चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुने
बेइजिङ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए । हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले औंल्याए । चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ । निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ । रासस–सिन्ह्वा
अमेरिकाको सबैभन्दा ठूलो पाइपलाइनमा साइबर आक्रमण, आपतकालिन अवस्थाको घोषणा
काठमाडौं । अमेरिकी सरकारले देशको सबैभन्दा ठूलो ईन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि आपतकालिन अवस्था घोषणा गरेको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो । कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ । अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ । आपतकालिन घोषणा पछि त्यहाँबाट इन्धन आपूर्ति पाइपलाइनको सट्टा सडक मार्फत प्रतिस्थापन भएको छ । विज्ञहरूका अनुसार साइबर हमलाका कारण इन्धनको मूल्य सोमबार २ प्रतिशतले वृद्धि हुनेछ । उनीहरुका अनुसार छिट्टै पुनस्थापन नभए यसको प्रभाव बढी फराकिलो हुनसक्छ । कसले आक्रमण गर्यो ? धेरै स्रोतहरुले पुष्टि गरे अनुसार उक्त हमला डाक्र्ससाइड नामक साइबर अपराधिक गिरोहले गरेकाे थियो । तिनीहरुको बिहीबार औपनिवेशिक नेटवर्कमा प्रवेश गरे र उनीहरुको कब्जामा लगभग १ सय जिबी डाटा लिएका थिए । यसपछि, ह्याकरहरूले केही कम्प्युटर र सर्भरहरूमा डाटा लक गरे र शुक्रबार फिरौती समेत मागेका थिए । उनीहरुले फिरौती रकम नदिए सबै डाटा लिंक गर्ने धम्की समेत दिएका छन् । कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
बिल गेट्सले मेलिन्डालाई दिए २.४ अर्ब डलरको सेयर, मेलिन्डा बनिन् ठूला दुई कम्पनीकी मालिक
काठमाडाैं । माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी धनाढ्य बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सलाई २.४ अर्ब डलर बराबरको सेयर दिएका छन् । दुई दिनअघि डिभोर्सको घोषणा गरेका उनले श्रीमती मेलिन्डा गेट्सलाई २.४ अर्ब डलर बराबरको सेयर ट्रान्फर गरेका हुन् । उनीहरूले सामाजिक सञ्जालमा २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन सेयर पनि मेलिन्डाको नाममा ट्रान्सफर भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । आफ्नो नाममा सेयर आएपछि मेलिन्डा अब दुई मेक्सिकन कम्पनीहरू बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो सेयरहोल्डर भएकी छन्। कोकोकाला फेस्मा भएको उनको ४.९ प्रतिशत सेयरको मूल्य बुधबार १२१ मिलियन डलर पुगेको छ भने टेलिभेसिया एसएको ६.७ प्रतिशत सेयरको मूल्य ३८६ मिलयन डलर पुगेको छ। बिल गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको पनि केही सेयर मेलिन्डाको नाममा ट्रान्सफर गरेका छन्। कुनै बेला संसारकै धनी व्यक्ति रहेका बिल गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुन्। फोर्ब्स म्यागजिनका अनुसार उनीसँग अहिले १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ। एजेन्सीकाे सहयाेगमा