नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी, छेन्दु– भैरहवा सीधा उडानमा अभिप्रेरित
बटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् । प्रदेश नं ५ का रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने सरकारको योजनामध्ये एक चिनियाँ ढाँचाको औद्योगिक क्षेत्र होस् भन्ने आफूले चाहेको बताउँदै मुख्यमन्त्री पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधारमा पनि चिनियाँ अनुभवबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले चीनको सिचुवानले गरेको कृषिको व्यावसायीकरण र औद्योगिक विकासको अनुभव आफूहरुलाई काम लाग्ने बताउँदै सिचुवानका गभर्नरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा पनि राजदूतमार्फत दिए । प्रदेश नं ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध छ । मुख्यमन्त्रीले कृषिको व्यावसायीकरण र पर्यटन प्रवद्र्धनमार्फत प्रदेशको समृद्धि गर्दै सिङ्गो मुलुकको विकासमा योगदान गर्ने लक्ष्य लिइएको जानकारी दिए । केही महिनाअघि सिचुवान भ्रमणका क्रममा आफूले कृषिको नयाँ प्रविधि सम्बन्धमा त्यहाँका कृषि विज्ञसंँग भेटेको बताउँदै त्यहाँका विज्ञ यहाँ ल्याएर प्रविधि हस्तान्तरणका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय तथा चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण संस्था मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान गर्न सकिने बताउँदै लुम्बिनी भ्रमण वर्षको समापन तथा बुद्धजयन्ती समारोहमा चिनियाँ राजदूतलाई लुम्बिनीमा निमन्त्रणा पनि गरे । सो अवसरमा चिनियाँ राजदूत होउले प्रदेश नं ५ ले आर्थिक विकासमा हासिल गरेको उपलब्धिप्रति बधाई दिएकाे भेटपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जारी गरेको प्रेसनोटमा बताइएको छ । राजदूत होउले नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी रहेको बताउँदै अहिले द्रुत विकासको बाटामा हिँडेको नेपालका प्रयासमा चिनियाँ साथ रहेको स्पष्ट गरेका छन् । उनले केही महिनाअघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको उल्लेख गरे । लुम्बिनी चिनियाँका लागि एउटा प्रमुख गन्तव्य भएको बताउँदै राजदूत होउले सिचुवानको छेन्दु– भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गरिने बताउँदै त्यसबाट प्रदेश नं ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने विश्वास व्यक्त गरेको प्रेसनोटमा उल्लेख छ । राजदूत होउले लुम्बिनी, कपिलवस्तुको तिलौराकोटसहित बौद्ध सम्पदास्थलको भ्रमण गर्दै छन् । रासस
अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको आग्रह, नेपाल-अष्ट्रेलिया सिधा हवाई उडानकाे काम अघि बढ्दै
अष्ट्रेलिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधबार राति यहाँ आयोजित ‘भ्रमण वर्ष सन् २०२० को अवसर र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको पर्यटकीय महत्वका बारेमा विश्वभर सन्देश प्रवाह गर्न विदेशमा रहेका नेपालीलाई आग्रह गरे। मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा सिधा हवाई उडानका लागि सरकारले काम अघि बढाएको उल्लेख गर्दै यसो हुन सकेमा पर्यटकको सङ्ख्या बढाउन र यहाँ भएका नेपालीलाई पनि सहज हुने बताए । अष्ट्रेलियामा भएको आगलागीबाट नेपाल सरकार मर्माहत भएको बताउँदै उनले यस दुःखको घडीमा सहयोगमा जुट्न नेपाली समुदायसँग आग्रह गरे । कार्यक्रममा अष्ट्रेलियका लागि नेपाली राजदूत महेशराज दाहालले भ्रमण वर्ष सफल बनाउन यहाँ रहेका नेपालीको उत्साह सराहनीय रहेको भन्दै सबैको साथ र सहयोग रहेमा लक्ष्यअनुसार पर्यटक नेपाल भित्र्याउन सकिने बताए । उनले आफू अष्ट्रेलिया आएदेखिनै यहाँका नेपालीको साथबाट उत्साहित भएको पनि जानकारी दिएका छन् । गैरआवासीय नेपाली महासङ्घका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले आफ्ना परिवार र साथीभाइ भेट्न नेपाल जान सबैलाई आग्रह गरे । उनले नेपालीलाई आफू स्वदेश जान र आफूले चिनेका साथीभाइलाई लैजान पनि अनुरोध गरेका छन् । अष्ट्रेलियाका सङ्घीय सांसद ग्रलाडीस ल्यूले यहाँको अर्थतन्त्रमा आप्रवासीको भूमिका महत्वपूर्ण रहेको भन्दै यस वर्ष आफू पनि नेपाल जान इच्छुक रहेको बताए । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियका अध्यक्ष केशव कँडेलले सरकारको लक्ष्यअनुसार पर्यटक भित्र्याउन आफूहरु लागि परेको बताए । यहाँको आगलागी पीडितका लागि सङ्घले ५० हजार डलर सहयोग गर्न लागेको पनि जानकारी दिए । सङ्घकै पहलमा मेलवन र सिड्नीमा एउटा एउटा बसमा भ्रमण वर्ष अङ्कित स्टिकर पनि टाँस्ने कार्यक्रम रहेको उनको भनाइ थियो । सो अवसरमा महावाणिज्यदूत चन्द्र योन्जन, भिक्टोरिया प्रदेशका सांसद नेटाली हुट्चिङ्, अष्ट्रेलियाको रेस कमिस्नार चिन्टाङलगायतले भ्रमण वर्ष सफलताको शुभकामना दिए । कार्यक्रममा नेपाल भ्रमण गरेका ट्रेभोर मोयलरी, स्टेफोनिक मे, लुइसिन्डा पेर्टसन, लुई गिलगायतले नेपालको पर्यटकीय महत्वका बारेमा वर्णन गरेका थिए । गत वर्ष यहाँबाट ३३ हजार पर्यटक नेपाल आएको तथ्याङ्क छ । अष्ट्रेलियामा एक लाख ५० हजारभन्दा बढी नेपाली रहेको अनुमान रहेको छ । रासस
इरानको हमलाले विश्व बजारमा प्रभाव, २.५ प्रतिशतले बढ्याे तेलकाे मूल्य
काठमाडौं । एसियाली बजारमा कच्चा तेलको मूल्यमा २.५ प्रतिशत वृद्धि भएको छ र ६९.९४ डलर प्रति ब्यारेल भएको छ । इराकको अमेरिकी सैन्य क्याम्पमा आक्रमण गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो । पछिल्लो समय मूल्य वृद्धिका भएकै कारण मध्यपूर्वबाट तेल निर्यातमा रोकावट त हुँदैन भन्ने चिन्ता बढेको छ । इरानको हमलाबाट अन्तर्राष्ट्रिय शेयर बजारमा नकारात्मक असर देखिएको छ । शेयर बजारमा नकारात्मक असर पर्ने देखिएको छ । जापानको निकेईको शेयर २ प्रतिशत घटेको छ, भने हङकङको हेङ सेङमा १ प्रतिशतको गिरावट आएको छ । इरानी संचार माध्यमका अनुसार सो हमला इरानी प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्याको बदला भएको जनाएको छ । इरानको हमला कासिम सुलेमानीको अन्तिम संस्कारपछि गरेको हो । शुक्रबार अमेरिकाले ड्रोन हमला गरेर कासिम सुलेमानीको हत्या गरे । आगामी दिन बदला स्वरुप अमेरिका र इरानका बीच द्वन्द्व बढ्ने अनुमान छ । त्यस्तो अवस्थामा हारमुजदेखि संसारभर तेल निर्यात रोकिन सक्ने अनुमान छ । साउदी अरब, इराक, संयुक्त अरब इमिरेट्स र कुवेतबाट तेल निर्यात यही मार्गबाट हुने गर्छ । अमेरिकी वायुसेवा नियामक निकाय संघीय हवाईसेवा प्राधिकरण (एफएए)ले अमेरिकी यात्रुवाहक विमानलाई इराकको हवाई सीमाबाट उड्न प्रतिबन्ध लगाएको थियो । हमलापछि नै सिङ्गापुर एयरलाइन्सले पनि आफ्ना सबै विमानलाई इरानी हवाई सीमाबाट नउड्न भनेको छ । इरानको अवस्थाको प्रभाव मध्यपूर्वी देशमा भारत अमेरिका र रुसबाट पनि तेल आयात गदर्छ । त्यस्तै सबैभन्दा बढी तेल मध्यपूर्वका देशहरूबाट आयात गर्छ र त्यसमा पनि इराक पहिलो नम्बरमा पर्छ । यसका अलावा साउदी अरब, ओमान र कुवेत छ । भारतलाई यसको चिन्ता छैन कि तेल निर्यातमा कुनै रोकावट भन्दा पनि तेलको मूल्य वृढिमा छ । अहिले तेलको मूल्य प्रति ब्यारेल ३ डलर बढेको छ । भारतीय अर्थतन्त्रका लागि प्रति ब्यारेल ३ डलर मूल्य बढेको हो । भारतमा जुन आमउपभोक्ता छन्, उनीहरू पेट्रोल–डिजल खरिद गर्छन् या एलपीजी ग्यास गरिद गर्छन्, उनीहरूका लागि यो सुखद् खबर होइन । अमेरिकाको यस्तो कार्बाहीले भारतका नागरिकको खल्तीमा असर गर्नेछ किनकि आगामी दिनमा पेट्रोल–डिजल र एलपीजी ग्यासको मूल्य बढ्ने अनुमान छ । भारतमा तेलको आपूर्ति भए पनि मूल्य उच्च हुन जाने आशंका रहेको छ । तेलको मूल्य यस्तो समयमा बढिरहेको छ, जुनबेला भारत सरकारका लागि आर्थिक घाटा चुनौती बनिरहेको छ । यसबाट भारतीय रुपैयाँमा पनि दबाब बढ्नेछ । आगामी दिनमा भारतीय उपभोक्ताका लागि यो चिन्ताको विषय बन्नेछ । यो भारतीय अर्थव्यवस्थाका लागि त चिन्ताको विषय हुँदै हो । अमेरिकाले उक्त कार्बाही इरानविरुद्ध इराकमा गरेको थियो, तर यसको सबैभन्दा प्रतिकूल असर भने भारत र दक्षिण एसियाका देशमा देखिएको छ । भारतको निकट छिमेकी तथा नेपालले पनि पेट्रोलियम पदार्थ भारतबाटै ल्याउनु पर्ने अवस्थाको यसको प्रत्यक्ष असर नेपालमाथि पर्नेछ । इरानकाे हमलाकाे सुनमा इरानकाे हमलाकाे प्रभाव विश्वकाे सुनबजारमा देखिएकाे छ । नेपालकै सन्दर्भमा हालसम्मकै (उच्च मूल्य) प्रतिताेला ७६ हजार ५ सय रूपैयाँ काराेबार भइरहेकाे छ । नेपालले अन्तर्राष्ट्रिय बजारबाट सुनमात्र नभइ पेट्रोलियम पदार्थ आयात गर्दै आएको छ ।