आरबिआई बैंककाे आकस्मिक निर्णयः सीमित रकम मात्र झिक्न पाइने

मुम्बई ।  भारतको केन्द्रीय रिजर्भ बैंक (आरबिआई) ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय “यस बैंक”बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन् । मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको बताए । उनले भने, “मैले एटिएमबाट पैसा झिक्न खोजें तर यस बैंकले सेवा दिन रोकेको रहेछ । एनईएफटी कारोबार पनि भइरहेको छैन । म यहाँ पैसा झिक्न बिहान ७ बजे आइपुगेको थिएँ ।” अर्का ग्राहकले भने, “यो अति नै पिडादायी कुरा हो । तर मेरो विचारमा आरबिआईले यस बैंकलाई अझ बलियो र संगठित बनाउन खोजेको हुनु पर्दछ । मेरो विचारमा आरबिआईले ग्राहकको पैसाको सुरक्षा गर्नेछ ।” भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो । यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधिमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन । रासस

कोरोनाको प्रभावः क्यालिफोर्नियामा संकटकाल घोषणा, ११ जनाकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) लाई मध्यनजर गर्दै अमेरिकाको क्यालिफोर्निया राज्यले अनिश्चित संकटकाल घोषणा गरेको छ । कोरोना भाइरसको कारणले नै पहिलो पटक उक्त राज्यमा मृत्यु भएको पुष्टि भएसँगै संकटकाल घोषणा गरेको हो । न्यूओर्क टाइमका अनुसार हालसम्म अमेरिकाको १६ राज्यमा १ सय ४० जना कोरोना भाइरसको संक्रमण भेटिएसँगै ११ जनाको मृत्यु भइसकेको छ । अमेरिकाको १६ राज्यमा कोरोनाको संक्रमण भेटिए पछि ह्वाइट हाउसले देशभर कोरोना जाँच लैजाने घोषणा गरेको छ । त्यस्तै ह्वाइट हाउसले ८.३ विलियन डलर आपतकालिन सहायता रकमवापत छुट्याएको छ । फ्लोरिडा अगाडी वासिङ्डनले पनि आपतकालिन राज्य घोषणा गरेको थियो ।

कोरोना भाइरसः आकस्मिक सहायताका लागि विश्व बैंकले १२ अर्ब अमेरिकी डलर दिने

काठमाडौं । कोरोना भाइरस संक्रमणको विश्वब्यापी बिस्तारसँगै राष्ट्रहरुले भोगेका समस्यालाई निराकरण गर्न विश्व बैंकले १२ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । विश्वका ७० भन्दा बढी राष्ट्रहरुमा यस प्रकोप फैलिएको अवस्थामा विश्व बैंकले आफ्नो प्रारम्भिक आकष्मिक आर्थिक सहयोग निम्न ब्याजको कर्जा, अनुदान र प्राविधिक सहायताका लागि दिन लागेको जनाएको छ । विभिन्न देशका सरकारहरुले आफ्ना नागरिकको स्वास्थ्य तथो देशको अर्थतन्त्रलाई सुरक्षित राख्न विभिन्न सहयोग तथा योजनाहरु सार्वजनिक गरिरहँदा विश्व बैंकले पनि आज यस्तो घोषणा गरेको हो । विशेषगरी स्वास्थ्य र अर्थतन्त्रमा परेको तत्कालिक असरलाई नियन्त्रण गर्न यो सहयोग गरिएको विश्व बैंकले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । ‘यस आर्थिक सहयोग सदस्य राष्ट्रहरुलाई कोभिड- १९ (कोरोना भाइरस) बिरुद्ध प्रभावकारी प्रतिकार्यका कदम चाल्न र सम्भव भएसम्म विछोडका असहरुलाई कम गर्नका लागि ल्याइएको हो,’ विश्व बैंकले आफ्नो आधिकारी वेबसाइटमा भनेको छ । विश्व बैंकले अगाडी जनाएअनुसार यस फास्ट ट्र्याक प्याकेजमार्फत उसले प्रकोपबाट जोगाउनको लागि मानिसको स्वास्थ्य सेवा केन्द्रसँगको पहुँचलाई थप सुधार गर्ने, रोगको निगरानी तथा पहरेदारीलाई बलियो बनाउने, जनस्वास्थ्यको कार्यहरुलाई गति दिन स्वास्थ्य प्रणालीलाई बलियो बनाउने सहितको राष्ट्रहरुको स्वास्थ्य प्रणालीलाई बजबुत बनाउने र निजी क्षेत्रसँग समन्वय गरी अर्थतन्त्रमा परेको प्रभावलाई कम गराउने छ । ‘यस भाइरसको सामना गर्नका लागि राष्ट्रहरुको आवश्यकतालाई ध्यानमा राखी हामीले यस सहायतालाई सकेसम्म छिटो र लचिलो तरिकाले प्रदान गर्नका लागि काम अगाडी बढाइसकेका छाैं,’ विश्व बैंक समूहका अध्यक्ष डेभिड माल्पस भन्छन्, ‘यस सहयोगअन्तर्गत आकस्मिक लगानी सहायता, नीतिजन्य सुझाव र प्राविधिक सहायता रहनेछन् ।’ बिबिसीसँगको छोटो कुराकानीको क्रममा कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा राख्नका लागि पनि यो सहयोग घोषणा गरिएको जनाइएको छ । भने सहयोग वितरण गर्दा गरिब र सबैभन्दा बढी भाइरसप्रभावित देशहरुलाई प्राथमिकतामा राख्ने पनि विश्व बैंकले जानकारी दिएको छ । घोषणा गरेको कुल सहायता रकममध्येको आधा रकम संसारभरका नीजि क्षेत्रसँग काम गर्ने इन्टरनेशनल फाइनान्स कर्पोरेसनबाट आएको हो भने बाँकी रकम पहिले नै उपलब्ध श्रोतहरुलाई परिचालन गरी ब्यवस्था गरिएको हो । आजको दिनसम्म कोरोना भाइरसबाट विश्वभरी ९२ हजार जना संक्रमित भैसकेका छन् भने यस प्रकोपका कारण कम्तिमा तीन हजारभन्दा बढीको मृत्यु भैसकेको छ । ‘मानिसको ज्यान बचाउन हतारिनु सिवाय हामीसँग अर्को विकल्प छैन,’ आज आयोजित प्रेश सम्मेलनको क्रममा माल्पसले भने ।