बेलायतले आफ्ना नागरिक लैजान १४ वटा विमान भारत पठाउने

नयाँ दिल्ली । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६ सय जना नागरिक बेलायत लैजाने बेलायतले जानकारी दिएको छ । उनीहरु हाल भारतमा रहेकोले उनीहरुलाई स्वदेश फकाउनका लागि यही अप्रिल २८ तारिखबाट ती विमानहरु भारत पठाइने बताइएको छ । बेलायत सरकारले ती विमान हाल भारतमा रहेका बेलायती नागरिकका लागि पठाउन लागेको बताएको छ । दक्षिण एसिया तथा कमनवेल्थसम्बन्धी बेलायती मन्त्री लर्ड (तारिक) अहमदले जानकारी दिए अनुसार ती विमानहरु यही अप्रिल २८ मा भारतमा पठाइने छ । बेलायतले भारतमा रहेका आफ्ना नागरिकलाई लैजान यसअघि पनि चार्टर विमानहरु पठाएको थियो । यसमार्फत बेलायतमा आफ्ना ६ हजार ५ सय जना नागरिकलाई स्वदेश फर्काइसकेको छ । ती मन्त्रीका अनुसार बेलायतले आगामी दिनमा पनि भारतमा रहेका करिब ७ हजार नागरिकलाई स्वदेश फर्काउने योजना बनाएको छ । अहिले बेलायत र भारतमा नियमित उडानहरु बन्द छन् । तर पनि बेलायतले स्वदेश फर्किनुपर्ने समस्यामा रहेका नागरिकहरुलाई छानेर उनीहरुको उद्धारस्वरुप यसरी स्वदेश ल्याउने गरिएको छ । भारतमा रहेका कम्तीमा १३ हजार बेलायती नागरिकले आफूहरु स्वदेश फर्किनैपर्ने समस्यामा रहेको भनी आवेदन गरेका बेलायत सरकारले जनाएको छ । रासस–एएनआई

आर्थिक सहयोग नरोक्न विश्व स्वास्थ्य संगठनद्वारा अमेरिकासमक्ष आग्रह

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयासुसले बुधबार संयुक्तराज्य अमेरिकासमक्ष संगठनलाई प्रदान गरिँदै आएको आर्थिक सहयोग नरोक्न र पूर्ववर्ती निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका छन् । संगठनको मुख्यालय जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक टेड्रोसले संयुक्तराज्य अमेरिकाले संगठनका कार्यहरुलाई पुनः सहयोग गर्ने एवं मानिसको जीवन बचाउने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका हुन् । उनले संयुक्तराज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई निरन्तर मद्दत गरिरहेको र अमेरिका नै संगठनलाई आर्थिक मद्दत गर्ने पहिलो नम्बरको मुलुक रहेको बताउँदै भने, “हामी अमेरिकाको त्यस सहयोगलाई भुल्न सक्दैनौं, र त्यसप्रति उच्च सराहना गर्दछौं ।” इथियोपियामा अमेरिकी सहयोगकै कारण स्वास्थ्य प्रणालीमा सुधार हुन सकेको दृष्टान्त दिँदै निकै भावुक मुद्रामा महानिर्देशक टेड्रोसले भने, “मलाई आशा छ संयुक्तराज्य अमेरिकाले गरेको यो सहयोग अरुका लागि मात्र लगानी होइन, स्वयम् अमेरिकी जनताको स्वास्थ्यका लागि पनि हो ।” गत साता अमेरिकी ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस फैलिएका बारेमा सूचनाहरु लुकाएको र संगठनले चीनको पक्ष लिएको भन्दै संगठनलाई दिइआएको आर्थिक सहयोग रोक्ने घोषणा गरेको थियो । अमेरिकी अधिकारीहरुले संगठनको भूमिकाका बारेमा पुनः मूल्याँकन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताए । अमेरिकाले हाल विश्व स्वास्थ्य संगठनलाई वार्षिक करिब ५० करोड अमेरिकी डलर प्रदान गरिरहेको छ । चीनले डब्लुएचओलाई करिब ४ करोड डलर दिँदै आएको छ । कोरोनाभाइरसको जोखिम उच्च रहेपनि चीन र अरु मुलुकबाट अमेरिकातर्फ हुने यात्रामाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति डब्लुएचओले आलोचना गरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । रासस–एएनआई

कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो

काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)