सेयर लगानीकर्ताले गुमाए ५ लाख करोड

काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार पनि घट्दा लगानीकर्ताले अर्बौं गुमाउनु परेको छ । अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर बढाउने घोषणा र त्यसपछि डलरको तुलनामा पैसाको भाउमा ऐतिहासिक गिरावट आएपछि भारतीय सेयर बजारमा हंगामा मच्चिएको छ । जसको असर सेयर बजारका लगानीकर्ताले व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन भारतीय बजारका लगानीकर्ताले ५ लाख करोड रुपैयाँ गुमाएका छन् । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण २८१.७० लाख करोड रुपैयाँ नजिक थियो । जुन शुक्रबार घटेर २७६.६५ लाख करोड रुपैयाँमा झरेको छ । फेडले ब्याजदर बढाए पनि भविष्यमा अझै बढाउने सङ्केत दिएको छ जसका कारण विदेशी लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् । रिजर्व बैंक अफ इण्डियाको मौद्रिक नीति समितिको बैठक सेप्टेम्बर २८–३० मा बस्दैछ । अगष्ट महिनामा खुद्रा मुद्रास्फीति फेरि ७ प्रतिशतको नजिक पुगेको छ । त्यसपछि फेरि आरबीआईले रेपो दर बढाउने अड्कलबाजी गरिरहेको छ । भारतीय अर्थतन्त्र पनि अहिले नकारात्मक अवस्थामा छ ।

बियर पोखिएपछि घण्टौं सडक अवरुद्ध

काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टँदा हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध हुनपुगेको छ । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो। हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भएको बताइएको छ । फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिरहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडक नै पुरिएको देखिन्छ। केही घण्टापश्चात् बल्ल राजमार्ग खुलेको थियो। घटनामा केही सामान्य घाइते भएका थिए। त्यहाँको स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधवार बिहानै सडकको किनारामा राखिएको थियो। थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो। त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहीँनेर आइपुग्यो। तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठोक्किन पुग्यो। बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो। बिबिसी

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेङ्गु : सिन्धमा मात्रै २४ घण्टामा ३२३ जनामा देखियो

इस्लामावाद । पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोप बढेको छ । अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको मनसुनबाट क्षति भएका क्षेत्रहरुमा डेङ्गुको ज्वरोले धेरै मानिस बिरामी परेका बताइएको हो । यहाँको सबैभन्दा धेरै बाढी प्रभावित प्रान्त सिन्धमा नै डेङ्गुले पनि सताएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीले दिएको जानकारीमा गएको २४ घन्टा यतामात्र यहाँका तीन सय २३ जनालाई डेङ्गु लागेको छ । यसपछिको प्रभावित क्षेत्र कराँची पनि हो । कराँचीमा मात्र यहाँ गएको २४ घन्टामा दुई सय ६० जनामा यसको संक्रमण देखिएको छ । कराँची पनि यस वर्षको मनसुनी वर्षाबाट बढी प्रभावित क्षेत्र हो । सेप्टेम्बर महिनामा मात्र सिन्धमा करिब चार हजार जनामा डेङ्गुको सङ्क्रमण भएको थियो । यहाँ अहिलेसमम छ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार बाढी प्रभावित भएर घरबारबिहीन हुन पुगेका नागरिकमा यस्तो प्रकोप देखिएको पाइएको समाचारमा जनाइएको छ ।यहाँको खैबर पाक्थुन्क्वामा पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ । यहाँ पनि यसवर्ष मात्र कम्तीमा पाँच हजार जनामा यो सङ्क्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।