युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

काठमाडौं । युएईका लगानीकर्ता नेपालमा जलविद्युत्, पर्यटन तथा कृषिमा आधरित उद्योग लगायत क्षेत्रमा लगानी गर्न इच्छुक रहेका युएईका राजदूत साइद अम्दन अल नाक्बीले बताएका छन् । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले गरेका भेटमा युएईका राजदूत साइद अम्दन अल नाक्बीले सो कुरा बताएका हुन् । भेटमा उनले युएईमा रहेका नेपाली कामदारले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा योगदान गरिरहेको पनि जनाएको रक्षा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञवालीले जानकारी दिएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ फराकिलो र गहिरो बन्दै जाने विश्वास व्यक्त गरेका छन् । भेटमा उनले युएईमा धेरै नेपाली कामदार रहेको जनाउँदै कोरोना महामारीमा नेपाली श्रमिकप्रति युएईले देखाएको सद्भावनाको प्रशंसा गरे । उनले गत वर्षको आफ्नो युएई भ्रमणको स्मरण गर्दै दुई देशबीचका सम्बन्धका क्षेत्र कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा नेपाली लगानीकर्तासँगको संयुक्त लगानीमा सक्रिय भूमिका निर्वाह गर्दै रहन आग्रह गरे । राजदूत नाक्बीले युएई र नेपालबीचको हवाई उडान छिट्टै नियमित हुने जनाउँदै महामारीको सामना गर्न दुवै देशबीच आपसी सहयोगको आवश्यकता रहेको राय प्रकट गरेका छन् । रासस

भारतमा एकैदिनमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै

नयाँ दिल्ली । भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो तीन दिनमा प्रत्येक दिन औसतमा ९० हजार जनाका दरले विरामीहरु सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले पछिल्लो तीन दिनमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या अत्यधिक धेरै रहेकाले सन्तोषजनक अवस्था रहेको मङ्गलबार जानकारी दिएको छ । मन्त्रालयले कुल सङ्क्रमितमध्ये झण्डै ८० प्रतिशत मानिसहरु सङ्क्रमणमुक्त भएको पनि जनाएको छ । मन्त्रालयको सामाजिक सञ्जालको आधिकारीक पेजमा लेखिएको छ, “भारतमा सङ्क्रमणमुक्त भएकाहरुको दैनिक सङ्ख्या उच्च हुँदै गएको छ, यो सङ्ख्या र अनुपात विश्वमै सवैभन्दा धेरै हो ।” भारतमा सोमबारसम्ममा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये दश लाख तीन हजार २९९ जना अझै पनि सक्रिय सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ४३ लाख ९६ हजार ३९९ जना सङ्क्रमणमुक्त भएका छन् । रासस/एएनआई

विश्वका एक प्रतिशत सर्वाधिक धनीले अति गरिबकोभन्दा ५० गुणा बढी प्रदूषण फैलाए

पेरिस । विश्वका सबैभन्दा धनी एक प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरीब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ । पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ । गरिब तथा विकासशील देशहरूमा प्राकृतिक प्रकोप र विस्थापनको खतरा बढाएको छ । अक्सफामको नेतृत्वमा गरिएको एक विश्लेषणले सन् १९९० देखि २०१५ को बीचमा वार्षिक कार्बन उत्सर्जन ६० प्रतिशतसम्म बढेको अवस्थामा पृथ्वीको कूल कार्बन बजेटको एक तिहाई हिस्सा धनी राष्ट्रको पोल्टामा रहेको देखाएको छ । कार्बन बजेट भनेको विनाशकारी तापमान अवश्यम्भावी वृद्धि हुनअघि मानवजातिले उत्पन्न गरेको हरितगृह ग्यास उत्सर्जनको सीमा हो । केबल ६ करोड ३० लाख मानिस अर्थात् एक प्रतिशतले सन् १९९० यता कूल कार्बन बजेटको नौ प्रतिशत हिस्सा ओगटेका थिए । स्टकहोम वातावरण इन्स्टिच्यूटले अक्सफामका लागि गरेको उक्त अध्ययन विश्लेषणले कार्बन असमानता लगातार बढेको देखाएको छ । विश्लेषणले एक प्रतिशतको उत्सर्जनको वृद्धिदर विश्वका अति गरिब आधाभन्दा बढी मानिसको भन्दा तीन गुणा बढी देखिएको जनाएको छ । नीति, वकालत तथा अनुसन्धान प्रमुख टिम गोरले एएफपीलाई भन्नुभयो, “चरम आर्थिक असमानता हाम्रो समाजमा विभाजनकारी मात्र होइन, यसले गरीबी न्यूनीकरणको दरलाई पनि सुस्त बनाउन गर्दछ ।” सन् २०१५ को पेरिस जलवायु सम्झौताले मुलुकहरुलाई वैश्विक तापमान वृद्धिलाई “पूर्व–औद्योगिक स्तर” भन्दा दुई डिग्री सेल्सियसभन्दा तल झार्न प्रतिबद्ध बनाएको छ । तर त्यस बेलादेखि नै उत्सर्जन निरन्तर बढिरहेको छ । धेरै विश्लेषणहरूले चेतावनी दिएका छन् कि हरित विकासलाई पूर्ण प्राथमिकता नदिएसम्म कोभिड–१९ का कारण प्रदूषणमा आएको कमीलाई जोगाएर राख्न नसकिने बताएका छन् । हालसम्म केबल १ डिग्री सेल्सियस विश्व तापमान बढेकै अवस्थामा पनि पृथ्वीका विभिन्न भागमा वनडढेलो, सुख्खा र समुद्री सतह बढेका कारण ठुल्ठूला आँधीबेहरी देखिएको छ । गोरले सरकारहरुले कोभिड–१९ को विषम परिस्थितिमा जलवायु परिवर्तन र असमानताका दुईवटा चुनौतीहरूलाई सामना गर्न विशेष पुनरुत्थान योजना अघि बढाउनुको विकल्प नरहेको बताए । “यो स्पष्ट भइसकेको छ कि विगत २०–३० वर्षको अवधिमा अपनाइएको आर्थिक वृद्धिको असमान ढाँचाले विश्वका सबैभन्दा गरीब आधा जनसंख्याले फाइदा लिन सकेका छैनन्,” उनले भने । “आर्थिक विकास र जलवायु संकटबीच हामीले कुनै एउटा छान्नु पर्दछ भन्ने गलत मान्यता जबर्जस्ती स्थापित गर्न खोजिएको छ, जुन दुर्भाग्यपूर्ण हो ।” अक्सफामको प्रतिवेदनमाथि टिप्पणी गर्दै अफ्रिकी मुलुक चाडकी वातावरणीय अभियन्ता हिन्डो ओमारु इब्राहिमले आर्थिक समानतालाई प्राथमिकता नदिई जलवायु परिवर्तनलाई मात्र सम्बोधन गर्न नसकिने बताए । रासस