स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेश गर्न नपाउने

बाँके । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् । सीमावर्ती भारतीय नाका रुपैडिहाको अवलोकन गर्न आएका भारत उत्तरप्रदेशको बहराइच जिल्लाका डीएम शम्भुकुमार र एसपी विपिनकुमार मङ्गलबार मध्याह्न एक्कासी नेपालगञ्ज आएका थिए । उनीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का र बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीलगायतका नेपाली अधिकारीसँगको भेटपछि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने निष्कर्ष निकालिएको हो । हालसम्म भारतमा कोरोना भाइरसका कारण तीन जनाको मृत्यु भइसकेको छ । नेपालगञ्जदेखि १९० किमी टाढा लखनऊमा समेत कोरोनाको सङ्क्रमण देखिएपछि नेपालगञ्ज नाकालाई जोखिमपूर्ण मानिएको छ । यो निष्कर्षसँगै अब नेपालगञ्जदेखि दैनिक उपभोग्य सामान खरिद तथा अन्य कामका लागि भारतीय बजार रुपैडिहा जाने र भारतबाट नेपालतर्फ आउने नागरिकको स्वास्थ्य जाँच अनिवार्य गरिनेछ । स्वास्थ्य जाँचबिना उनीहरुलाई नेपाल–भारत प्रवेशमा पूर्णरुपमा रोक लगाइनेछ । नेपालबाट जानेलाई भारतमा र भारतबाट आउनेलाई नेपालमा अनिवार्य स्वास्थ्य जाँच गरिनेछ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि दुवै देशबीच गहन छलफल भएको भन्दै प्रहरी उपरीक्षक ओलीले भन्नुभयो, “यसअघि नेपालतर्फ राखिएको हेल्प डेस्कभन्दा पर दशगजा नजिकबाटै नेपाल प्रवेश गर्ने जो–कोहीको लाइन लगाएर स्वास्थ्य जाँच गरिनेछ ।” दुवै देशबीच भएको अनौपचारिक छलफलमा भारतबाट नेपाल आउनेलाई नेपालले र नेपालबाट भारत जानेलाई भारतले एक–एक गरेर कडाइका साथ स्वास्थ्य जाँच गरिनेछ ।“यस विषयमा दुई देशबीच प्रभावकारी समन्वय गरी अघि बढ्ने सहमति भएको छ”, प्रहरी उपरीक्षक ओलीले भने । प्रजिअ खड्काले स्वास्थ्य जाँचमा कोही नछुटुन्, सबैको अनिवार्य लाइन लगाएर स्वास्थ्य जाँच गर्न भन्दै जमुनाहामा निर्देशन दिइएको बताए । उनले भारतीय अधिकारीले नाकामा अनावश्यक भीडभाड कम गराउन सुझाव दिएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा अत्यावश्यक कामबाहेक अनावश्यक भीडभाड कम गर्न नागरिकलाई आग्रह गरेको बताउनुभयो । बहराइचका डीएम शम्भुकुमारले नेपाल–भारत सीमा बन्द नहुने स्पष्ट पार्दै तेस्रो मुलुकबाट नेपाल जानेलाई बन्द गरिएको प्रष्ट पारे । त्यस्तै नेपाल–भारत मैत्रीपूर्ण बस बन्द गरिने भएको छ । योसँगै नेपालगञ्ज नाका भएर नेपालगञ्ज–दिल्ली, नेपालगञ्ज–हिमाञ्चल, दाङ–दिल्ली सञ्चालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन् । यसअघि नै सरोकारवाला निकायले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक भारत नजान आग्रह गरिसकेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि दुबै देशका सीमावर्ती अधिकारीले समन्वय र सहकार्यका अघि बढ्नेमा एकमत भएका छन् । रासस

विश्वभर फैलिएको कोरोना भाइरस विरुद्ध खोपको परीक्षण अमेरिकाबाट सुरु, गर्ला त काम ?

काठमाडौं । अमेरिकाले कोरोनाको भारइरस विरुद्धको खोपको परीक्षण अमेरिकाबाट सरु गरेको छ । अमेरिकाले कोरोनाभाइरसको खोप पहिलो पटक परीक्षण शुरु गरेको हो । यो खोप र परीक्षणमा रहेका अन्य खोपले काम गर्छ वा गर्दैन भनेर निश्चित हुन अझै केही महिना लाग्ने विज्ञहरुले बताएका छन् । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तयार गरिएको हो । यो खोप पहिलोपटक सोमबार सियाटलकी ४३ वर्षीया महिलाले लिएकी थिइन् । विश्वभरका वैज्ञानिकहरु चाँडोभन्दा चाँडो कोरोनाभाइरसको खोप तयार गर्न लागि रहेका छन् ।

माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने जनाएको छ । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ । रासस/सिन्ह्वा