क्युबामा पनि भेटिए मङ्कीपक्सका बिरामी

हवाना । क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन् । देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ । नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए । रासस/सिन्ह्वा

विश्वभरी कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी, एसियामा मृतकको सङ्ख्या वद्धि

काठमाडौं । कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्या विश्वभरी घट्दै गइरहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी कोरोनाका कारण मृतकको सङ्ख्या पनि झण्डै छ प्रतिशतले कम भएको छ । तर एसियामा भने मृतकको सङ्ख्या बढेको सङ्गठनको तथ्याङ्कमा देखिइएको छ । गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ । अफ्रिकामा ४० प्रतिशतका दरले नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । युरोप र मध्यपूर्वमा पनि कम देखिएको सङ्गठनले जनाएको छ । पश्चिमी प्रशान्त र दक्षिण पूर्वीएसियामा भने मृतकको सङ्ख्यामा वृद्धि भएको छ । ती क्षेत्रमा क्रमश ३१ र १२ प्रतिशतका दरले मृतकको सङ्ख्यामा वृद्धि भएको देखिएको हो । विश्वभरी अझै पनि कोरोना भाइरसको असर बाँकी नै रहेकाले यसबाट बच्नका लागि अपनाउनु पर्ने उपाय अपाउन उत्तिकै आवश्यक रहेको डब्लुएचओका अधिकारीले जनाएका छन् । उनीहरुले खोप लगाउन, मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, सङ्क्रमण भएमा कम्तीमा एक हप्ता छुट्टै बस्न सबैलाई अनुरोध गरेका छन् । कोरोना भाइरसको महामारी अन्त्य भइसकेको भन्ने नठान्न पनि उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

ट्विट गरेको आरोपमा साउदीमा एक महिलालाई चौतीस वर्षको जेल सजाय

एजेन्सी । ट्विट गरेको आरोपमा साउदी अरबको एक अदालतले एकजना विद्यावारिधीका विद्यार्थीलाई चौँतीस वर्षको जेल सजाय सुनाएको छ । बेलायतको लिड्स विश्वविद्यालयमा विद्यावारिधीको अनुसन्धानमा जुटेकी सलमा अल–शेहाबलाई अफवाह फैलाउने र असन्तुष्टहरूलाई रिट्विट गरेको आरोपमा ३४ वर्षको जेल सजाय सुनाइएको हो । साउदी अदालतको यो निर्णयबाट विश्वसमुदाय स्तब्ध भएको छ भने त्यसको विश्वव्यापीरूपमा निन्दा भएको छ । वासिङटनस्थित मानवअधिकार समूह फ्रिडम इनिसिएटिभका अनुसार बिदामा स्वदेशमा रहेकी उनलाई बेलायत फर्कने तयारीमा रहेका बेला गत वर्षको जनवरी १५ मा हिरासतमा राखेर साउदी प्रशासनले कारबाही थालेको थियो । एसोसिएटेड प्रेसले प्राप्त गरेको कानुनी कागजातहरूले उनको मुद्दा अदालतमा पठाउनु अघि अल–शेहाबले न्यायाधीशहरूलाई दुई सय ८५ दिन भन्दा बढी एकान्त कारावासमा राखिएको बताएकी थिइन् । फ्रिडम इनिसिएटिभले अल–शेहाबलाई साउदी अरबको शिया मुस्लिम अल्पसङ्ख्यकको सदस्यको रूपमा वर्णन गरेको छ जसले लामो समयदेखि सुन्नी–शासित राज्यमा व्यवस्थितरूपमा भेदभाव गरेको गुनासो गरेको छ । मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले अल–शेहाबको मुद्दालाई ‘घोर अनुचित’ र उनलाई सुनाइएको सजाय ‘क्रुर एवम् गैरकानूनी’ भएको भन्दै आलोचना गरेको छ । न्यायाधीशहरूले अल–शेहाबलाई ‘सार्वजनिक व्यवस्थामा गडबडी’ र ‘सामाजिक संरचनालाई अस्थिर’ गरेको आरोप लगाएका छन् भने आधिकारिक आरोपपत्रमा पनि सामाजिक सञ्जाललमा पोष्ट गरिएका उनका विषयवस्तुले झूटा अफवाह सम्प्रेषण गरेको दाबी गरिएको छ । उनले असन्तुष्ट व्यक्तिका खातालाई फलो र रिट्विट गरेको आरोप लगाइएको छ । दुई हजारभन्दा बढी फलोअर नभएको व्यक्तिगत खाताबाट जिज्ञासावस आफूले ट्विट र रिट्विट गर्नु र उनीहरूका दृष्टिकोढा नियाल्नु आतङ्वाद हो भन्ने आफूलाई नलागेको अपीलका क्रममा न्यायाधीशसमक्ष अल–शेहाबले बताएकी छन् । विशेष फौजदारी अदालतले उनलाई प्रतिआतङ्कवाद र साइबर अपराध कानुनअन्तर्गत ३४ वर्षको यात्रा प्रतिबन्धसहित ३४ वर्षको असाधारण कठोर सजाय सुनाएपछि उनले आफ्नो बचाउमा उक्त दलील पेश गरेकी हुन् ।