मस्कविरुद्ध ट्विटरले लगायाे मुद्दा

काठमाडाैं । ट्विटरले टेस्लाका सिइओ एलन मस्कमाथि मुद्दा दायर गरेकाे छ । ट्विटर मस्कमाथि ४४ अर्ब डलरकाे सम्झाैत उल्लंघन गरेकाे आराेपमा मुद्दा दायर गरेकाे हाे । ट्विटरले अमेरिकाकाे डेलावेयर राज्यमा दायर गरेकाे मुद्धामा मस्कलाई आफ्नाे सम्झाैता पुरा गर्न अदालतलाई आदेश दिन अपिल गरेकाे छ । ट्विटरले दाबी गरेजस्तै कुल प्रयोगकर्ताहरूमध्ये ५ प्रतिशतभन्दा कम स्प्याम रहेको भन्ने प्रमाण दिन अस्वीकार गरेपछि मस्कले केही दिन अघि ट्विटर खरिद सम्झाैता ताेडेकाे बताएका थिए । उक्त खबर आएपछि ट्विटरको सेयर मूल्य ७ प्रतिशतले घटेको थियाे ।

यमनलाई लिएर संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी निकायले यमनको मानवीय अवस्था कमजोर हुदै गएकामा चिन्ता व्यक्त गरेको छ । यमनमा लागि उपप्रमुख जोसी एमसुयाले सो चिन्ता गरेका हुन् । उनले यमनमा दिन प्रतिदिन मानवीय सहयताको खाँचो रहेको र यो अवस्था बढ्दै गएकाले आगामी दिनमा आवश्यक सहयोग र यसका लागि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ खाद्यान्नका साथै औषधि समेतको अभाव हुनसक्ने अवस्था रहेको र यो अवस्था प्रतिदिन बढ्दै गएको भन्दै यसका लागि सहयोगको तयारी गर्न विश्व समुदायलाई आग्रह गरिएको छ । यमनमा लामो समयदेखि आन्तरिक द्वन्द्व बढ्दो छ । जसका कारण यहाँ कम्तीमा पनि ९० प्रतिशत खाद्यान्न आयात गर्ने गरिएको छ । यहाँ पछिल्लो सयममा इन्धन, खाद्यान्नका साथै औषधिको समेत खाँचो हुदै गएको र यसले आगामी केही वर्षमा नै झन् अभावको अवस्था निम्त्याउने भएकाले त्यसका लागि तयार रहन संयुक्त राष्ट्रसंघले आग्रह गरेको हो ।

श्रीलङ्काली राष्ट्रपतिले गरे राजीनामापत्रमा हस्ताक्षर, संसद्ले भोलि सार्वजनिक गर्ने

कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षले सोमबार भोलिदेखि लागू हुने गरी पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार असार २९ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ । राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने डेली मिररले जनाएको छ । संसद्बाट भोली उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् । सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिएका थिए । यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो । चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवम् महामारीका कारण केही महिनायता श्रीलङ्काले अकल्पनीय आर्थिक सङ्कटको सामना गरिरहेको छ । आर्थिकरूपमा टाटपल्टिएको श्रीलङ्कामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाह्य ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ । रासस