दक्षिण कोरियामा एकैदिनमा ८५ हजारमा कोरोनाको नयाँ सङ्क्रमित थपिए
सोल । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार तीन २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२ लाख पाँच सय १७ पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन्।् । अघिल्लो दिनको तुलना केही मात्रामा कोभिड सङ्क्रमण घटेको जनाइएको छ । तर यो एक हप्ताअघि ६८ हजार पाँच सय ९७ को तुलनामा बढेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको छ । नयाँ केसहरू मध्ये, चार सय ३९ जना आयातित रहेको जनाइएको छ । यद्यपी ४३ हजार पाँच सय ३८ जना कोरोना मुक्त भएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर २३४ पुगेको छ । यस अवधीमा थप ३५ जनाको मृत्यु भएपछि मृत्यु हुनेको कुल सङ्ख्या २४ हजार नौ सय ९२ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको छ ।
पेरुमा मंकीपक्स समुदायस्तरमै फैलियो
लिमा । पेरुमा मंकीपक्सको सङ्क्रमण समुदाय स्तरमै फैलिएको पाइएको छ । यहाँको राष्ट्रिय स्वास्थ्य विभागका प्रमुख भिक्टर सुआरेजले सो कुराको जानकारी दिएका छन् । उनले पेरुमा अहिलेसम्म दुई सय ३ जनामा यो सङ्क्रमण पाइएको भन्दै यो सङ्क्रमण समुदाय स्तरमा नै फैलिएको पाइएको बताएका छन् । यहाँ देखिएका यी सङ्क्रमितहरु अधिकांश पेरुको राजधानी शहर लिमाका छन् । त्यस्तै लिमाका छिमेकी प्रान्त कल्लाओका रहेका सुआरेजले जनाएका छन् । पेरुको सरकारले मंकीपक्सको परीक्षणका लागि अलग्गै ल्याबको स्थापना गरेको छ र यसको सङ्क्रमणसम्बन्धी सूचना दिने पनि अलग्गै संयन्त्र राखिएको छ । सो संयन्त्रअनुरुप मंकीपक्ससम्बन्धी परीक्षणको नतिजा २४ घन्टा भित्रै दिने गरिएको उनले बताएका छन् । यो सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । स्वास्थ्यमन्त्री जोर्ग लोपेजले पत्रकारहरुलाई बताएअनुसार ती सङ्क्रमितहरुमध्ये अधिकांश ३२ देखि ३७ वर्षको उमेर समूहका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको पाइएको उनले जानकारी दिए ।
श्रीलङ्काका ग्यास स्टेशनहरूले क्युआर कोड मात्र स्वीकार गर्ने
श्रीलङ्का । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले सोमबार देशका ग्यास स्टेशनहरूले अगस्ट १ देखि राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली मात्र स्वीकार गर्ने बताएका छन् । विजेसेकेराले सबै ग्यास स्टेसन सञ्चालकहरुले तत्काल र निकट भविष्यमा क्युआर कोड प्रणाली अपनाउनुपर्ने र त्यो प्रणाली पालना गर्ने ग्यास स्टेशनहरूलाई मात्र इन्धन वितरणमा प्राथमिकता दिइने बताएका हुन् । मन्त्रीले ६० प्रतिशत ग्यास स्टेशनहरूले पहिले नै सो प्रणाली लागू गर्न सक्षम रहेको बताएका छन् । जनतालाई राष्ट्रिय इन्धन पासमा दर्ता गर्ने काममा सहयोग गर्न समेत आग्रह गरेका छन् । राष्ट्रिय इन्धन पास मङ्गलबारदेखि विभिन्न ग्यास स्टेशनमा लागू गरिने विजेसेकेराले बताएका छन् । श्रीलङ्काले केही समयदेखि पर्याप्त मात्रामा इन्धन आयात गर्न नसकेका कारण सवारी चालकका लागि साप्ताहिक इन्धन कोटा सुनिश्चित गर्न इन्धन पास ल्याइएको अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा