सिटिजन्स बैंक साफा अवार्डबाट सम्मानित, वित्तीय प्रतिवेदन उत्कृष्ट बनाउन सफल
काठमाडौं । सिटिजन्स बैंकले साउथ एशियन फिडरेशन अफ एकाउन्टेन्स(साफा) ले प्रदान गर्ने उत्कृष्ट अवार्ड पाएको छ । बंगलादेशको ढाकामा मंसिर १४ गते आयोजित कार्यक्रमा बैंकले सो अवार्ड पाएको हो । साथै, बैंक सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स डिस्क्लोजर्स सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । द इन्स्टिस्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आईक्यान)बाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको हो । यस अवार्ड प्राप्त गर्ने वित्तीय संस्थालाई संस्थागत सुशासन, वित्तीय पारदर्शिताको अभ्यास गर्ने जवाफदेही संस्थाको रुपमा लिइन्छ । यस अवार्डले बैंकलाई थप उल्लेखनीय काम गर्ने हौसला मिलेको र बैंकले आगामी दिनमा वित्तीय क्षेत्रमा आफ्नो उत्कृष्ट प्रदर्शन तथा वित्तीय पारदर्शिताको अभ्यास कायम राख्ने प्रतिबद्धता जनाएको छ । सार्क राष्ट्रहरुकोे लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ ।
इरानसँग व्यापारका लागि जाेडिए ६ युरोपेली राष्ट्र
पेरिस । फ्रान्स, बेलायत र जर्मनीले इरानसँग वस्तु–विनिमयका आधारमा व्यापार गर्न छ वटा नयाँ युरोपेली राष्ट्रहरुले देखाएको तत्परतालाई शनिबार स्वागत गरेका छन् । हाल फ्रान्स, बेलायत र जर्मनीले इरानसँगको व्यापारका लागि वस्तु–विनियम प्रणाली स्थापना गरेका छन् । इरान विरुद्ध अमेरिकी आर्थिक प्रतिबन्ध रहेका कारण युरोपेली राष्ट्रहरुले अमेरिकी डलरको सट्टा वस्तु–विनिमयका आधारमा सीमित व्यापार गर्न चाहेका छन् । इन्स्टेक्स नाम दिइएको यस नयाँ व्यापार प्रणालीमा सहभागी हुन बेल्जियम, डेनमार्क, फिनल्याण्ड, नेदरल्याण्ड्स, नर्वे र स्वीडेनका सरकारहरुले सहमति जनाएका छन् । पेरिसस्थित मुख्यालय रहेको इन्स्टेक्सले इरानले आफ्नो तेल युरोपेली मुलुकलाई बेच्न सक्ने र त्यसको बदलामा युरोपेली मुलुकबाट सामान वा सेवाहरु खरिद गर्न सक्नेगरी क्लियरिङ एजेन्टको रुपमा कार्य गर्दछ । हालसम्म यस प्रणालीमार्फत कारोबार हुन थालेको छैन । इरानसँग सन् २०१५ मा भएको बहुपक्षीय आणविक अप्रसार सन्धिबाट संयुक्तराज्य अमेरिका सन् २०१८ मा एकपक्षीय रुपमा हटेको थियो । इरानले सम्झौता बमोजिमका शर्तहरु पालना नगरेको आरोप लगाउँदै अमेरिकी ट्रम्प प्रशासनले इरान विरुद्ध कठोर आर्थिक प्रतिबन्धहरु लगाएको छ । फ्रान्स, जर्मनी र बेलायतका तर्फबाट जारी पछिल्लो संयुक्त विज्ञप्तिमा इन्स्टेक्समा नयाँ छ वटा युरोपेली राष्ट्रहरु जोडिएकामा स्वागत गर्दै यसबाट इरानसँग युरोपेली मुलुकको व्यापारलाई सहजीकरण गर्न तथा इरानी आणविक कार्यक्रमलाई स्थगित राख्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । वक्तव्यमा इरानले पनि विगतको आणविक अप्रसार सन्धी बमोजिमका शर्तहरु पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ । उक्त सन्धीबाट अलग्गिएको अमेरिकाले आफू विरुद्ध आर्थिक नाकाबन्दी लगाएको भन्दै इरानले आणविक प्रशोधनका कार्यहरुलाई अघि बढाउने धम्की दिइरहेको छ । रासस
१४० जना अवैध आप्रवासी लिबियाबाट फिर्ता
त्रिपोली । युरोप प्रवेश गर्न खोज्ने तर लिबियामा पक्राउ परेका १४० जना विदेशी आप्रवासीलाई लिबियाले उनीहरुकै देश फर्काएको छ । आप्रवासन केन्द्र लिबियाका अनुसार यी नागरिकहरु दक्षिणी लिबियाको कुर्फा शहरबाट फिर्ता गरिएका हुन् । केन्द्रले स्वदेश फर्काइएका ती व्यक्तिहरुमा अफ्रिकी मुलुकहरु चाड र सुडानका नागरिक रहेका छन् । केन्द्रले जारी गरेको पछिल्लो विज्ञप्तिमा अफ्रिकी मुलुकहरु चाड र सुडानका सरकारसँगको सहकार्यमा उनीहरुलाई फिर्ता गरिएको उल्लेख छ । अधिकांश अफ्रिकी मूलका व्यक्तिहरु युरोप प्रवेश गर्न लिबिया हुँदै भूमध्यसागर पार गर्ने गर्दछन् । तर लिबियामा बढेको असुरक्षा र अस्थिरताका कारण यी अवैध आप्रवासीको हत्या पनि हुने गरेको छ । तत्कालीन लिबियाली नेता मौमर गद्दाफीको शासन सन् २०११ मा पतन भएसँगै लिबियामा अझ असुरक्षा बढेको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार हाल ६ लाखभन्दा बढी अवैध आप्रवासी लिबियामा रहेका छन् । उनीहरुलाई तत्काल मानवीय सहायता आवश्यक रहेको पनि संगठनले जनाएको छ । समुद्रबाट उद्धार गरिएका वा लिबियाली सुरक्षाकर्मीले पक्राउ गरेका हजारौं आप्रवासीलाई निकै भिडभाडयुक्त अस्थायी आश्रयस्थलमा राखिएको पनि संगठनले जनाएको छ । असुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय समुदायले यी अस्थायी शिविरहरु बन्द गर्न आग्रह गरेपनि लिबिया सरकारले यी शिविरहरु बन्द गर्न अस्वीकार गरिरहेको छ । रासस