हङकङले ५ लाख हवाई टिकट नि:शुल्क बाँड्ने

काठमाडौं । विश्वको लोकप्रिय गन्तव्यको रुपमा चिनिने हङकङले दुई वर्षभन्दा लामो महामारीपछि पर्यटक भित्र्याउन नयाँ कदम चालेको छ । कोभिड महामारी अघि एक वर्षमा करिब ५ करोड ६ लाख मानिसले भ्रमण गरेको हङकङले पर्यटन प्रवर्द्धन गर्नका लागि ५ लाख टिकट नि:शुल्क बाँड्ने भएको छ । ३३ अर्ब बढीको उक्त टिकट हङकङले विदेशी पर्यटक र हङकङका  वासिन्दालाई बाँडने बताइएको छ । हङकङले दुई वर्षअघि नै उड्डयन उद्योगलाई समर्थन गर्न राहत प्याकेजको एक भागको रूपमा हङकङका वायुसेवा कम्पनीहरुसँग ५ लाख टिकट खरिद गरिसकेको यएरपोर्ट अथोरिटी हङकङका प्रवक्ताले पुष्टि गरिसकेको सिएनएनमा उल्लेख छ । यस विषयमा एयरलाइन्ससँग सबै व्यवस्था गरिसकेपछि थप विवरणहरू घोषणा गरिने यएरपोर्ट अथोरिटी हङकङले जनाएको छ । यसअघि हङकङले पहिलो चरणमा आफ्नै खर्चमा होटलमा २१ दिन क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम लगाएको थियो जुन पछि गएर ७ दिन पुर्याइएको थियो । तर गत सोमबारदेखि यसलाई अझै घटाएर ३ दिनमा पर्याइएको छ ।

अफगानिस्तानमा भएको आत्मघाती हमलामा त्रिपन्न जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलबाट पश्चिमतर्फको एक सहरमा गत शुक्रबार भएको आत्मघाती हमलामा परेर ज्यान जाने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ५३ पुगेको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनले सो कुराको जानकारी दिएको हो । उक्त मिसनका अनुसार अफगानिस्तानको हाजरा सहरमा शुक्रबार भएको सो आत्मघाती हमलामा परेर ५३ जनाको ज्यान गएको छ । त्यसैगरी सो आक्रमणमा परेर कम्तीमा पनि ४६ जना अरु व्यक्ति घाइते भएका पनि समाचारमा जनाइएको छ । अफगानिस्तानको पश्चिमी सो सहरको एक शैक्षिक केन्द्रमा सो हमला भएको थियो । सो शैक्षिक केन्द्रमा ठूलो सङ्ख्याका विद्यार्थी जम्मा भएका थिए । उनीहरुले परीक्षाको तयारी गरिरहेका बेला सो आत्मघाती बम हमला भएको उक्त शिक्षण संस्थाले जानकारी दिएको छ । यति धेरै संख्यामा नागरिकको ज्यान जानेगरी भएको सो हमलाको जिम्मेवारी अहिलेसम्म पनि कुनै समूह या व्यक्तिले लिएको छैन । अफगानिस्तानमा गएको वर्षदिन भन्दा लामो समयदेखि तालिवानीहरुको शासन रहेको छ । त्यहाँ अहिले पनि यसरी हत्या हिंसा गरी नागरिकको ज्यान लिने क्रम रोकिएको छैन ।

पाकिस्तानमा मनसुनी वर्षा र बाढीको कारण १६ सयभन्दा बढीको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ हजार ३८ पुगेको छ । यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले सोमबार राति जनाएको छ । एनडीएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढी सम्बन्धी दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ८८ बालबालिका र तीन ३२ महिला रहेका छन् । देशको दक्षिणी प्रान्त सिन्ध यस प्रकोपबाट सबैभन्दा प्रभावित भएको जनाइएको छ । सिन्ध प्रान्तमा यस प्रकोपमा परी सात सय ४७ जनाको मृत्यु भएको छ । त्यसपछि दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा क्रमशः तीन सय २३ र तीन सय छ जनाको मृत्यु भएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागमा २० लाख ४९ हजार पाँच सय ३२ घर ध्वस्त भएका छन् । एघार लाख २० हजार दुई सय ६१ पशुधनको मृत्यु भएको प्रतिवेदनले जनाइएको छ । बाढीबाट करिब तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस र ८४ जिल्ला प्रभावित भएका छन् । यस वर्ष जारी रहेको यस प्रकोपमा परी १३ हजार ७४ किलोमिटर लामो सडक र चार सय १० पुलमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा