जापानी प्रधानमन्त्री आबेद्धारा राजीनामा दिने घोषणा
टोकियो / जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उनले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाएकाे बताइएको थियो । उनले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गरे । उनले आफू अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताए । आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्काे उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उनले बताए। नयाँ प्रधानमन्त्री छान्ने विषयमा उनको डेमोक्र्याटिक पार्टीले अर्काे हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ । उनको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उनले अहिले नै राजीनामा दिन लाग्नु भएको समाचारमा जनाइएको छ । सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका नेता हो । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिए । तर पछि सुधार भएपछि फेरी निर्वाचित भएका थिए । पछिल्लो दुई हप्तामा उन दुई पटक अस्पताल जानु भएको छ । उनलेअर्को महिनादेखि ६६ बर्ष लाग्नुहुने भएको छ । उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन । जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उहाँपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहनुभएको छ । रासस
भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजार काेराेना सङ्क्रमित
नयाँदिल्ली / भारतमा कोरानाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् । मन्त्रालयको तथ्यांकअनुसार देशभरी अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् । कुल सङ्क्रमित मध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् । सवैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरुको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । रासस
युट्युबले हटायो दुई करोड चार लाख भिडियो, युट्युवरहरू तनावमा
वासिङ्टन । भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले १८ महिनामा दुई कराेड चार लाख भिडियाे हटाएकाे छ । सन् २०२० काे प्रथम छ महिनामा मात्र युट्युवले एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो । कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीको तथ्यांक छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ । “समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ । युट्युब यस्ताे नीति लिएपछि दर्शक पाउनकाे लागि उत्तेजक भिडियाे बनाउने यूट्युवरहरू तनावमा परेका छन् । रासस