अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

वासिङ्टन । अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३.६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक पारित गरेको छ। विधेयकले सेप्टेम्बर ३०, २०२२ सम्म अमेरिकी सरकारलाई कोष सञ्चालन अनुमति दिनेछ। हालको कोष शुक्रबार मध्यरातमा समाप्त हुँदैछ । विधेयकले ७३० बिलियन गैर रक्षा कोष र ७८२ बिलियन रक्षाको लागि र युक्रेनको लागि मानवीय, आर्थिक र रक्षा सहयोग को लागि १३.६ बिलियन विनियोजन गर्नेछ । (रासस-एएनआई/स्पुतनिक)

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

अंकारा । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो । सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका हुन् । रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएकाे बताइएको छ । उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । (रासस/सिन्ह्वा)

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

मस्को । रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन् । उनले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् । रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो । उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ । युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजेका बताइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको बताइएको छ । गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको छ । यसैले पनि रुस वार्ताका लागि तयार भएको विभिन्न विश्व समुदायले जनाएको छ । (रासस/सिन्ह्वा)