विदेशी कामदारका लागि ११ हजार करोड, किसानलाई ३० खर्बको कोष, मध्यमवर्गलाई हाउजिङ कर्जामा सुविधा
काठमाडौं । भारतले ६ सय खर्ब (६ लाख करोड भारु) को दोस्रो चरणको राहत कार्यक्रम सार्वजनिक गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि देशबासीको नाममा गरेको सम्बोधनमा ‘आत्मनिर्भर भारत’का लागि दोस्रो चरणको राहत प्याकेज ल्याउने घोषणा गरेका थिए । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले दोस्रो चरणको राहत प्याकेज घोषणा गर्दै साना किसान, प्रवासी मजदुर, सडक व्यापारी र साना व्यवसायीलाई समेट्ने गरी एकिकृत राहत प्याकेज ल्याएको जानकारी गराएकी छन् । एकिकृत राहत प्याकेजमार्फत भारतले सबै विदेशी मजदुरलाई रासनको व्यवस्था गरेको छ । रासन कार्ड नभएका विदेशी कामदारले पनि दुई महिनासम्मका लागि प्रतिमहिना ५ किलो गहुँ वा चामल तथा १ किलो चना राहतका रुपमा पाउनेछन् । केन्द्र सरकारले घोषणा गरेको राहत कार्यक्रमबाट विदेशी कामदारलाई सुरक्षित आवासको प्रबन्ध गर्न पनि रकम खर्च हुनेछ । सरकारको यस्तो घोषणापछि विदेशी कामदारले सस्तोमा गुणस्तरीय आवास सेवा पाउने बताइएको छ । विदेशी मजदुरका समस्या सम्बोधन गर्नको लागि मात्रै पनि ११ हजार करोड भारतीय रुपैयाँ छुट्याइएको छ । यो योजनाबाट भारतमा रहेका ८ करोड विदेशी कामदार लाभान्वित हुने बताइएको छ । राहत कार्ड हुनेहरुले भने ‘वान नेसन वान रासन कार्ड’ योजना अन्तर्गत भारको कुनै पनि सरकारी खाद्यान्न डिपोमार्फत खाद्यान्न पाउने सुविधा दिएको छ । भारत सरकारले सबैभन्दा धेरै साना किसान लक्षित कार्यक्रमहरु घोषणा गरेको छ । किसानलाई १० हजार रुपैयाँसम्मको ऋण सुविधा दिइएको छ । सरकारको यस्तो कार्यक्रमबाट साढे २ करोड किसानले यो सुविधा पाउने बताइएको छ । किसानकै लागि ३० खर्ब भारतीय रुपैयाँ बराबरको इमर्जेन्सी वर्किङ क्यापिटल फण्ड स्थापना गरिएको छ । सबै किसानले ३ महिनासम्मको व्याज छुट पाउनेछन् । वार्षिक ६ देखि १८ लाख भारतीय रुपैयाँ आम्दानी हुने मध्यमस्तरीय आय समूहका मानिसहरुका लागि हाउजिङ कर्जामा सहुलियत दिइएको छ । कर्मचारीलाई न्युनतम तलब सुविधा, सबै श्रमिक तथा मजदुरलाई नियुक्तिपत्र अनिवार्य तथा वर्षमा एकपटक स्वास्थ्य चेकचाँज अनिवार्य गर्नुपर्नेलगायतका नियम लागू गर्ने पनि भारत सरकारले घोषणा गरेको छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको न्युनतम ज्यादा बढाएर २ सय २ भारतीय रुपैयाँ पुर्याइएको छ । मध्यम आयस्तरका व्यक्तिहरुको उद्यमशीलता विकासका लागि ‘मुद्रा स्किम लोन’ अन्तर्गत ५० हजारसम्म शिशु लोन, ५० हजारदेखि ५ लाखसम्म किशोर लोन र ५ लाखदेखि १० लाख भारतीय रुपैयाँसम्म तरुण लोनको स्किम ल्याइएको छ । विद्युत वितरण गर्ने कम्पनीहरुका लागि ९४ खर्ब भारतीय रुपैयाँ र गैरबैंकिङ वित्तीय कम्पनी, हाउजिङ र फाइनेन्स कम्पनीहरुका लागि ३० खर्ब रुपैयाँ बराबरको नगद अनुदानको घोषणा गरिएको छ । आयकर तिर्ने समयसीमा आगामी जुलाई ३१ सम्म बढाइएको छ ।
फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या घट्दो
पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन भएको छ । यहाँ गएको दुई दिन देखि लगातार रुपमा मृतकको संख्या घटेको हो । प्राप्त समाचारअनुसार यहाँ गत मंगलबार ३४८ जनाको ज्यान गएको थियो । तर त्यसपछि बुधबार र बिहीबार पनि यो संख्यामा कमी आएको छ । यो अवस्थालाई फ्रान्सका अधिकारीहरुले खुशीको खबर भनेका छन् । उनीहरुले पछिल्लो समयमा फ्रान्समा जारी रहेको कडा लकडाउनका कारण यहाँको अवस्थामा सुधार हुन लागेको बताएका छन् । साथै यस हप्ता यहाँ अस्पतालमा भर्ना हुने नागरिकको संख्यामा पनि नाटकीय रुपमा कमी आएको बताइएको छ । फ्रान्समा बुधबारसम्मको तथ्यांकअनुसार यहाँ २७ हजार ७४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । साथै यहाँ संक्रमित हुने र अस्पताल भर्ना हुनेको संख्यामा पनि यो हप्ता कमी आएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले यहाँका विरामी भएर अस्पताल आउनेहरुमध्ये मंगलबारको तुलनामा बुधबार संख्या घटेको बताएको छ । मंगलबार यहाँका अस्पतालहरुमा भर्ना हुने २१ हजार ७५ जनामात्र रहेको यहाँको स्वास्थ्य मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । उक्त मन्त्रालयले जनाएअनुसार यसको अघिल्लो दिन अर्थात सोमबार मात्र २१ हजार ५९५ जना विरामी अस्पताल भर्ना भएका थिए । यसरी अस्पताल भर्ना हुने संक्रमितको संख्या यो हप्ता घट्दै गएको बताइएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा कोरोना संक्रमणबाट १ लाख ७८ हजार संक्रमित भएका छन् । साथै यहाँ यो संक्रमणबाट कुल मृतकको संख्या २७ हजार ७४जना पुगेको छ । फ्रान्समा मृतक संख्या पनि क्रमिक रुपमा घट्दो छ । उपचार पछि निको भएर फर्किएकाको संख्या ५८ हजार ६७३ रहेको छ । साथै यहाँको अस्पतालमा अहिलेसम्म ९२ हजार ३१३ जना रहेका छन् । रासस/एएफपी
मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु
पुब्ला । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । राजधानी मेक्सिको सिटीबाट करिब २०० किलोमिटर उत्तरपूर्वको गाउँमा भएको यस घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ । मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए । स्थानीय अधिकारीहरुले कोरोनाभाइरस महामारीका कारण बजारमा बियर र अरु प्रशोधित मदिरा पाइन छाडेको छ । त्यही कारण मानिसहरुले मिसावटयुक्त मदिरा सेवन गरेको बताइएको छ । गत महिना पनि अखाद्य मदिरा सेवन गरेका कारण पश्चिमी जालिस्को प्रान्तमा २१ जनाको मृत्यु भएको थियो । रासस–एएफपी