अन्तर्राष्ट्रिय व्यापार मेलाहरु भटाभट रद्द, आयोजकलाई करोडाैं डलर नोक्सान

काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता कम्पनीहरु बिटी, एरिक्सन, फेसबुक, एलजी, नोकिया, सोनी, सामसुङ र भोडाफोन लगायतले आ-आफ्ना नविन उत्पादन तथा अवधारणालाई सार्वजनिक गर्दै असंख्या उपभोक्ताहरुलाई लोभ्याउने योजनामा थिए । आधुनिक प्रविधि सम्बन्धी करिब २८ सय अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्नो पृथक उत्पादनलाई प्रर्दशनी गर्ने यस महामेलामा हरेक वर्ष करिब छ हजार चीनिँयासहित विश्वभरीका एक लाखभन्दा बढी मानिसहरुले सहभागिता जनाउँदै आएका थिए । फेब्रुअरी २४ देखि २७ सम्म चल्ने मोबाइल संचारसँग मुख्य रुपमा सम्बन्धीत यस चार दिने प्रदर्शनीको स्थगनको कारण करिब चार करोड २९ लाख यूरोको क्षति हुने तथा लगभग १४ हजार एक सय अल्पकालीन रोजगारी गुम्न सक्ने एक अन्तर्राष्ट्रिय वेबसाइटले अनुमान गरेको छ । सोनी, एलजी, अमेजन, फेसबुक, नोकिया, एलजी, भोडाफोन र एचएमडीजस्ता ठूला कम्पनीहरुले कोरोना भाइरसको कारण यस वर्ष प्रदर्शनीमा सहभागीता जनाउनबाट अस्वीकार गरेपछि मेला आयोजक जीएसएम एसोसियसनले मेला आयोजना गर्न ‘असम्भव’ भएको बताएको हो । मेला स्थगित भएको घोषण गर्दै एसोसियसनका प्रमुख कार्याकारी अधिकृत जन हफम्यानले, “बार्सिलोनाको सुरक्षित तथा स्वस्थ वातावरणलाई ध्यानमा राख्दै तथा कोरोना भाइरसको प्रकोपपश्चात यात्रा सम्बन्धी सरोकार तथा अन्य परिदृष्यलाई विचार गर्दै यस वर्षको मोबाइल वल्र्ड कँग्रेसलाई स्थागित गरेको” बताए । मेला आयोजनाको स्थगन हुँदा विश्वका ठूला कम्पनीहरुलाई अप्ठेरो पर्न सक्ने विश्लेषण आइरहँदा कति कम्पनीहरुले भने बजारमा ल्याउनका लागि तैयारी अवस्थामा राखेका उत्पादनहरुलाई ‘आफ्नै तरिका’ले सार्वजनिक गर्ने जानकारी दिएका छन् । उदाहरणको लागि सोनीले उसको ल्यागसिप मोबाइलको नयाँ संस्करण एक्सपेरिया–२ लाई यूट्युब भिडियोमार्फत पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नेछ । कोरोना भाइसरको कारण स्थगित भएको अर्को ब्यापार जमघट सिस्को लाइभ पनि हो । “कोरोना भाइरससम्बन्धी हाल कायम विश्वब्यापी सरोकारका कारण मार्च महिनाको ३ देखि ६ तारिकसम्मका लागि तोकिएको सिस्को लाइभलाई हालका लागि स्थगित गर्ने कठिन निर्णय गरिएको छ,” सिस्को लाइभको आधिकारी वेबसाइटमा लेखिएको छ । मेलबर्नमा हुन लागेको यस कार्यक्रममा करिब आठ हजार पाँच सयजति सहभागीहरु भेला हुने अपेक्षा गरिएको थियो । अमेरिकी नेटवर्किङ कम्पनीहरुको यस वार्षिक जमघटमा आयोजकले आफ्ना ग्राहक तथा सहभागीहरुलाई इञ्जिनियर तथा एग्जुक्युटिभ्सहरुसँग अन्तरक्रिया गराउने र तालिम तथा मनोरञ्जनात्मक शत्रहरु संचालन गर्ने गर्दछन् । त्यसैगरी यस वर्षको मार्चमा स्विटजरल्याण्डको बसेलमा आयोजना हुन लागेको बसेल फेस्टिबल पनि रद्द भएको छ । खाना, मनोरञ्जन, साइट सिईन, संस्कृति एवं गीत तथा संगीतको मिश्रणको रुपमा रहने यस कार्यक्रममा विश्वभरीका हजाराै पर्यटकहरुको सहभागीता रहने गर्दछ । “टाइम टू मुभ” शिर्षक दिइएको फेब्रुअरी अन्त्यका लागि जूरिचमा आयोजना हुने तय भएको वाच फेयर (घडीसम्बन्धी ब्यापार प्रदर्शनी) पनि कारोना भाइरसको कारण प्रभावित भएको छ । नविन, लग्जरी तथा महंगा घडीहरुको प्रदर्शनी तथा किनबेच हुने यस मेलालाई ओमेगा, टिसोट र लन्जिन्स जस्ता प्रख्यात ब्राण्डका घडी उत्पादक स्वाच गु्रपले वार्षिकरुपमा संचालन गर्दै आइरहेको छ । हरेक दुई वर्षमा आयोजना हुने एसियाकै सबैभन्दा ठूलो हवाइ मेला सिंगापुर एयरसो पनि यस वर्षका लागि स्थगित भएको छ । विश्वभरीका सैयाैं हवाइसम्बन्धी कम्पनीहरु सहभागी भएर हवाइ प्रविधिमा आएको पछिल्लो विकासलाई प्रदर्शनी गरिने यस मेलामा करोडाैं अमेरिकी डलर बराबरको ब्यापार सम्झौता समेत हुने गर्दथ्यो । कम्तिमा ७० भन्दा बढी हवाइ कम्पनीहरुले कोरोना भाइरसलाई जनाउँदै आफ्नो सहभागीता रद्द गरेपछि हवाइ मेलालाई हालका लागि आयोजना नगरिने बिबिसीको एक रिपोर्टले उल्लेख गरेको छ । मार्च महिनाको ५ देखि १५ तारिकसम्म संचालन हुन लागेको विश्वको सबैभन्दा ठूलो र महत्वपूर्णमध्येको एक जेनेभा इन्टरनेशनल मोटर सोको आयोजना पनि स्थगित भएको छ । यस सोका क्रमका विभिन्न ठूला मोटर उत्पादकहरुले आफ्नो उत्पादन सार्वजनिक गर्दै बृहत रकम बराबरको सम्झौता हात पार्दथे । कोरोना भाइरसको संक्रमणसँगै विश्वब्यापी अर्थतन्त्रमा परेको नकारात्मक असर तथा ठूला बहुराष्ट्रिय कम्पनीहरुले सामना गरेका चुनौती बारेका समाचार आइरहेका बेला पछिल्लो समय बस्तु तथा सेवा बजारको अवस्था, उपभोक्ताको किनमेलको अभ्यास तथा विभिन्न क्षेत्र तथा कम्पनीहरुको कमाइको गतिलाई नै खलबल्याउने गरी कैयाैं निर्धारित ठूल्ठूला ब्यापार प्रदर्शनी तथा मेलाहरु रद्द भइरहेका छन् । मानिसहरु बीच कोरोना भाइरसको संक्रमण हुने डरले गर्दा स्थगित गरिएका यस्ता मेलाहरुको कारण बस्तु तथा सेवाहरु बजारमा आउनबाट बञ्चित हुने मात्र नभइ ब्यापारिक प्रयोजनका लागि लाखाैंको संख्यामा हुने पर्यटन क्रियाकलापहरु समेत प्रभावित भएका छन् ।

खाडीदेशबाट पानी आयात गर्दै नेपाल, ९० प्रतिशत व्यापार घाटामा

  काठमाडौं ।  जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर चिनिन्छ । तर, खाडीदेशबाट नेपालमा पानी (मिनरल वाटर) आयात हुने गरेको छ । जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात गर्दै आएको छ । नेपालमा हरेक वर्ष मरुभूमि भएका मुलुकबाट समेत पानी आयात गरेर नेपालीले पानी उपभोग गर्ने गरेका छन । यसको अर्थ नेपाल खानेपानीमा गरीब नै भने होइन । हिमालय, महाभारत र चुरे तीनै पर्वत श्रृंखलाहरुमा मूल बनाएर बहने थुप्रै नदीनाला भएकाले नेपालमा खानेपानी प्रचुर मात्रामा छ । प्रचुर मात्रामा पानी भएको नेपाली बजारमा खानेपानी भने विदेशबाट आयात हुन्छ । चार वर्षको अवधिमा दुवईबाट मात्र २८ लाख ४७ हजार रूपैयाँको खानेपानी आएको छ । नेपालमा सबैभन्दा धेरै खानेपानी भारतबाट आउने गरेको छ । चार वर्षमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी नेपाल आयात भएको छ । स्वच्छ पानीको स्रोत कम भएका खाडी मुलुक संयुक्त अरब ईमिरेट्ससहित अन्य धेरै मूलुकबाट नेपालमा पानी आयत हुने गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ को पहिलोे ६ महीनामा मात्र नेपालले कुल १६ लाख १६ हजार रूपैयाँको पानी आयात गरेकाे छ । तर, साे अवधिमा नेपालबाट जम्मा १ लाख ६८ हजार रूपैयाँको पानी निर्यात भएको छ । ६ महिनामा खानेपानीको वैदेशिक व्यापारमा समेत नेपालले १४ लाख ४८ हजारले घाटा ब्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाकाे समयमा नेपालले बेलायत, संयुक्त अरब इमिरेट्स, भारत, पोल्याण्ड, अमेरिका, फ्रान्स, इटाली, जापान, फिलिपिन्स, थाइल्याण्ड, र क्यानडाबाट पानी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालमा विदेशी मुलुककाे हिउँबाट प्रशोधन गरिएको, मिनरलयुक्त, चिनी मिसाइएको र चिनी नमिसाइएको गरी चार प्रकारका पानी आयात हुने गरेको छ । गत चार  वर्षमा नेपालले विदेशबाट ७ करोड ४० लाख रूपैयाँको पानी आयात गरेको छ । आर्थिक वर्ष २०७२/०७३ देखि २०७५/०७६ सम्ममा १३ मुलुकबाट उक्त परिमाणको २१ लाख लिटर पानी आयात भएको छ । यूएई, भारत, चीन, बेलायत, हंगेरी, बंगलादेश, फिलिपिन्स, थाइल्याण्ड, फ्रान्स, अमेरिका, सिंगापुर, अष्ट्रेलिया र क्यानडा लगायतका देशबाट खानेपानी आयात हुँदै आएको विभागको तथ्याङकमा उल्लेख छ । ४ वर्षमा सबैभन्दा बढी खानेपानी भारतबाट आयात भएको छ । साे अवधिमा भारतबाट कुल ३ करोड ९६ लाख रूपैयाँको पानी आयात भएको छ । ४ वर्षमा ३५ लाखको पानी निर्यात ४ वर्षमा नेपालबाट ३५ लाख ५६ हजार रूपैयाँको मात्र पानी निर्यात भएको छ । नेपालबाट भारत, चीन, फ्रान्स, कोरिया, जर्मनी, यूएई र अमेरिकामा पानी निर्यात भएको हाे । नेपालबाट ४ वर्षमा सबैभन्दा बढी कोरियामा १२ लाख ३२ हजार रूपैयाँको निर्यात भएको छ । चीनमा चार लाख ५४ हजारको, अमेरिकामा ११ हजार रूपैयाँको र फ्रान्समा तीन लाख ६८ हजार रुपैयाँको पानी निर्यात भएको छ । सबैभन्दा थाेरै यूएईमा सात हजार रूपैयाँको मात्रै पानी निर्यात भएको छ । किन आयत हुन्छ विदेशबाट नेपालमा पानी ? एवान मिनरल वाटर कम्पनीका सञ्चालक सुरेश श्रेष्ठले देशमा रहेका पाँचतारे होटलले उच्च गुणस्तर र ब्रान्डका पानी खोज्ने भएकाले विदेशबाट आयात गर्ने गरेको बताए । पाँचतारे होटलमा आउने कतिपय पर्यटकले अन्तर्राष्ट्रिय ब्रान्डको पानी खोज्छन् र नेपाली ब्रान्डको पानीलाई विश्वास नगर्ने गरेको उनकाे भनाइ छ । उनले नेपालमा मिनरल वाटरको मूल्य वि‍स २०६० सालदेखि अहिलेसम्म एउटै भएकाले पनि नेपालमा मिनरल वाटर उत्पादन गर्ने कम्पनीहरु बन्द हुँदै गएको बताए ।

विश्वका सबैभन्दा जेठो पुरुष, धेरै बाँच्नुकाे रहस्य कहिल्यै नरिसाउनु

काठमाडौं । जापानका चितेत्सु वातानाबी हुन् विश्वका जेठो पुरुष । उनी अहिले १ सय १२ वर्षका भए । उनी मार्चमा १ सय १३ वर्षका हुँदैछन् । उनले आफ्नो जन्मदिन भन्दा पहिला गिनिज वल्र्ड रेकर्डबाट उपहार पाएका छन् । जसले आफु विश्वका जेठो पुरुष हुँ भन्ने पुष्टि गराई सकेका छन् । आफु लामो समय बाँच्नुको कारण कहिले नरिसाउनु र सधैं हाँसिराख्नु भएको उनी बताउँछन् । उनलाई ब्राउन सुगर जस्तो मिठाई पनि मन पर्दछ । तर, अहिले दाँत नभएकोले उनी क्स्टर्ड र क्रिम हालेको पफहरु मन पराउँछन् । सन् १९०७, मार्च ५ गते जन्मिएका वातानाबी परिवारको ८ वटा छोराछोरी मध्येका सबैभन्दा जेठा छोरा हुन् । कृषि स्कुलबाट दिक्षित भएपछि उनले १८ वर्ष ताईवानमा बिताए जहाँ उनले उनको श्रीमति मित्सुलाई भेटेर बिहे गरेका थिए । उनका ५ वटा छोराछोरी छन् । दोस्रो विश्वयुद्धको अन्त्य तिर उनले सैनिकमा पनि सेवा दिएका थिए । त्यसपछि उनी आफ्नै ठाउँ निगातामा फर्किए र अवकाश प्राप्त गर्दासम्म कृषि कार्यलयमा काम गरिरहे । यद्यपि, अवकाशले उनलाई सक्रिय हुनबाट रोकेन । सन् १९०७ मा उनी र उनका छोराले परिवारको लागि घर बनाए जहाँ वातानाबीले १०४ वर्षको उमेरसम्म तरकारीको खेती गरे । पछिल्लो एक दशक उनले बोनसाईका रुखहरु रोपे र त्यसलाई प्रर्दशनमा पनि राखे । कुन देशका मानिसहरु सबैभन्दा बढि बाँच्छन् ? जापानका मानिसहरुको सबैभन्दा लामो आयु भएको बताइन्छ । विश्व स्वास्थ्य संगठन्का अनुसार जापानीहरुको औसत आयु ८४.२ वर्ष छ । पुरुषहरुको औसत आयु ८१ वर्ष रहेको छ भन्दा महिलाको ८७ वर्ष छ । जापानीहरुको खानपानलाई उनीहरु लामो समय बाँच्नुको एक कारण मान्दछन् । उनीहरु विशेष गरेर मुटु लाई स्वस्थ राख्ने माछा खान्छन् । जुन ओमेग ३ फ्याटी एसिडका मुख्य स्रोत हुन् । तोफु, समुन्द्रि जनावर अक्टोपस, सिविड (समुन्द्रि तरकारीबाट बन्ने एक परिकार) जापननिजहरुमा प्रख्यात खानेकुरा हुन् । यी खानाले क्यान्सर लाग्ने सम्भावना कम बनाउँछ । यस्तै, जापानिजहरुमा मोटोपना पनि एकदमै हुन्छ । कुल जनसंख्याको ३ं.६ प्रतिशत जापानिजमा मात्र मोटोपनाको समस्या छ । मोटोपनाको कारण वर्सेनी लाखौं मानिसको मृत्यु हुने गरेको छ । यसको कारण मुटुरोग, क्यान्सर हो । साथै, जापानीज स्वास्थ्य सेवा प्रणालीलाई संसारको सबैभन्दा उत्तम मानिन्छ । जापानमा उत्कृष्ट चिकित्सा ज्ञान र उपकरणहरुको साथै सरकारले ७० प्रतिशत स्वास्थ्य खर्च बेहोर्छ भने कम आय भएका व्यक्तिको ९० प्रतिशतसम्म बेहोर्ने गर्दछ ।