १८ महिनासम्म अनुमतिबिना विदेश यात्रा गर्न आफ्ना नागरिकलाई पनि कडा प्रतिबन्ध लगाएको थियो ।’ रासस/एएनआइ