बेलायती महारानी एलिजाबेथको निधन

ऐजेन्सी । बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन् । वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको मृत्यु भएको हो । महारानीको स्वास्थ्य बिग्रिएपछि शाही परिवारका सदस्यहरू विहीबार उनको सामु पुगेका थिए। उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स अब स्वतः राजा भएका छन् । उनलाई राजा चार्ल्स तृतीय घोषणा गरिएको छ । दश दिनको औपचारिक शोकपछि महारानीकोअन्त्येष्टि गरिनेछ ।

फिलिपिन्समा बार्षिक मृत्युदर ४३ प्रतिशतले बृद्धि

एजेन्सी । फिलिपिन्समा बार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले बृद्धि भएको पाइएको छ । गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरुले बुधबार सार्वजनिक गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरुको दावी छ । अघिल्ला बर्षहरुको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन् । फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य बर्षहरुमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर बृद्धि हुने गरेको थियो । यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो । त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो । त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ । मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ । दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ ।

श्रीलङ्काद्वारा बाढी प्रभावित पाकिस्तानलाई चिया सहयोग

एजेन्सी । श्रीलङ्का सरकारले पाकिस्तानलाई चिया सहयोग गर्नेभएको छ । हालैका हप्ताहरूमा आएको विनाशकारी बाढीपछि पाकिस्तानका बाढीपीडितहरूलाई एक जहाज सिलोन चिया सहयोगस्वरूप प्रदान गरेको श्रीलङ्काको सरकारी सूचना विभागले बुधबार जनाएको छ । विदेशमन्त्री अली साबरीले श्रीलङ्काका लागि पाकिस्तानी उच्चायुक्त उमर फारुक बुर्कीलाई चिया हस्तान्तरण गर्दै बाढी पीडितप्रति सहानुभूति र पाकिस्तानप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए। यसै साताको सुरुमा श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले आफ्नो देशले पाकिस्तानलाई कुनै न कुनै रूपमा सहयोग गर्न इच्छुक रहेको बताएका थिए ।