कोरोना संक्रमण विस्तारलाई कसरी नियन्त्रणमा राखेको छ जापानले ?
काठमाडौं । कोरोनाको कहरवाट संसार त्रस्त हुँदा पनि जापानमा भने यस्तो केही पनि देखिँदैन । ओलम्पिक लगायतका खेलकुद प्रतियोगिता, केही स्कुल र मनोरञ्जन केन्द्रलाई छाडेर यहाँ सबै क्षेत्र यथास्थितिमै समान्य ढंगबाट सञ्चालनमा छन् । न कुनै क्वारेन्टाइन खडा गरिएको छ, न त बार, रेस्टुरेन्ट र क्लबहरु बन्द गर्न निर्देशन दिइएको छ । यदि तपाइ रेस्टुरेन्टमा पिजा खान चाहनुहुन्छ भने पनि सजिलै किन्न सक्नुहुन्छ । बजार केही खाली त देखिएको छ तर खुला छ । देशको कुनैपनि ठाउँमा जान चाहानुहुन्छ भने गाडी भाडामा लिएर जान तथा पुगेर फर्किन चाहनुहुन्छ भने पनि कुनै रोकतोक छैन । यसको मतलब यहाँ निर्वाधरुपमा अधिकांशले आफ्नो सामान्य दैनिकी चलाइरहेका छन् । यसबाट प्रमाणित हुन्छ कि जापानमा पनि संक्रमण फैलने सम्भावना भने अन्य देश र सहरमा जत्तिकै छ । जापानमा पहिलो संक्रमण पुष्टि भएको हिजो (२९ मार्च) २ महिना १७ दिन पुग्यो । यस अवधिमा १ हजार ६ सय ९३ जनामा मात्रै संक्रमणको पुष्टि भएको छ । जसमध्ये ४ सय ४ जना उपचार गराएर घर फर्किएका छन् भने ५६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को रिपोर्टमा उल्लेख छ । अब एउटा गम्भिर प्रश्न यो पनि उठ्न सक्छ कि अन्य देशहरुमा संक्रमण तीव्र भइरहेका बेला जापानमा भने अधिकांश क्षेत्र खुला हुँदा पनि कसरी संक्रमण दर न्यून र नियन्त्रणमा छ ? उच्च जनघनत्व भएको यो देश कोरोनाको उद्गमस्थल चीनसँग नजिकको सम्पर्कमा समेत छ । यहाँका सहरहरु विशाल छन् र साना साना अपार्टमेन्टमा धेरै परिवार बस्नु यहाँको अर्को विशेषता हो । यस देशको टे«नलाइ संशारकै धेरै भिडभाड युक्त यात्रुटे«नको रुपमा लिइन्छ । काम गर्न जाँदा र अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न भन्ने हो भने पनि लगभग चार करोड जनसंख्या रहेको राजधानी टोकियोलाई संशारकै ब्यस्त शहर बन्दछ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार इटालीमा संक्रमण बढ्नुको एक कारण यहाँका नागरिकको उमेर पनि हो । सबैभन्दा धेरै औसत आयु हुने मुलुकमा इटाली युरोपमा पहिलो र विश्वमा दोस्रो स्थानमा आउँछ । वृद्ध मानिसलाई कोरोना संक्रमण र मृत्युदरसमेत बढी देखिएको छ । यही तथ्यलाई आधार मान्ने हो भने इटालीमा भन्दा जापानमा धेरै मानवीय क्षति र संक्रमण फैलनुपर्ने हो । किनकि जापान विश्वकै सबैभन्दा धेरै औसत आयु भएको मुलुक हो । तर अवस्था त्यस्तो छैन । धुम्रपानलाई चीनमा धेरै मानिसको मृत्यु हुनुको साझा कारण मानिएको छ । तर यही तथ्यलाई जापानसँग तुलना गर्ने हो भने मेल खाँदैन । यहाँ रहेका ३३ प्रतिशत मानिस धुम्रपानको लतमा रहेको तथ्याङ्क सम्बन्धित निकायबाट प्रकासित भएको छ । सन् २०१७ मा जापानका पुरुषहरुको धुम्रपानदर जी ७ मुलुकमध्येमा उच्च थियो । अनिवार्य सेल्फ आइसोलेसनमा १४ दिन कोरोना भाइरस संक्रमण हुन नदिन जापान सरकारले आफ्ना नागरिकहरुमाथि कडा कदम उठाएको छैन भन्न मिल्दैन । तर, महामारी नियन्त्रणमा ल्याउन जसरी चीनले क्वारेन्टाइन र पूरा हुवेई राज्यलाई नै लकडाउन गर्यो, यात्रामा प्रतिबन्ध लगायो, जापानले भने यस्ता कुनै कदम चालेन । संक्रमण देखिएका देशका नागरिक अहिले पनि जापान घुम्न सक्छन् । तर, उनीहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । किनकि संक्रमितबाट अन्यमा कोरोना भाइरस नसरोस् भन्नेमा भने जापान सचेत छ । संक्रमित क्षेत्रको पूर्णपरीक्षण जब उत्तरीद्घिप होक्काइदोको एक प्राथमिक विद्यालयमा भाइरसको संक्रमण देखियो तत् पश्चात विद्यालय बन्द तथा उक्त क्षेत्रलाइनै सिल गरेर सबैको पूर्ण परीक्षण तथा संक्रमितको उपचार गरियो । जसको कारण संक्रमण अन्य क्षत्रमा पैmलिन पाएन । सचेत जनता तथा संक्रमण विपरित संष्कार कतिपय सामाजिक व्यवहार, चलन र आनीबानीका कारण पनि यहाँ अन्य ठाउँमा जसरी रोगको संक्रमण नफैलिएको हो । भेटका क्रममा हात मिलाउनुको सट्टा टाउको निहुराउने, कोरोना भाइरसको संक्रमण देखिनु धेरै अघिदेखि नै मास्क लगाउने चलन हुनु, वृद्धवृद्धा बस्नलाई छुट्टै आश्रमको व्यवस्था हुनु तथा सेल्फ आइसोलेसन र सोसल डिस्टेन्स (सामाजिक दूरी) कायम हुनुले जापान सक्रीय प्रयासबिनै कोरोना विरुद्धको लडाइँमा केही हदसम्म सफल भएको मानिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लगायत अन्य केही निकायहरुले वास्तविक संक्रमितको संख्या लुकाएको आरोप पनि जापानमाथि लगाएका छन् । जापानमा कम परीक्षण हुनु नै यहाँ थोरैमा कोरोना संक्रमण देखिनुको कारण भएको आलोचकको भनाइ छ । यसको सीधा सम्बन्ध यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुदसँग जोडिएकोले जापान सुचना लुकाउँदै छ, जापान चाहँदैन कि धेरै व्यक्तिमा कोरोना फैलिएको तथ्य बाहिर आएर ओलम्पिक आयोजनामा व्यवधान होस् भन्ने जस्ता आरोप पनि जापानले खेपिरहेको छ । तर कम परीक्षण तथा सुचना लुकाइनुले संक्रमण नियन्त्रण होला त ? यस्तै, जापानमा हुने भनिएको ओलम्पिक खेल पनि रद्द भइसकेको छ । कोरोना कहरको हालको अवस्थाले संसारलाई नै भयानक अनिश्चिततातर्फ डोर्याइरहको जस्तो लाग्छ । भाइरसको संक्रमण फैलिन नदिन सरकारले सबै जनतालाई उच्च सतर्कता अपनाउनतर्फ सजग गराउनु जरुरी छ । हाल विश्वभर फैलिएको कोरोना कहर तथा यसबाट उत्पन्न बिबिध चुनौतिहरु जस्तै स्वास्थ्य, मनबिय, आर्थिक, सामाजिक, बेराजगारी लगायतलाई समाधान गर्नका लागि जापानी पद्धति पनि एक उत्तम बिकल्प हुन सक्छ । (अन्तराष्ट्रिय संचार माध्यमहरुको सहयोगमा)
कोरोना अपडेट : इटालीमा भयावह कायमै, अमेरिकामा सङ्क्रमित १ लाख ४२ हजार
जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ७ सय ५६ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ७ सय ७९ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ । यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ । सो ठाउँमा इटालीमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रही आएको देखिएको छ । इटालीमा सङ्क्रमण हुनेहरु ९७ हजार ६ सय ८९ पुगेका छन् । प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ । यता अमेरिका यो सङ्क्रमणको सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देशमा परेको छ । यहाँ अहिलेसम्म १ लाख ४२ हजार १ सय ७८ नागरिक सङ्क्रमित भएका प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । स्पेनमा ज्यान जाने नागरिकको सङ्ख्या ६ हजार ८ सय ३ जना पुगेको छ । त्यसैगरी सङ्क्रमण हुनेहरु ८० हजार १ सय १० पुगेका छन् । यहाँ १४ हजार ७ सय ९ नागरिक उपचारपछि घर फर्किएका छन् । यसरी स्पेन कोरोना सङ्क्रमणबाट बढी ज्यान जाने देशमा इटालीपछि दोस्रो देशको रुपमा रहेको छ । संयुक्त राज्य अमेरिकामा २ हजार ४ सय ८४ जनाको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रूूत रुपमा यस सङ्क्रमणको विस्तार भइरहेको देखिएको छ । प्रतिदिन यहाँ हजारौं नागरिक सङ्क्रमितको सूचीमा थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभर ७ लाख २३ हजार ३ सय १९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यसबाट ३३ हजार ९ सय ९३ नागरिकको ज्यान गएको छ । सोमबार बिहानसम्म प्राप्त समाचारमा सङ्क्रमित व्यक्तिहरूमध्ये १ लाख ५१ हजार ७ सय ६६ जना उपचारपछि घर फर्किएका छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । यद्यपि इटाली र स्पेनमा यस भाइरसका कारण भयावह स्थिति भएको छ । कोरोना भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३ सय ४ जनाको मृत्यु भएको छ भने । त्यहाँ ८१ हजार ४ सय ७० जना सङ्क्रमित रहेका छन् । यसैबीच ७५ हजार ७ सय व्यक्ति उपचारपछि घर फर्किएका छन् ।इरानमा यस सङ्क्रमणका कारण २ हजार ६ सय ४० जनाको मृत्यु भएको छ । हाल ३८ हजार ३ सय ९ जना सङ्क्रमित रहेका छन् । १२ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका बताइएको छ । जर्मनीमा कोरोना भाइरसको सङ्क्रमणको कारण ५ सय ४१ व्यक्तिको मृत्यु भएको छ । हाल त्यहाँ ६२ हजार ४ सय ३५ जना सङक्रमित रहेका छन् । यहाँका नौ हजार २ सय ११ उपचारपछि निको भएर घर फर्किएका छन् । यसरी हेर्दा जर्मनीमा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको अवस्था देखिएको छ । उता फ्रान्समा कोरोना भाइरस सङ्क्रमणका कारण २ हजार ६ सय ६ जनाको मृत्यु भएको छ । सोमबार प्राप्त समाचारअनुसार यहाँ ४० हजार १ सय ७४ सङ्क्रमित रहेका छन् । यहाँका ७ हजार २० नागरिक उपचारपछि घर फर्किएका छन् । संयुक्त अधिराज्यमा पनि पछिल्लो समयमा कोरोना भाइरस सङ्क्रमणको हुनेको संख्या बढ्दै गएको देखिएको छ । यहाँका १ हजार २ सय २८ व्यक्तिको मृत्यु भएको छ । यहाँका १९ हजार ६ सय ५८ सङ्क्रमित भएका छन् । यहाँका करिब ५ सय जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ३ सय व्यक्तिको मृत्यु भएको छ । १४ हजार ८ सय २९ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ५ सय ९५ जना भने उपचारपछि घर फर्किएका छन् । नेडरल्याण्डमा यस सङ्क्रमणबाट ७ सय ७१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । यसैबीच २ सय ५० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । बेल्जियममा सङ्क्रमणको कारण ४ सय ३१ व्यक्तिको मृत्यु भएको छ । १० हजार ८ सय ३६ सङ्क्रमित भएका छन् । यसैबीच १ हजार ३ सय ५९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १ सय ५८ व्यक्तिको मृत्यु भएको छ । ९ हजार ६ सय ६१ सङ्क्रमित भएका छन् । ५ हजार २ सय २८ उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी यस कोरोना भाइरस सङ्क्रमणबाट टर्कीमा १ सय ३१ मृत्यु भएको छ । ९ हजार २ सय १७ सङ्क्रमित भएका छन् । अष्ट्रियामा ८६ मृत्यु हुनुको साथै ८ हजार ७ सय ८८ सङ्क्रमित भएका छन् । ब्राजिलमा यस सङ्क्रमणबाट १ सय ३६ मृत्यु हुनुको साथै चार हजार २ सय ५६ सङ्क्रमित भएका छन् । स्वेडेनमा कोरोना भाइरस सङ्क्रमणबाट १ सय १० मृत्यु हुनुको साथै तीन हजार ७ सय सङ्क्रमित भएका छन । पोर्चुगलमा सङ्क्रमणबाट १ सय १९ मृत्यु भएको छ । ५ हजार ९ सय ६२ सङ्क्रमित भएका छन । क्यानाडामा सङ्क्रमणबाट ६५ को मृत्यु हुनुको साथै छ हजार ३ सय २० सङ्क्रमित भएका छन । सङ्क्रमणबाट डेनमार्कमा ७२ जनाको मृत्यु हुनुको साथै २ हजार ३ सय ९५ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट जापानमा ५४ मृत्यु भएको छ । १ हजार ८ सय ६६ सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणबाट भारतमा २९ को मृत्यु भएको छ । एक हजार २४ सङ्क्रमित भएका छन । कोरोना भाइरस सङ्क्रमणबाट पाकिस्तानमा १४ मृत्यु भएको छ । एक हजार ५ सय ९७ सङ्क्रमित भएका छन । त्यसैगरी यस महामारीबाट नर्वेमा २६, अष्ट्रेलियामा १७, इजरायलमा १५, मलेसियामा ३५, आयरल्याण्डमा ४६, चिलीमा ७, पोल्याण्डमा २२, रोमानियामा ४३, थाइल्याण्डमा ७, सिङ्गापुरमा ३, रुसमा ८, पेरुमा १८ लगायतको मृत्यु भएको छ । रासस/एपी/सिन्ह्वा/एएफपी
कोरोनाको प्रभाव: सिंगापुर एयरलाइन्सका उडान ९६ प्रतिशत कटौती, भारतीय वायुसेवा क्षेत्रमा ३.६ अर्ब डलर नोक्सानी
सिंगापुर । कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने प्रयास स्वरुप विश्वका सबैजसो मुलुकले आफ्ना सीमा बन्द गरेसँगै ट्राभल उद्योगमा व्यापक असर पारेको देखिएको छ, खासगरी हवाई सेवाका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटिए) का अनुसार हवाई कम्पनीहरुले यसै वर्षमात्र ३ खर्ब ६० करोड डलर बराबरको नोक्सानी व्यहोर्ने सम्भावना देखिएको छ किनभने सबैजसो देशमा घरेलु र अन्तर्राष्ट्रिय दुबै किसिमका व्यावसायिक उडानहरु लगभग बन्द अवस्थामा छन् । सिड्नीस्थित हवाई उड्डन केन्द्र (सिएपिए)को अनुमान अनुसार सरकारहरुबाट आवश्यक सहयोग नपाए मे महिनाको अन्त्यसम्ममा धेरै कम्पनी टाट पल्टिने अवस्थामा पुग्नेछन् । केन्द्रले यस वर्ष आधाजसो विश्वव्यापी सञ्जाल भएका एयरलाइन्सले ग्राहक नै नपाउने अवस्था पनि प्रक्षेपण गरेको छ । कम्पनी टाट पल्टिने अवस्थासम्बन्धी एडवार्ड अल्टम्यानले सन् १९६० को दशकमा विकास गरेको जेड–स्कोर विधिको प्रयोग गर्दै ब्लुमबर्गले केही विमान कम्पनी टाट पल्टिने अवस्था आउने औंल्याएको छ । ब्लुमबर्गका अनुसार पाकिस्तान इन्टरनेसनल एयरलाइन्स, स्पाइसजेट, नर्वेजियन, अमेरिकन एयरलाइन्स, स्काई वेस्ट, एयर एसिया, एसियाना एयरलाइन्स, भर्जिन अस्ट्रेलिया, कोरियन एयर, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्स सबैभन्दा ठूलो खतरामा रहेका छन् । यो सूची वास्तवमै पूर्ण होइन । यो विश्लेषणमा सरकारको जमानत, शेयरहोल्डरबाट हुने पूँजी लगानी, र अरु लगानीका स्रोतका बारेमा समावेश गरिएको छैन । जेड–स्कोरले मुख्यतः कम्पनीको तरलता स्थिति, ऋण तिर्ने क्षमता, नाफा, लाभप्रदता र पछिल्लो कार्यसम्पादन समेतका पाँच विषयलाई ध्यान दिएको छ । ट्राभल उद्योगसँग सम्बन्धित तथ्याँक उपलब्ध गराउने संस्था सिरियमका अनुसार अधिकांश एयरलाइन्समा अहिले नगद प्रवाहको अवस्था दयनीय छ किनभने विश्वका झण्डै एक तिहाई विमानहरु अहिले थन्क्याएर राखिएको छ । एसिया प्रशान्त क्षेत्रका विमानस्थलहरुले यस क्षेत्रका १२ वटा मुख्य विमानस्थलमा हवाई ट्राफिक गतवर्षको तुलनामा मार्चको दोस्रो साता औसतमा ८० प्रतिशतले कमी आएको बताएका छन् । सिंगापुर एयरलाइन्स जस्ता राम्रै ट्«याक रेकर्ड भएका कम्पनी पनि कोविड–१९ को जालोमा परेका छन् । महामारीको संकट उत्पन्न हुनु ठीक अघिसम्म सिंगापुर एयरलाइन्स विश्वमै १५औं ठूलो विमान सेवा थियो । यसले विश्वका ३५ भन्दा बढी मुलुकका करिब १४० स्थानमा उडान भरिरहेको थियो । अघिल्लो साता सिंगापुर एयरलाइन्सले अप्रिलको अन्त्यसम्म आफ्ना उडानलाई ९६ प्रतिशतले कटौती गर्ने घोषणा गरेको थियो । कम्पनीले आफ्ना सिंगापुर एयरलाइन्स र सिल्क एयरका १४७ मध्ये १३८ वटा विमानलाई ग्राउन्डेड गर्ने बताएको थियो । बजेट एयरलाइन्सका रुपमा चिनिएको स्कूटले पनि आफ्ना ४९ मध्ये ४७ वटा बिमान उडाउन छाडेको छ । कतिपय विमान कम्पनीहरुले विमान उत्पादकहरुसँग पनि थप बिमान खरिदमा ढिलाई गर्ने बारेमा छलफल शुरु गरेका छन् र यदि त्यसमा सहमति भए विगतमा अर्डर दिइसकेका विमानको भुक्तानीमा पनि ढिलाई हुने निश्चित छ । कम्पनीको उच्च नेतृत्वले व्यवस्थापन खर्चमा पनि कटौती गर्ने योजना सार्वजनिक गरिरहेका छन् । पाइलट समेतका धेरै कर्मचारीलाई विदा दिन थालिएको छ । करारमा रहेका कर्मचारीले अवकाश पाउने सम्भावना छ । यसबाट करिब १० हजार कर्मचारीमाथि प्रत्यक्ष असर पर्नेछ । सिंगापुरको आन्तरिक बजार छैन । सिंगापुर एयरलाइन्सको व्यावसायिक मोडेल नै सिंगापुरका नागरिक वा चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्नेहरुमाथि निर्भर छ । सिंगापुर सरकारले मार्च २४ देखि चाङ्गी एयरपोर्ट हुँदै यात्रा गर्न विदेशी नागरिकलाई पनि निषेध गरेपछि र विश्वका सबैजसो देशले हवाई यात्रा रोकेपछि सिंगापुर एयरलाइन्सले आफ्ना उडानको संख्या कटौती गर्नुको विकल्प थिएन । मार्च २४ मा स्टक बजारमा शेयर खरिदबिक्रीमा रोक लगाइएसँगै सिंगापुर एयरलाइन्सले एउटा आर्थिक उद्धार प्याकेज घोषणा गरेको थियो । सिंगापुर एयरलाइन्समा ५५ प्रतिशत शेयर रहेको सरकारी लगानी कम्पनी टेमासेक होल्डिङ्सको आडभरोसामा उक्त प्याकेज घोषणा गरिएको थियो । उक्त आर्थिक प्याकेजमा ३।७ अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर जारी गर्ने तथा ६.८ अर्ब डलर बराबरको परिवर्तनीय ऋणपत्र बिक्री गर्ने समावेश छ । बिक्री नहुने बाँकी शेयर र ऋणपत्र आफैं खरिद गर्ने पनि टेमासेकले जनाएको छ । कोरोनाको महामारीका कारण हवाई यात्रा बजारमा क्षति पुगेयता कुनै एयरलाइन्सले यतिठूलो आर्थिक प्याकेज घोषणा गरेको यो नै हो । सिंगापुर सरकारले गत बिहीबार घोषणा गरेको ३३।८ अर्ब डलरको कोरोनाभाइरस सिर्जित पूरक बजेट प्याकेजभन्दा थप हो । सरकारले ट्राभल र हवाई उद्योगलाई मद्दत गर्न १ अर्ब सिंगापुर डलरको अलग्गै व्यवस्था गरेको छ । आर्थिक दृष्टिबाट असर परेका कम्पनीहरुमा कार्यरत सिंगापुरका कामदारलाई उनीहरुले प्राप्त गर्ने ज्यालाको ७५ प्रतिशतसम्म भुक्तानी गरिने सरकारको घोषणामा छ । कोरोनाभाइरसको महामारीका कारण २१ दिने लकडाउन घोषणा गरेको भारतका विमान सेवाहरुमाथि पनि ठूलो असर पर्नेछ । सिएपिएको अनुमानमा भारतीय हवाई उद्योगले जुन ३० मा समाप्त हुने सन् २०२१ को आर्थिक वर्षमा करिब ३।३ देखि ३।६ अर्ब डलरको नोक्सानी व्यहोर्नु पर्नेछ । यो अनुमान अप्रिल १५ देखि लकडाउन खुल्छ र हवाई सेवा सुचारु हुन्छ भन्ने आधारमा गरिएको हो । सन २०२१ मा ३० देखि ५० प्रतिशत घरेलु र विदेशी हवाई उडानमा कमी आउने पनि सिएपिएले जनाएको छ । यसबाहेक, ब्लुमबर्ग क्वीन्टका अनुसार जुनमा समाप्त हुने आर्थिक वर्षभित्रै इन्डिगो र स्पाइसजेटले क्रमशः ७३ करोड र १९ करोड नोक्सानी व्यहोर्ने छन् । व्यापार व्यवसायको अवरोध अरु तीन महिना थप गरिए इन्डिगो एयरलाइन्समा नगद प्रवाह समाप्त झैं हुनेछ । एयर इन्डियामा सरकारको लगानी बिक्री गर्ने सम्भावना पनि तत्कालका लागि रोकिने देखिएको छ । एयर इन्डियाले सरकारको लगानी खरिद गर्न इच्छुकका लागि यसअघि दिइएको म्याद १७ तारिखलाई बढाएर अप्रिल ३० गरिसकेको छ । परिणामस्वरुप, सरकारले एयर इन्डियालाई जीवित राख्न थप लगानी गर्नुको विकल्प छैन । सिएपिएका अनुसार एयर इन्डियामा भारत सरकारले कम्तीमा ३० करोड डलर लगानी गर्नु पर्नेछ । सिएपिएका अनुसार हवाई क्षेत्रको वर्तमान अवस्थालाई सम्बोधन गर्न सरकारले हवाई उद्योगलाई सहयोग गर्न थप प्याकेज ल्याउनु आवश्यक छ । सरकारले संकट झेलिरहेका विमान कम्पनीका कर्मचारीलाई तलब दिने, विमानस्थल प्रयोग बापत लिइने शुल्कहरु मिनाहा गर्ने र हवाई इन्धनलाई जिएसटी अन्तर्गत ल्याउनु आवश्यक छ । सिएपिएले परिस्थिति सामान्य नहुँदासम्म वा तीनदेखि छ महिनासम्म यी व्यवस्थालाई निरन्तरता दिनुको विकल्प नरहेको जनाएको छ । रासस/एएनआई