हालोविनको रात सिकागोमा १४ जनाको हत्या

सिकागो । अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो । हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ । रासस

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का

अफगानिस्तान । अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको बताइएको छ । विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ । उनीहरुका अनुसार स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ । विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ ।यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन । रासस

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

किएभ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत भौतिक पूर्वाधारमा क्षति भएको छ । फलस्वरूप ८० प्रतिशतभन्दा बढी किएभका जनता सोमबार बिजुली र पानीबाट वञ्चित हुनुपरेको थियो । रूसी आक्रमणका कारण देशका धेरै स्थानमा नागरिक प्रभावित भएका तथा सोमबार किएभको ८० प्रतिशतभन्दा बढी जनसङ्ख्याले पानी र बिजुली कटौतीको सामना गर्नुपरेको युक्रेनी अधिकारीले बताएका छन् । किभए नगरका प्रमुखले युद्धको चपेटामा परेको देशको परिस्थितिलाई दृष्टिगत गरी आफूलाई आवश्यक पर्ने पानीको भण्डारण एवम् व्यवस्थापन गर्न नगरवासीलाई आग्रह गरेका छन् । किभएका अग्ला आवासीय भवनहरूमा पानी आपूर्तिमा कठिनाइ भएको छ । ब्ल्याक सीमा ड्रोन हमला गरेको बदलामा रूसले युक्रेनी पूर्वाधारलाई आक्रमण निशाना बनाएको हो । ब्ल्याक सी हमलालाई लिएर क्रमलिनले युक्रेनको बन्दरगाहबाट अनाजले भरिएका एक सय ७६ वटा जहाजलाई गन्तव्यतर्फ जान दिएको छैन । उसले युक्रेनमा मात्र नभइ विश्वभर खाद्य सङ्कटको जोखिम बढाएको छ । संयुक्त राष्ट्रसङ्घसँगको मध्यस्थतामा गरिएको अनाज आपूर्तिको सम्झौता रूसले अस्वीकार गरेपछि त्यसको विश्वव्यापीरूपमा आलोचना भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी अन्न बोक्ने जहाजहरूलाई सुरक्षित मार्ग नदिएकामा आपत्ति जनाउँदै त्यसलाई क्रेमलिनको अर्थहीन एवम् अपमानजनक कदम भनेका छन् । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले निर्णय फिर्ता लिन आग्रह गरेका छन्भने संयुक्त राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले विश्व संस्था राष्ट्रसङ्घ रूसी अधिकारीहरूसँग सम्पर्कमा रहेको बताएका छन् । उनले अनाज आपूर्तिका प्रयासमा कुनै पनि पक्षबाट बाधा पु¥याउन नहुनेमा जोड दिएका छन् । रासस