राजकुमार चार्ल्सलाई कोरोना संक्रमण

लन्डन । वेल्सका राजकुमार चार्ल्स फिलिप आर्थर जर्जलाई कोरोना संक्रमण भएको छ । क्लेरेन्स हाउसले राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेकाे हाे । एलिजावेथ द्वितीयका जेठा छोरा ७१ वर्षीय चार्ल्सलाई सामान्य कोरोनाका लक्षण देखिएको बताइएको छ । तर, उनको अवस्था भने सामान्य रहेको प्रवक्ताले जनाएका छन् । त्यसैगरी उनकी पत्‍नी डचेस अफ कोर्नवाल, क्यामिलालाई पनि कोरोना परीक्षण गरिएको थियो । तर, उनलाई भने कोरोना नेगेटिभ देखिएको बीबीसीले जनाएकाे छ ।

पाकिस्तानमा आन्तरिक हवाई उडान बन्द

इस्लामाबाद । प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या एक हजार भन्दा बढी भएपछि पाकिस्तान सरकारले सबै आन्तरिक यात्रुबाहक हवाई उडान स्थ।गिन गरेको छ पाकिस्तानी नागरिक उड्डयन अधिकारीहरुका अनुसार हवाई उडानमाथिको प्रतिबन्ध बिहीबारदेखि लागू हुनेछ । पाकिस्तानले यसअघि नै रेलसेवा र अन्तर्राष्ट्रिय हवाई उडान रोकिसकेको छ । प्रारम्भमा, पाकिस्तानमा भेटिएका सबैजसो संक्रमित व्यक्तिहरु इरानबाट फर्किएका व्यक्तिहरु थिए । मध्यपूर्वका मुलुकमध्ये सबैभन्दा बढी प्रभावित इरान भएको छ । यहाँ मंगलबार एकै दिन १२२ जनाको मृत्यु भएको थियो । हालसम्म इरानमा १ हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने २४ हजार ८०० भन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । रासस/एपी

बेलायतमा पनि ‘लकडाउन’, दुई जनाभन्दा बढी भेट्न नपाइने

लण्डन । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण लगातार बढेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडाइ गर्न ‘लकडाउन’ को घोषणा गरेका छन्। सर्वसाधारणलाई घरभित्रै बस्न आह्वान गरिनुको साथै दुई जनाभन्दा बढीको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिएको छ । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण रोक्ने प्रयासका रुपमा प्रधानमन्त्री जोनसनले नयाँ नियन्त्रणका उपाय अघि सार्नु भएको हो । यो नियम तत्काल लागू हुने भएको छ । आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक सेवा वाहेक अब घरबाहिर निस्किन निषेध गरिएको छ । यी नियम नमान्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने प्रधानमन्त्री जोनसनले बताएका छन् । उनले यस्ता घोषणा गर्ने कुनै प्रधानमन्त्रीलाई पनि रहर नहुने भन्दै तीन सातामा यी नियमको समीक्षा गरिने बताए । बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ३३५ व्यक्तिको मृत्यु भइसेकेको छ । छ हजार १८० व्यक्ति सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ । उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम भएको समाचारमा जनाइएको छ । यसअघि कोरोना भाइरस महामारी फैलिन नदिने उद्देश्यले जर्मनीले घर तथा कार्यालयबाहेक अन्य स्थानमा दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागू गरिसकेको छ । टेलभिजनमा सम्बोधन गर्नु हुँदै चान्सलर एञ्जेला मार्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएका थिए । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण १२३ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ४८० जना सङक्रमित रहेका छन् । यसैबीच ४५३ उपचारपछि निको भएर घर फर्किएका छन् । रासस / एएफपी