बेलायतमा आइसोलेसनको समय पाँच दिनमात्र

लन्डन । बेलायतमा कुनै नागरिक कोभिड सङ्क्रमित भएपछि बस्नुपर्ने सेल्फ आइसोलेसनको समय पाँच दिनमा छोट्याइएको छ । यसअघि सात दिन रहेकामा त्यसमा कटौती गरेर कोभिड पोजेटिभ देखिएको व्यक्तिले अब सेल्फ आइसोलेसनमा पाँच दिन मात्र बसे पुग्ने भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुको परामर्शमा सरकारले सो समयमा कटौती गरेको बेलायतका स्वास्थ्यमन्त्री सजिद जाभिदले बताएका छन् । उनका अनुसार यहाँका नागरिकमा आगामी सोमबारदेखि सो आइसोलेसन समय लागू हुने भएको हो । पाँच दिन र छैटौँ दिनको बिहानसम्ममा कोभिड पोजेटिभ देखिएका व्यक्ति आइसोलेसनबाट बाहिर निस्किन पाउने भएका हुन् । रासस/सिन्ह्वा

जर्मनीमा एक दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

बर्लिन । जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र यहाँ त्यस अघिको २४ घन्टामा ८० हजार ४३० जना संक्रमित भेटिएका छन् । यो संख्या यहाँ कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै एकै दिनमा देखिएको यो सबैभन्दा धेरै संख्या हो । यहाँका अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन् । उनीहरुका अनुसार यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन् । त्यस्तै यहाँका करिब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन् । तर पनि पछिल्लो समयमा यहाँका ठूलो संख्याका नागरिकमा सङ्क्रमण बढ्दै गएको पाइएको छ । उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको सङ्क्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ । सो संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्यामा कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताए । रासस/सिन्ह्वा

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिको सिटी । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन् । उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । यहाँ गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका हुन् । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । रासस/सिन्ह्वा