क्रिप्टोकरेन्सी जोखिममा, बिटक्वाइनको मूल्य २० हजार डलरभन्दा तल झर्यो
एजेन्सी । सोमबार मात्रै क्रिप्टोकरेन्सीको कारोबार प्रति बिटक्वाइन कारोबार १९ हजार डलर भन्दा तल झरेर कारोबार भयो । दिनको पछिल्लो समयमा मात्रै थोरै सुधार भएको छ । संसारभर बैंकिङ क्षेत्रमा भएको ब्याजदर वृद्धिको कारणले लगानीकर्ताहरुले क्षेत्र परिवर्तन गरेको कारण यस्तो अवस्था आएको हुनसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । पछिल्लो ३ महिनामध्ये सोमबार बिट्क्वाइनको मूल्य सबैभन्दा न्यून मूल्य १८ हजार ३ सय १३ डलरमा कारोबार भयो । त्यस्तै दोस्रो ठुलो मूल्य रहेको इथरको मूल्य घटेर सोमबार १ हजार २ ८५ दशमलब ०३ अमेरिकी डलरमा कारोबार भयो । पछिल्लो हप्तामा मात्रै इथरियम ब्लकचेनले आफू्रलाई अपग्रेड गरेर न्यून उर्जा खपत गर्ने तरिका अवलम्बन गरेको छ । नयाँ प्रविधीको अनुसरणसँगै इथरको मूल्य बढ्ने अनुमान धेरैले गरेका थिए तर त्यसो हुन सकेन ।
अफगानिस्तानमा फेरि पनि टिकटक बन्द
काबुल ।अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको टेलिकम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटकसँगै पब्ग एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुुष्टि गरेका हुन् । मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिवन्ध लगाइएको अधिकारीहरुको भनाई छ । प्रतिवन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ । अफगानिस्तानमा टिकटक प्रतिवन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो । तालिवान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो । तालिबान सरकारका सञ्चार मन्त्री नाजिबुल्लाह हक्वानीले भने, ‘हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाईट बन्द गरेका छौँ, एउटा बन्द ग¥यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।’ (रासस/एएनआई)
न्युयोर्कमा पनि खाद्य अभाव, दशकौं पछि सबैभन्दा बढी घरबार बिहीन
न्युयोर्क । सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पहिलो पटक घरबार विहीन भएकाहरूको सङ्ख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् । न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ । घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ । रासस