हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको हो । हैजासहित अन्य जनस्वास्थ्यका समस्याको समाधानका लागि एक करोड दुई लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग आवश्यक रहेको आग्रह गरेको छ । लेबनान हाल आर्थिक सङ्कटमा परेको र यहाँ शुद्ध खानेपानी र सरसफाईका लागि ठूलो रकमको आवश्यक परेको भन्दै यसका लागि हाल लेबनानलाई सो आर्थिक सहयता चाहिएको विश्व स्वास्थ्य सङगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका लेबनान प्रमुख अब्दिनाकिर अबुदकरले लेबनान आर्थिक समस्यामा परेको अहिलेको अवस्थामा यहाँ हैजा फैलिइरहेको देखिएकोले यसको नियन्त्रणका लागि सहयोगको याचना गरिएको बताए । लेबनानमा केही महिनायता फैलिएको हैजाबाट दुई हजार पाँच सयभन्दा बढी प्रभावित भएका छन् । अहिले पनि यहाँ चार सय १६ जना हैजाका विरामी रहेका छन् । लेबनानका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ १८ जनाको हैजाबाट ज्यान गएको छ । गत अक्टोबरको पहिलो हप्ता यहाँ हैजा देखिएको थियो र अहिले पनि यसको प्रकोप बढ्दो छ । समयमै हैजाको नियन्त्रण नगर्दा यहाँ यसले महामारीको रुप लिने त्रास भएकाले विश्व स्वास्थ्य सङ्गठनले तत्कालै नियन्त्रणका लागि आवश्यक उपाय अवलम्बन गर्न लेबनान सरकार र सबैसँग अपिल गरेको हो । विश्व स्वास्थ्य सङ्गठनले अफ्रिकामा देखिएको इबोला र लेबनानको हैजा नियन्त्रणका लागि सबैसँग अपिल गरेको छ । केही अफ्रिकी देशमा पछिल्ला केही महिनायता इबोलाको प्रकोप बढेको छ ।

उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका

एजेन्सी । यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ । दक्षिणकोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ । वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश हुने बताएको दक्षिणकोरियाली रक्षा मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन । वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश छन् । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले यो साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो । ‘भिजिल्याण्ट स्टोर्म’ नामको अमेरिकासँगको कोरियाको संयुक्त सैन्य अभ्यासलाई सैन्य टकरावको उन्माद भन्दै उत्तरकोरियाली विदेश मन्त्रालयले शुक्रबार अबेर एक वक्तव्य निकालेर आफ्नो सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षाविरुद्ध लाग्नेहरूलाई कडा जवाफ दिइने जनाएको छ ।

युक्रेनलाई सहयोग गर्न जी-७ समन्वय संयन्त्र स्थापना

फाइल फोटो एजेन्सी । रुस-युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी-७ राष्ट्रहरूले संयन्त्र बनाउँने भएका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेना देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका छन् । ‘आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनर्स्थापना र रक्षा गर्न जी(७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ’, जी-७ विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसै बीच जारी रुस-युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ। जी७ राष्ट्रहरूले रुसलाई तत्काल युद्ध रोक्न र सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह गरेका छन् । उनीहरूले रुसले पछिल्ला दिनहरूमा ऊर्जा क्षेत्रलाई लक्ष्यित गरेर इरान निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरेर गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । रुसको पछिल्लो आक्रमणबाट करिब ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको र जनता लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता आएको छ । यसैबीच, युक्रेन र यसका पश्चिमी सहयोगीहरूले इरानले रसियामा ूकामिकाजेू ड्रोन, वा मानवरहित हवाई सवारी पठाएको आरोप लगाएका छन् । उनीहरूका अनुसार त्यसले युक्रेनी पूर्वाधारलाई लक्षित गर्ने हमलाहरूमा रूसी सेनाले विनाशकारी प्रभाव पार्न प्रयोग गरेको छ। ‘हामी मध्य पूर्व र वरपर इरानको निरन्तर अस्थिर गतिविधिहरूको कडा निन्दा गर्छौं। यसमा ब्यालिस्टिक र क्रूज मिसाइलहरू, साथै मानवरहित हवाई सवारी अर्थात् ड्रोनहरू छन् जसको विस्तार र प्रभावले यस क्षेत्रमा अस्थिरता निम्त्याउँछ। चीनको बढ्दो समर्थन र प्रभावका सन्दर्भमा हामी चीनले विवादको शान्तिपूर्ण समाधानको लागि संयुक्त राष्ट्रसंघको बडापत्रको सिद्धान्तहरू पालना गर्न र धम्की, जबरजस्ती, धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने आवश्यकताको स्मरण गराउँछौं। हामी कुनै पनि एकतर्फी जबरजस्तिको विरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ । जी-७ राष्ट्रहरू शान्ति र स्थिरताको पक्षमा रहेको सबै विषय र क्षेत्रमा देखिएको विवादको शान्तिपूर्ण समाधानको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।