भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्तिमा ढिलाई, नेपालको स्थिति भने सुधारोन्मुख
काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ । विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्रसङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औंल्याएको हो । यो प्रतिवेदन १३२ देशका तथ्याङ्कहरू मूल्याङ्कन गरी तयार गरिएको हो । आज ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो । राष्ट्र सङ्घले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो । यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ । दीर्घकालीन भोकमरीको समस्याले संसारभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिसले अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् । अहिले विश्वव्यापी भोकमरी सूचांक १८।२ छ । सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक छ । पचास भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । चौध करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् र सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो । नेपालको स्थिति सुधारोन्मुख विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३औं स्थानमा परेको छ । सन् २००० मा नेपालको जिएचआइ सूचांक ३७.४ थियो जुन जोखिमपूर्ण मानिन्छ । तर यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ । सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला बीस वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको सङ्ख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ । नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने यी बीस वर्षमा खासै सुधार भएको छैन । सन् २०२० को जिएचआइले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो । सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ । त्यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ । समग्रमा, द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दसौं लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ । राष्ट्रसङ्घले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ । कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ । रासस
खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा वडाध्यक्ष र सदस्यबीच द्वन्द्व हुँदा करोडौंको खानेपानी योजना रद्द
खोटाङ । वडाध्यक्ष र सदस्यबीचको विवादका कारण खोटाङको ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा करोडौँको खानेपानी योजना रद्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाकाचोलस्थित बिस्कामखोला मुहान भएको माथिल्लो खानेपानी योजनामा वडाध्यक्ष सन्तवीर तामाङले समन्वय नगरी बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको भन्दै असन्तुष्ट बनेका वडा सदस्य जयकुमार तामाङसहित स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेर विरोध शुरु गरेपछि अन्ततः खानेपानी योजना फिर्ता गर्नुपर्ने अवस्था सिर्जना भएको हो । बिस्कामखोला मुहान भएको खानेपानी योजना सञ्चालन तथा बादेल–बिस्काम सडक उपभोक्ता समिति गठनको विषयमा चुलिएको विवाद हल गर्न सोमबार गाउँपालिकाको कार्यालयमा भएको द्विपक्षीय बैठकले बिस्कामखोला मुहान भएको ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको पत्रकार भीम राईले जानकारी दिए । पत्रकार राईका अनुसार गाउँपालिका प्रमुख विश्वनाथ निरौला, उपप्रमुख पुष्पकला भुजेल, वडाध्यक्ष तामाङ तथा निवेदकका तर्फबाट वडा सदस्य तामाङ, स्थानीय नन्दकुमार तामाङ, दीपक राईलगायतसँग भएको छलफलले ऐँसेलुखर्क खानेपानी आयोजना कार्यान्वयन नगर्ने र उक्त आयोजना रद्द गर्न कार्यपालिकाको बैठकबाटै निर्णय गरेर सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेल र अन्य सरोकारवाला पक्षलाई जानकारी दिने लिखित सहमति गरेको छ । वडाध्यक्ष तामाङले मनोमानी ढङ्गले बिस्कामखोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्काम सडक उपभोक्ता समिति गठन गरेको भन्दै असन्तुष्ट स्थानीय उपभोक्ताले यही चैत ४ गते वडा कार्यालयमा ताला लगाएका थिए । वडाध्यक्ष सन्तवीर र वडासदस्य जयकुमार दुवै नेपाली कांग्रेसबाट निर्वाचित भए पनि उनीहरुबीचको आन्तरिक द्वन्द्वको असर वडाको योजनामा देखिएको हो । वडाध्यक्ष र वडासदस्यको आपसी विवादकै कारण करोडौँको खानेपानी योजना गुमाउनुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले बताएका छन् । तामाङद्धय समन्वय र सहमतिको बाटो खोज्नुको सट्टा एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा समेत उत्रिएका थिए । शनिबार बाकाचोलमा बोलाइएको भेलामा दुवै पक्षबीचमा ढुङ्गा हानाहान हुँदा स्थिति तनावपूर्ण बनेको थियो । दोहोरो भीडन्त हुने अवस्था सिर्जना भएपछि नियन्त्रण गर्न सोमबार दिक्तेलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ऐँसेलुखर्क पुगेको थियो । वडाध्यक्ष तामाङले भने बिस्कामखोलाको खानेपानी अन्यत्र लैजान स्वीकृति नदिएको बताउनुभएको छ । बैठकमा संसदीय विकास कोषको रु १० लाख बजेटबाट निर्माण गरिने बादेल–बिस्काम सडक उपभोक्ता समितिसँगको सम्झौतासमेत रद्द गरी वडासदस्य तामाङ र डम्बरकुमारी राईको रोहबरमा अर्को उपभोक्ता समिति गठन गर्ने र सम्झौता गरेर सडक निर्माणको काम अघि बढाउने, गत चैत ४ गते वडा कार्यालयमा लगाइएको ताला सोमबारकै मितिबाट खोल्ने र आगामी दिनमा कुनै पक्षबाट कमीकमजोरी नदोहोर्याउने सहमति भएको छ ।
बङ्गलादेशसँगको आर्थिक साझेदारीमा नयाँ आयाम थपिने छः परराष्ट्रमन्त्री ज्ञवाली
ढाका । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन् । मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताए। मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका रहनुभएका राष्ट्रपति भण्डारी र बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच सोमबार भएका द्विपक्षीय भेटवार्ता र अन्य छलफलमा उक्त कुरा राखिएको मन्त्री ज्ञवालीले जनाए । भेटवार्ताका क्रममा नेपालले आफ्ना उत्पादनहरुको बङ्गलादेशमा सहज व्यापारिक पहुँचका लागि प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जनाए । राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र विदेशमन्त्री डा एके अब्दुलले सोमबार शिष्टाचार भेटवार्ता गरेका थिए भने मन्त्री ज्ञवाली र विदेशमन्त्री अब्दुलबीच ‘साइडलाइन’ वार्ता भएको थियो । ती भेटवार्तामा आपसी घनिष्ठ सम्बन्धलाई आर्थिक साझेदारीसहित अघि बढाउन सघन छलफल भएको र औपचारिक सम्बोधनका क्रममा दुवै देशका नेताबाट उक्त प्रतिबद्धता प्रकट भएको बताउँदै मन्त्री ज्ञवालीले ऊर्जा, पर्यटनलगायत व्यापार प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल विस्तार र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि साझा प्रयासका विषयमा पनि छलफल भएको जानकारी दिए । बङ्गलादेशसँग भएको रोहनपुर-सिंहबादमा नयाँ ‘ट्रान्जिट रुट’को पत्राचार आदानप्रदानको सहमतिले नेपालले तेस्रो मुलुकसँग व्यापार सुगमता पाउने निश्चित भएको मन्त्री ज्ञवालीको भनाइ थियो । नेपालसँगको व्यापार घाटा कम गर्न बङ्गलादेशले लगाएको अतिरिक्त भन्सार शुल्क घटाउन र नेपाली वस्तु तथा उत्पादनलाई यहाँ सहजरुपमा प्रवेश पाउनका लागि आफूहरुले प्रस्ताव गरेको मन्त्री ज्ञवालीले जानकारी दिए । नेपालको धागो निर्यात गर्ने मार्ग अपायक भएकाले त्यसलाई पायक बनाउन आग्रह गरिएको र नेपालबाट बङ्गलादेशमा ऊर्जाको व्यापारका लागि भारतसँग दुवैले थप छलफल गर्ने विषयमा साझा बुझाइ रहेको उनले बताए । दुई देशले क्षेत्रीय र अन्तरराष्ट्रिय मञ्चमा आफूहरुका साझा विषयलाई उठाउने र समृद्धिको यात्रालाई सँगसँगै अघि बढाउने सुखद् संयोग र सङ्कल्पमा दुवै देशको समानता पाइएको मन्त्री ज्ञवालीको भनाइ थियो । समग्रमा राष्ट्रपति भण्डारीको भ्रमण कस्तो रह्यो भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले भने, “बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसर पारेर भएको यो भ्रमण आफैँमा महत्वपूर्ण छ । छोटो अवधिको यो भ्रमण उपलब्धिमूलक र सफल भएकोे छ । दुबै देशका सरकार र जनताका तहमा रहेको सम्बन्ध अझै सुदृढ भएको छ ।” बङ्गलादेशको राष्ट्रपति निवास बङ्ग भवनमा सोमबार राति भएको भेटवार्तापछि उनीहरुको उपस्थितिमा दुई देशबीच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटका विषयमा समझदारीपत्र आदानप्रदान भएको थियो । बङ्गलादेशी राष्ट्रपति हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान ढाका आइपुगेका थिए । राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल-बङ्गलादेश सम्बन्ध र बङ्गबन्धुको जन्मशतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गरेका थिए । रासस