बंगालादेशमा इन्धनको मूल्य इतिहासकै बढी

एजेन्सी । बंगालादेशमा सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा उच्च वृद्धि भएको हो । बंगालादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका पुगेको छ । हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रालको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ । अधिकारीहरूले भने कि खुद्रा स्तरमा पछिल्लो मूल्य वृद्धि राज्य सञ्चालित वितरण कम्पनीहरूलाई दिइएको सहुलियतको बोझ कम गर्न अपरिहार्य भएकाले इन्धनको मूल्य बढाइएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । साथै मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बंगालादेशको भन्दा धेरै बढी भएको बताएको छ । आर्थिक क्षेत्रका जानकाररूले इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई बढाउने बताएका छन् गत जुनमा मुद्रास्फीति बढेर ७।५६ प्रतिशत पुगेको थियो । बितेका नौ वर्षयता पहिलोपटक यति उच्च बिन्दुमा मूल्यवृद्धि पुगेको हो ।

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

लस एन्जेलस । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो घोषणा गरेको हो । उक्त विभागका तर्फबाट बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकामा मङ्कीपक्सको अवस्था दिन प्रतिदिन बढ्दै गएपछि सो घोषणा गरिएको बताइएको थियो । विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी समस्याका रुपमा घोषणा गरेको एक हप्तापछि अमेरिकाले पनि आफ्नो देशमा जनस्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो । अमेरिकामा बिहीबारसम्ममा छ हजार ६०० जनामा यो सङ्क्रमण देखिएको बताइएको थियो । सो पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार विश्वमा हाल देखा परेको मङ्कीपक्सको सङ्क्रमणमध्ये अमेरिकामा मात्र २५ प्रतिशत पाइएको हो । विश्वका कैयौँ देशमा मङ्कीपक्सको सङ्क्रमण देखिएको छ । विश्वमा हाल २५ हजार ८०० जनामा यो सङ्क्रमण पाइएको बताइएको छ ।अहिले पनि विश्वका कतिपय देशहरुमा यसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएका समाचारहरु आइरहेका छन् । अमेरिकाका न्युयोर्क, क्यालिफोर्निया र इलिनोइसमा यो सङ्क्रमणका बढी सङ्क्रमितहरु पाइएका बताइएको छ ।

सुडानमा खाद्यान्नको चरम सङ्कट पर्न लागेको संयुक्त राष्ट्रसङ्घको चेतावनी

खार्तुम । संयुक्त राष्ट्रसङ्घले सुडानमा खाद्य सङ्कट पर्नसक्ने चेतावनी दिएको छ । राष्ट्रसङ्घले यसअघि पनि कैयौँ पटकसम्म यहाँ खाद्य सङ्कट पर्न सक्ने बताउँदै आएको छ । यहाँ खाद्यान्नको अभाव टार्नका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुन नसक्ने हो भने छिट्टै नै खाद्यान्नको अभाव पर्ने राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो । सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट पर्नसक्ने जनाएको हो । यहाँ खाद्यान्न उत्पादन हुन छोडेको र विदेशी दाताहरुबाट प्राप्त सहयोगले मात्र दैनिक रुपमा चल्ने गरेकोले यहाँको अवस्था नाजुक बन्दै गएकोले यहाँका नागरिकहरुमा आन्तरिक रुपमा विस्थापित हुने संख्या पनि बढ्दै गएको पाइएको बताइएको छ । यहाँ जुनदेखि सेप्टेम्बरसम्म यहाँको करिब एक चौथाई जनसङ्ख्या खाद्यान्नको सङ्कटमा पर्ने देखिएको र अब त्यो भन्दा पनि बढी हुनसक्ने सो संस्थाले जनाएको छ । हाल सुडानमा आन्तरिक रुपमा विस्थापित भएका बाहेक पनि पाँच लाख ५० हजार जना शरणार्थीलाई विश्व खाद्य कार्यक्रमले सहयोग गर्दै आएको छ । आगामी दिनमा यदि अहिलेजस्तै सङ्कट पर्दै जाने र विदेशी दाताहरुबाट सहयोग प्राप्त नहुने हो भने शरणार्थीलाई दिइँदै आएको सुविधामा पनि कटौती गर्नुपर्ने अवस्था आउने सो कार्यक्रमले जनाएको छ । रासस/सिन्हवा