इस्लामाबादको सिन्धु नदीमा डुङ्गा दुर्घटना, २३ जनाको मृत्यु

इस्लामाबाद । एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् । राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन् । क्षमताभन्दा बढी यात्री बोकेका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ । दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन् । आपत्काल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ । डुङ्गामा धैरे महिला र बालबालिका सवार थिए । गत साता सरकारले निरन्तर वर्षा भइरहेकाले नदीतटमा नजान सर्वसाधारणलाई आग्रह गरेको थियो ।

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु

स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जाने संख्या पाँचसय १० पुगेको छ ।देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन। यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो । गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ ।स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ । त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन् । गर्मीका कारण ज्यान गुमाउने अकिांशमा ज्येष्ठ नागरिक छन् । उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन् । गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ ।

दुई जहाज आकाशमै ठोक्किए

काठमाडाैं । संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको बताइएकाे छ । दुर्घटना अझै अनुसन्धान जारी रहेको उत्तरी लस भेगास फायर डिपार्टमेन्टले ट्वीट गरेको छ । पाइपर पीए–४६ अवतरणको तयारी गरिरहेको अवस्थामा सेस्ना १७२ सँग ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारीले देखाएको छ । प्रत्येक विमानमा दुई जना सवार रहेका जनाइएको छ । एजेन्सी