विश्वकै ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्दै ट्रम्प, भारतसँग कुनै पनि व्यापारिक सम्झौता नहुने घोषणा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा सोमबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालाको उद्घाटन गर्नु हुने भएकाे छ । उनले भारतको ताज महलको भ्रमण गरेर सूर्यास्तको अबलोकन गर्ने कार्यक्रम समेत रहेको अधिकारीहरुले जानकारी दिएका छन् । तर पूर्व अपेक्षित व्यापार सम्झौता भने उनको भ्रमणका क्रममा नहुने बताइएको छ । राष्ट्रपति ट्रम्पको भ्रमणले दुई पक्षीय सम्बन्ध विशेष गरेर व्यापारको क्षेत्रमा सुधार हुने अपेक्षा गरिएको छ । विज्ञहरुका अनुसार अमेरिकाले चीनसँगको सम्बन्धमा दवाव दिनका लागि रणनीतिक मित्रका रुपमा भारत उपयोग गर्न खोजेको बताएका छन् । “भारतसँग हाम्रो व्यापार धेरै राम्रो छैन, तर पनि म प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न मन पराउँछु,” ७३ बर्षीय ट्रम्पले भारत भ्रमणको पूर्वसन्ध्यामा भने । ट्रम्पले यसअघि पनि गत नोभेम्बरको निर्वाचनअघि भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने उल्लेख गरे । उनले मोदीसँग व्यापारका कुरा भने हुने बताए । भारत भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पका साथ श्रीमती मेलानीया, छोरी इभान्का र ज्वाईं जारेड कुश्नर रहेका थिए । राष्ट्रपति ट्रम्पले सोमबार नयाँदिल्लीमा ओर्लिएपछि सुरुमा पश्चिमी गुजरात राज्यको भ्रमण गर्नुहुने छ । आफू मुख्यमन्त्री हुँदा गरेको भूकम्पपछिको पुनर्निर्माण देखाउन मोदीले ट्रम्पलाई गुजरातको भ्रमण गर्ने छन् । सोही क्रममा उनले गुजरात क्रिकेट एसोसिएसनद्वारा निर्मित सरदार पटेल रङ्गशालाको उद्घाटन गर्नु हुनेछ । मोटेरा स्टेडियम समेत भनिने सो खेल मैदानको वरिपरी ७ सय मिटर लामो पर्खाल बनाइएको छ । खेलमैदानमा एक लाख मानिसको उपस्थितिमा “नमस्ते ट्रम्प” कार्यक्रमको पनि आयोजना गरिएको छ । नमस्ते ट्रम्प कार्यक्रम गत वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमकै प्रतिरुप हो । त्यतिबेला हाउडी मोदी कार्यक्रममा ट्रम्प सहभागी भएपछि दुबैले प्रवासी भारतीय अमेरिकीलाई सम्बोधन गरे । नमस्ते ट्रम्प कार्यक्रमपछि  श्रीमतीसहित ताज महल अवलोकन गर्न गएका हुन् । ताज महलमा ट्रम्पको टोली एक घण्टा रहने तालिका छ । भ्रमणको दोस्रो दिन मङ्गलबार ट्रम्प दिल्ली फर्केर हैदरावाद हाउसमा विभिन्न चरणमा रक्षा, व्यापारलगायतका विषयमा छलफल गरे । ट्रम्प राष्ट्रपति भएपछिको भारतको पहिलो औपचारिक यो भ्रमण दुई दिन मात्रै हुने तय भएको छ । ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ । अमेरिकी संविधानअनुसार राष्ट्रपतिको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । मोदी र ट्रम्पबीच पछिल्लो आठ महिनामा पाँचौं पटक भेट हुँदैछ । यसअघि यी दुई शीर्ष नेताबीच ओसाका, बायरिज, ह्यूस्टन र न्यूयोर्कमा गरी चारपटक भेट भइसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले ट्रम्पको स्वागतका लागि भारत सरकार र भारतीय जनता उत्सुकताका साथ प्रतिक्षा गरिरहेको बताए । उनका अनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा आउन लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् । यसअघि तत्कालीन राष्ट्रपति बाराक ओवामाले सन् २०१५ जनवरी २५–२७ मा तीन दिने भारत भ्रमण गरेका थिए । उनले आफ्नो दुवै कार्यकालमा भारतको भ्रमण गरे । रासस/एएनआई/एएफपी

१० करोड अमेरिकी डलर सहयोग गरेका बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिको पत्र

बेइजिङ । चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि १० करोड सहयोग गरेको भन्दै बिल गेट्सलाई पत्र पठाउनु भएका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो । महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ । राष्ट्रपति चिनफिङले “तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।” लेखेका थिए । उनले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा पत्रमा उल्लेख गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । रासस/एएफपी

भारतको उत्तर प्रदेशमा भेटियो तीन हजार टनको सुन खानी

एजेन्सी: भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी सुन खानी  भेटिएको छ । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेकाे छ। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको हाे । अहिले यही रिपोर्टले स्थानीयमा खुसीको लहर ल्याएको हो।  रिपोर्टका अनुसार यी पहाडी क्षेत्रमा ३ हजार टन सुनको खानी मिलेको हो। जसको लिलामीका लागि सरकाले प्रक्रिया थाल्न लागेको छ। भारत अहिलेसम्म संसारकै सबैभन्दा थोरै सुनखानी रहेको देशमा पर्छ। तर, यो सुन खानी भेटिएपछि अब भारत विश्‍वकै दोस्रो धेरै सुन भएको देशकाे रुपमा चिनिने छ। जानकारी अनुसार अहिलेसम्म अमेरिका पहिलो नम्बरमा छ। अमेरिकासँग ८ हजार १ सय ३३.५ टन सुन छ। जर्मनीसँग ३ हजार ३ सय ६६ टन रहेको छ। तेस्रो नम्बरमा अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन छ। त्यसपछि इटाली, फ्रान्स, र रूससँग बराबरी सुन छ। उत्तर प्रदेशको सोनभद्र जिल्लामा सुन खानी मिलेपछि त्यहाँको पूरै क्षेत्रमा उत्साहको माहोल छ।