ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको भनाइ

जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ । ती देशहरुमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ । ओमिक्रोन चिन्ताको नयाँ संस्करणसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ । डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रतिव्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ । ती अध्ययनहरूको बावजुद, ओमिक्रोनको द्रुत बृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहहरूमा, र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा उच्च सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलबार १७ हजार १ सय ७२ पुगेको छ । ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एकदिनको सर्वाधिक उच्च सङ्ख्या हो । यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन । रासस /एएफपी

यूएईको गोल्डेन कार्ड लिँदै पहुँचवाला नेपाली, ठूलो परिमाणमा पुँजी पलायन

काठमाडौं । उच्च तहसम्मको पहुँच, अपारदर्शी कमाई र नेपालको भविष्यप्रति शंकालु नेपालीहरुले युनाइटेड अरब इमिरेट्स (यूएई) को गोल्डेन कार्ड लिन थालेका छन् । युएईले आकर्षक सुविधा सहितको गोल्डेन कार्ड दिन थालेपछि नेपालका व्यवसायीहरु पनि यसप्रति आकर्षित भएका छन् । १० लाख दिराम अर्थात ३ करोड २५ लाख नेपाली रुपैयाँ यूएईमा लगानी गरेर गोल्डेन कार्ड लिन सकिने यूएई सरकारको नीति छ । यूएई सरकारले त्यसको स्रोत खोज्दैन । पछिल्लो समय उच्च तहमा राजनीतिक पहुँच बनाएर प्रसस्त पैसा कमाएका व्यवसायी, भ्रष्टाचार गरेर मनग्य सम्पत्ति जोडेको नेता तथा प्रशासकहरुले युएईको गोल्डेन कार्ड लिने गरेका स्रोतले बतायो । यूएईमा लगानी गर्ने लगानीकर्तालाई सरकारको तर्फबाट आकर्षक सुविधा दिइने र लगानीको अवसर बढी प्राप्त हुने र लगानीको स्रोत खोजीमा पनि सहज व्यवस्था भएको कारण नब धनाढ्या नेपालीहरु युएईको गोल्डेन कार्डप्रति आकर्षित भएका हुन् । ‘कमाएको सम्पत्तिको स्रोत देखाउनदेखि अन्य कानुनी अल्झनमा पर्न सकिने खतरा पनि रह्यो, त्यसैले हाम्रा धेरै साथीहरु यूएईको गोल्डेन कार्ड लिएर बसेका छन्, नेपालमा केही समस्या हुने अवस्था देखियो भने उतै (युएई) सिफ्ट हुने उदेश्य देखिन्छ,’ एक व्यवसायी नाम उल्लेख नगर्ने सर्तमा भने । विजनेश कम्यूनिटीका धेरै मानिसले यस्तो कार्ड लिइसकेको उनको भनाई छ । के हो गोल्डेन कार्ड ? यूएईले सन् २०१९ देखि गोल्डेन कार्ड जारी गर्न थालेको हो । यूएईमा लामो समय बस्नको लागि लगानीकर्ता, व्यवसायी, विशेष क्षमता भएका तथा विज्ञान प्रविधिमा विषेश दक्षता भएका अनुसन्धानकर्ता र वैज्ञानिक क्षमता भएका विद्यार्थीको लागि १० वर्षे गोल्डेन भिसा दिने गरिएको छ । युएई सरकारले सन् २०१८ मा पारित गरेको ‘रिजोलुसन नम्बर ५६’ को अधिनमा रहेर गोल्डेन कार्ड दिने गरेको छ । यस्तो कार्ड लिनको लागि लगानीकर्ता, उद्यमी र प्रोफेसनल ट्यालेन्ट योग्य हुने भनिएको छ । यस्तो कार्ड १० वर्षपछि र स्वतः नविकरणको व्यवस्था भएको जनाइएको छ । गोल्डेन कार्डलाई युएईले विदेशी नागरिकका लागि युएईमा स्थायी बसोबास सुविधा पनि भनेको छ । कसले पाउँछ ? गोल्डेन कार्ड लिनको लागि जुनसुकै देशको नागरिकले पनि कम्तिमा पनि १० लाख दिराम (नेपाली रुपैयाँसँग विनियम दर प्रतिदिराम ३२.५९ रुपैयाँ) अर्थात ३ करोड २५ लाख रुपैयाँ बराबर लगानी गरेको हुनुपर्छ । यस्तो लगानीको रकम कर्जा लिएर लगानी गरेको भने हुनु हुदैन । यस्तै, युएईभित्रको कुनै पनि इन्भेष्टमेन्ट फण्डमा १० लाख दिराम जम्मा गरेको व्यक्ति पनि १० वर्षे गोल्डेन कार्डको लागि योग्य हुने भनिएको छ । सुविधा कस्ता छन् ? युएईको गोल्डेन कार्ड प्राप्त गरेको लगानीकर्ता तथा व्यवसायीले आफ्नो श्रीमान् वा श्रीमती, छोराछोरी, एक जना कार्यकारी निर्देशक र एक जना सल्लाहकारलाई युएईमा लैजान र सँगै राख्न पाउँछन् । यस्तो कार्ड वाहकलाई व्यक्तिगत आम्दानीमा कर नलाग्ने, युएईको वित्तीय गतिविधिमा संलग्न हुन पाइने, लगानी गर्न र काम गर्न स्वतन्त्रता पूर्वक पाइने, स्वास्थ्य बीमा सुविधा पाइने, सवारी चालक अनुमतिपत्र पाइने र प्रत्येक वर्ष ६ महिनाको लागि विश्वका १६७ देशहरुमा अनअराइभल भिसा सुविधा सहित घुम्न पाइने जस्ता सुविधा प्राप्त हुने अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । ५ वर्षे गोल्डेन कार्ड पनि युएईले अहिले ५ वर्षे गोल्डेन कार्ड पनि जारी गरिरहेको छ । यस्तो कार्ड विशेष गरेर युएईका कम्पनीहरुमा कार्यरत विदेशी दक्ष कामदारलाई लक्षित गरेर ल्याइएको हो । तर, लगानीकर्ताले ५ लाख दिराम लगानी गरेको अवस्थामा ५ वर्षे अवधिको गोल्डेन कार्ड पाउने र यस्तो कार्ड दिने पनि १० वर्षे गोल्डेन कार्डवाहकले जस्तै सुविधा पाउने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । को–को नेपाली व्यवसायीले लिए गोल्डेन कार्ड ? अहिले नेपाली उद्यमी व्यवसायीको बीचमा युएईको गोल्डेन कार्डबारे चर्चा बढेको छ । सरकारले नियम अनुसार नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुन बनाएको भएपनि विभिन्न विकल्पहरु प्रयोग गरेर नेपाली व्यवसायीले युएईको गोल्डेन कार्ड लिने गरेका छन् । ‘सरकारले विदेशमा लगानी गर्नको लागि नेपालीलाई दिएको छैन, त्यसैले मैले लिएको छु भनेर कसैले पनि भन्ने कुरा भएन तर, धेरै व्यवसायी साथीहरुले गोल्डेन कार्ड लिएका छन्’ एक व्यवसायीले भने । यसले गर्दा नेपालबाट अदृष्य रुपमा ठूला परिणाममा पुँजी पलाएन भएको व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा गिरावट आउने र बैकिङ क्षेत्रमा तरलताको अभाव हुनुमा धेरै कारणहरू मध्ये पुँजी पालायन एउटा महत्वपूर्ण कारण भएको जानकारहरु बताउँछन् ।

मलेसियामा भीषण बाढी: ४१ जनाको मृत्यु, अर्बौंको क्षति

काठमाडाैं । मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन् । “४१ जनाको मृत्युमध्ये २५ जना सेलाङ्गोरमा, १५ जना पहाङमा र एक जना केलान्तानमा रहेका छन्,” प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिए । मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेङ्गानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो तर डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ ।