भारतमा थप ९० हजार ९२८ जना कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७.८१ प्रतिशत रहेको जनाइएको छ । भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । रासस
कोरोनाभाइरसको कारण ४ दिनमा अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द
वासिङटन । अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ । यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ । त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका सङ्क्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ । कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् । रासस/सिन्ह्वा
भारतमा पहिलाेपटक ओमिक्रोनबाट एकको मृत्यु
नयाँ दिल्ली । भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जनाएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधबार जनाएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जनाएको छ । यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना सङ्क्रमित भएको बताइएको छ । रासस/सिन्ह्वा