कोरोना अपडेट: विश्वमा ८ लाख ८७ हजारभन्दा बढी संक्रमित,४४ हजार ३ सय २ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ४४ हजार ३ सय २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ८ लाख ८८ हजार ४ सय १८ जना पुगेका छन् । त्यस्तै कोरोना भाइरसको उपचार पछि १ लाख ८८ हजार ८ सय ७९ जना घर फर्किएका छन् । पछिल्लो समय संयुक्तराज्य अमेरिका विश्वमै सबैभन्दा धेरै नागरिक सङ्क्रमित हुने देश बनेको छ । त्यहाँ अहिलेसम्म १ लाख ८८ हजार ८ सयभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् । अमेरिकामा मृत्यु हुनेको संख्या ४ हजार ६६ जना पुगिसकेको छ । यो सङ्ख्या विशेषगरी अमेरिकी राज्य न्यूयोर्कमा बढी देखिएको छ । अमेरिकामा उपचार पछि भने ७ हजार २ ५१ जना घर फर्किएका छन् । कोरोना भाइरसबाट प्रभावित इटालीमा १२ हजार ४ सय ४३ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६ हजारभन्दा बढी संक्रमित रहेका छन् । आजसम्म इटालीमा १५ हजार ७ सय २९ जना उपचार पछि घर फर्किएका छन् । स्पेनमा १ लाख २ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित रहेका छन् भने ९ हजार ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ८ सय ६७ जना निको भएका छन् । कोरोना भाइरसको उद्गम स्थल चीनले कोरोना संक्रमणको अवस्थालाई नियन्त्रणमा राखेको छ । आज नयाँ संक्रमितको संख्या ३ सय रहेको छ । हालसम्म ८३ हजार जना संक्रमित छन् भने ३ हजार ३ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै ७६ हजार ४ सय १२ जना उपचार पछि घर फर्किएका छन् । पछिल्लो समय युरोपेली मुलुकमा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएको छ । जर्मनी ७३ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित छन् भने ८ सय २२ जनाको मृत्यु भएको छ । १९ हजार उपचार पछि निको भई घर फर्किएका छन् । फ्रान्समा ५२ हजार ३ सय ७५ जना संक्रमित छन् । फ्रान्समा ३ सय ५ सय २३ जनाको मृत्यु भयो भने ९ हजार ४ सय ४५ जनालाई निको भएको छ । इरानमा ४७ हजार ५ सय ९३ कोरोनाबाट संक्रमित छन् भने ३ हजार ३६ जनाको मृत्यु भएको छ । त्यस्तै १५ हजार ४ सय ७३ जना उपचार पछि घर फर्किएका छन् । केहि दिन यता बेलायतमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आजको तथ्यांक अनुसार २९ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ भने २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । त्यस्तै १ सय ३५ जना उपचार पछि निको भएका छन् । कोरोना भाइरसबाट स्वीट्जरल्याण्डमा ४ सय ६१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ हजार १ सय ३७ पुगेको छ । त्यस्तै २ हजार ९ सय ६७ जना उपचार पछि घर फर्किएका छन् । नेदरलयाण्डमा कोरोना भाइरसबाट १ हजार १ सय ७३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १३ हजार ६ सय १४ पुगेको छ । उपचार पछि २ सय ५० जना घर फर्किएका छन् । बेल्जियममा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६४ पुगेको छ । त्यस्तै ८ सय २८ जनाको मृत्यु भएको छ भने २ हजार १ सय ३२ जना उपचार पछि घर फर्किएका छन् । टर्कीमा १३ हजार ५ सय ३१ जना कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै २ सय ४३ जनालाई निको भएको छ । अष्ट्रिया १० हजार ४ सय ८२ जना कोरोना भाइरस संक्रमित छन् भने १ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो समय दक्षिण कोरियाले पनि कोरोना संक्रमणलाई नियन्त्रणमा गर्न सफल भएको देखिएको छ । हाल ९ हजार ८ सय ८७ जनाको मानिस कोरोना भाइरस संक्रमित छन् भने १ सय ६५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ हजार ५ सय ६७ जना उपचार पछि घर फर्किएका छन् ।स्वीडेनमा मृत्यु हुनेकाे संख्या १ सय ५, पोर्चुगलमा १ सय जनाको मृत्यु भइसकेको छ । यसैगरी यस सङ्क्रमणबाट नर्वे, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, डेनमार्क, मलेसिया, आयरल्याण्ड, पोल्याण्ड, ग्रीस, इन्डोनेसिया, फिलिपिन्स, हङकङ, इराक, अल्जेरिया, भारत, पाकिस्तान, थाईल्याण्ड, सिङ्गापुर, रुस, पेरुलगायतका देशमा पनि नागरिकको ज्यान गएसँगै संक्रमितको संख्या बढेको छ । नेपालमा हालसम्म ५ जनाका काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे र हाल १ जना निकाे भएर घर फर्किएका छन् ।
दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे कोरोना सङ्क्रमितकाे सेवा गर्नेकाे मृत्यु भए परिवारलाई एक करोड दिने घोषणा
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा कामका शिलशिलामा मृत्यु हुने अधिकारीका परिवारलाई एक करोड रूपैयाँ राहतको घोषणा गरेको छ । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गरेका छन् । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको सेवा गर्ने क्रममा ज्यान गुमाएमा ती व्यक्तिको परिवारलाई एक करोड दिइनेछ,” उनले भने । कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिइने उनले बताए । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे । “मलाई थाहा छ तपाईको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो,” उनले भने । आफ्नो जीवननै जोखिममा पारेर सेवामा खटिनुभएका सवैप्रति जति सम्मान व्यक्त गरेपनि कमी हुने उनको भनाइ छ । मुख्यमन्त्री केजरीवालले पाचँवटा सरकारी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसँग भिडियो बैठक समेत गरेका थिए । उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाए । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ । तीमध्ये एक हजार ४ सय ६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १ सय ३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । रासस/एएनआई
काेराेनाकाे प्रभावले एसियाली बजारमा तेलको मूल्य फेरि घट्यो
सिंगापुर । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभर अहिले तेलको मागमा कमी आएको छ । गत सोमबार पनि तेलको मूल्यमा १८ वर्षकै न्यून विन्दुमा झरेको थियो तर भाइरसबाट सिर्जित आर्थिक क्षतिलाई न्यूनीकरण गर्न विश्वका नीति निर्माताहरुले अघि सारेका नयाँ नीतिहरुका कारण बजारमा केही सुधार आएको थियो । बुधबार अपराह्न एसियाली बजारमा अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटिआई) मा १.६६ प्रतिशतले कमी आई कच्चा तेल प्रतिब्यारेल २०.१४ अमेरिकी डलरमा किनबेच भएको छ । बजार खुल्दा भने डब्लुटिआईको मूल्यमा केही वृद्धि भएको थियो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्यमा पनि ३.४२ प्रतिशतले कमी भई प्रतिब्यारेल २५.४५ अमेरिकी डलरमा किनबेच भएको छ । विश्व बजारमा तेलको माग घटे पनि साउदी अरेबिया र रसियाबीच तेल उत्पादनमा कटौती नगर्ने घोषणाले बजारमा तेलको मूल्यमा भारी गिरावट आएको हो । एएनजेड बैंकका एक विश्लेषकले पानीजहाजको ट्राकिङबाट साउदी अरेबियाले गत साता कच्चा तेलको बिक्री बढाएको देखिएको बताए । साउदी अरेबियाले प्रतिदिन ७० लाख ब्यारेलबाट करिब ९० लाख ब्यारेल तेल उत्पादन गरेको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल उत्पादनलाई घटाउन गरेको अनुरोधलाई बेवास्ता गर्दै साउदी अरेबियाले विश्वमा तेल आपूर्ति बढाएर प्रभाव कायम राख्न चाहेको एक्सीकर्प ग्लोबल मार्केटका रणनीतिकार स्टिफेन इन्सले बताए । यस वर्षको शुरुदेखि मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । रासस–एएफपी