विच्याटका प्रयोगकर्ताले अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने
लस एन्जलस । चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् । विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धी एउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो । सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स र अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको छ । उनीहरुले विच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी र अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन् । निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन् । निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् । उनीहरुले ट्रम्पको आदेशबाट अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन् । निवेदक तर्फका वकील माइकल बाइनले चिनिया–अमेरिकी समुदायका लागि निकै महत्वपूर्ण रहेको विच्याटजस्तो मेसेजिङ एप्लिकेसन रोक्दा संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने जिकिर गरे । राष्ट्रपति ट्रम्पले गत अगस्ट ६ तारिखमा विच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गर्नु भएको थियो । उनले यी दुई एप्लिकेसनका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा नै खतरा उत्पन्न हुने दाबी गर्नु भएको थियो । उक्त आदेशहरु आगामी सेप्टेम्बर २० देखि लागू हुनेछन् । एक अनुमान अनुसार अमेरिकामा विच्याटका दशौं लाख प्रयोगकर्ता रहेका छन् । राष्ट्रपतिको आदेशमा विच्याट र टिकटकलाई एप्पल र गूगलका एपस्टोरबाट पनि हटाउन भनिएको छ । यसबाट आम प्रयोगकर्तालाई अझ कठिन हुनेछ । रासस
कोरोनाकाे कारण विदेशमा थप एक नेपालीकाे मृत्यु
लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्र्वमा थप १ जनाको निधन भएको हो । समितिका अनुसार शनिवार साँझ सम्म विदेशमा मात्र १६ देशमा १९२ जना नेपालीहरुको निधन भएको छ । स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरे । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान हो । हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ३ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २ सय ५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ । यस्तै नेपालमा मात्र ३१ हजार १ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन । ती मध्ये १८ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् । संक्रमणबाट मुक्त हुने संख्याको ५९ प्रतिशत रहेको छ । नेपालमा शनिबार साँझसम्म १४६ जनाको कोरोनाका कारण ज्यान गएको छ । गैरआवासीय नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई आग्रह गैरआवासीय नेपाली संघको कोभिड १९ उच्चस्तरीय समितिका संयोजक तथा अध्यक्ष कुमार पन्तले विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई नेपाल फर्कन सहज वातावरण मिलाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । पछिल्लो पटक सरकारले शर्तसहित विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन उद्धार उडान एवं चार्टर उडान गर्ने निर्णय गर्नु सकारात्मक भएपनि गैरआवासीय नेपालीका सवालमा कुनै सम्बोधन नभएको भन्दै अध्यक्ष पन्तले सो आग्रह गरेका हुन् । सरकारले स्वदेश फिर्तिमा उचित सम्बोधन नगरिदिँदा अत्यावश्यक कामका लागि नेपाल आउनुपर्ने गैरआवासीय नेपाली समस्यामा परेको उनले बताए । नेपालमा आफ्न्तको काजकिरीया गर्न जानेदेखि व्यवहारिक कामका लागि नेपाल नगई नहुने गैरआवासीय नेपालीहरुलाई समेत आवश्यक भिसा, सुविधा उपलव्ध गराई नियमित उडान मार्फत नेपाल फर्किने वातावरण मिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको हो । संघले सरकारले सशर्त खुल्ला गर्न लागेको अन्तर्राष्ट्रिय नियमित उडानलाई अझ व्यवहारीक र व्यवस्थित गर्न नेपाल सरकार समक्ष आग्रह गरेको हो । यसअघि विदेशमा अलपत्रमध्ये हालसम्म ५१ हजार ४ सय ४१ जनाको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा कोरोना भाइरसका कारण जारी लकडाउनका कारण विदेशमा अलपत्र नेपालीको उद्धार गरिँदै आएको छ । विभिन्न ३० मुलुकमा भएको ३२७ उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघका अनुसार मध्यपूर्वका देशमा अझै १ लाख भन्दा बढी नेपाली उद्धारको पर्खाइमा छन् ।
कोरियामा पुन: देखियाे कोरोना, संक्रमण नियन्त्रण बाहिर जानसक्ने
सउल । कोरियामा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यस पटक राजधानि सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले सङ्क्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार सउल लगायत आसपासका शहर इन्छन र ख्याङ्गिदोमा कोरोना फैलिएको छ । यसका कारण कुनै एक शहर मात्र सिल गरेर नियन्त्रण गर्न सकिने अवस्था नरहेको जनाइएको छ । विशेष गरी सभा ¥यालि, रेष्टुरेन्ट तथा सार्वजनिक चाप बढी हुने स्थानबाट भाइरस सङ्क्रमण फैलिएको हो । हाल कोरिया सरकारले चर्चका सम्पूर्ण कार्यक्रमहरूमा रोक लगाएको छ । साथै भीडभाड र सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाउनुका साथै सामाजिक दूरीलाई थप कडा परेको छ । कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ७६१ पुगेको छ । रासस