भारतमा देशव्यापी आन्दोलन जारी, तीनको मृत्यु, सयौं पक्राउ

नयाँ दिल्ली । भारतको संसदले ल्याएको नागरिकता सम्बन्धी कानुनमा मुस्लिम समुदायलाई धार्मिक रूपले विभेद गर्ने गरेको भनी केही दिनयतादेखि जारी रहेको आन्दोलनमा तीन जनाको ज्यान गएको छ । राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारअनुसार बिहीबारको आन्दोलनका क्रममा त्यहाँ कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार आन्दोलनकारीहरुमाथि प्रहरीले चलाएको गोली लागेर कर्नाटकामा दुई जना र उत्तर प्रदेशमा एकजना प्रदर्शनकारीको ज्यान गएको छ । भारतका सञ्चारमाध्यमहरुले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो पछिल्लो निर्णयका कारण अहिलेसम्मकै सबैभन्दा कडा र ठूलो संख्यामा नागरिक सहभागी भएको विरोध खेप्नुपरेको समाचार सम्प्रेषण गरेका छन् । हुनत सो कानुन पारित हुनुअघि नै विशेषगरी आसाममा निकै धेरै संख्याका नागरिक उपस्थित भएर विरोध गरेका थिए । तर सो विरोधको वास्ता नगरी सरकारले कानुन पारित गरेपछि यहाँका विपक्षीहरूको समेत तीव्र विरोध भएको हो ।  बिहीबार सरकारले विभिन्न क्षेत्र र प्रदेशमा विरोध जुलुश नै निकाल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यसैगरी भारतका विभिन्न राज्यमा भएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड पनि गरेको छ । शुक्रबार पनि विरोध प्रदर्शनहरु जारी रहेको र पछिल्लो केही दिनयता यहाँको विरोध प्रदर्शनले हिंसात्मक रूप लिएको बताएका छन् । भारतका केही स्थानमा कर्फ्यू नै लगाइएको बताइएको छ । उत्तरप्रदेशको लखनउमा प्रदर्शनकारीले मध्यगञ्जमा रहेका एक प्रहरी कार्यालयबाहिर रोकेर राखिएका गाडी जलाएका थिए । त्यस क्रममा २० जनाभन्दा बढी पक्राउ परेका छन् । यहाँको विरोध प्रदर्शन शुक्रबारसम्म हेर्दा कम्तीमा पनि १० वटा प्रदेशमा जारी रहेको छ । तर पनि अधिकारीहरुले उत्तर प्रदेश, नयाँ दिल्लीका केही भागहरु, कर्नाटका, गुजरात, तेलङ्गना र मध्यप्रदेशका अधिकांश नगरहरुमा विरोध प्रदर्शन नै गर्न नपाउने गरी निषेधाज्ञा नै जारी गरेको छ । त्यसैगरी, बेङ्गलुरुमा भने सरकारले कफ्र्यू नै जारी गरेको छ । यहाँ प्रदर्शनकारीहरुले हिंसा मच्चाउन लागेको भन्दै प्रहरीले निषेधाज्ञा जारी गरेको हो । त्यस स्थानमा हिजो प्रहरीको गोली लागेर प्रदर्शनकारीको निधन भएको थियो भने केही घाइते भएका छन् । शुक्रबारको प्रदर्शनका क्रममा राजधानी नयाँदिल्लीको लाल किल्लाबाट १ हजार २ सयभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ । उक्त प्रदर्शनका क्रममा केही सामाजिक अभियन्ताहरु पनि नियन्त्रणमा लिइएको अधिकारकर्मीहरुले जानकारी दिएका छन् । यसरी प्राप्त अर्को एक समाचारमा राजधानी दिल्लीमा विरोधको क्रम तीव्र तथा आक्रामक हुँदै गएपछि केही क्षेत्रमा दिउँसो करिब चार घन्टाजति इन्टरनेट सेवा नै बन्द गरिएको थियो । हवाई अधिकारीहरुका अनुसार बिहीबारको विरोध प्रदर्शनको क्रम आक्रामक बन्दै गएपछि मुख्य सडकहरु बन्द भएका र यसका कारण दिल्लीको हवाई सेवा पनि प्रभावित भएको थियो । अधिकारीहरुले बिहीबार दिउँसोका केही उडान नै स्थगित भएका जनाएका छन् । प्रतिबन्धित स्थानमा नागरिकलाई सार्वजनिक ठाउँमा भेला हुन पनि दिइएको छैन । कुनै स्थानमा पाँच जना भन्दा बढी मानिस जम्मा हुनेबित्तिकै प्रहरीले लखेटिरहेका समाचारहरु आइरहेका छन् । तर नागरिकतासम्बन्धी सो विधेयकको समर्थनमा निस्किएका व्यक्तिलाई भने प्रहरीले केही गरेको छैन । उता अधिकारीहरुले शुक्रबार पनि बिहानैदेखि विरोध प्रदर्शन शुरु भएको बताएका छन् । यस विषयमा थप विवरण भने आएको छैन । आज पनि प्रहरीको धरपकड हुने तथा उक्त विधेयकको विरोधमा जुलुशहरु निस्किने क्रम जारी नै रहने प्रदर्शनकारीहरुले जनाएका छन् । प्रमुख विपक्षी दल भारतीय काँग्रेसले यो विरोध प्रदर्शनमा प्रहरीले गरेको व्यापक धरपकडका साथै विभिन्न स्थानमा गरिएका निषेधाज्ञाले सरकारलाई लाज लाग्नुपर्ने बताएको छ । तर प्रधानमन्त्री नरेन्द्र मोदीले भने यस्ता विरोध प्रदर्शनको कुनै अर्थ नरहेको भन्दै विरोधका कामलाई राजनीतिकरण नगरी शान्त रहन सबैलाई आग्रह गरेका छन् । रासस

पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई अदालतले दियाे मृत्युदण्ड आदेश

इस्लामावात । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ। इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ। पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो। तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्। एजेन्सी

ब्राजिलद्वारा ब्याजदर कटौती, अहिलेसम्मकै न्युन

रियो दि जेनेरियो । ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ । यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ । समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो । सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो । सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौँथोपटक हो । ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अङ्कको कमी आएको छ । पछिल्लो आर्थिक तथ्याङ्कले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको सङ्केत गरेको कोपोमले जनाएको छ । बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन् । कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फिति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ । मौद्रिक समितिको सन् २०१९ को अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ । रासस